रहस्यमय बन्दै बाराका प्रजिअ चढेको जीप दुर्घटना, योजनावद्ध रुपले दुर्घटना गराइएको परिवारको आरोप

सफल खबर संवाददाता

शनिबार, ०४ फागुन २०७५, १९ : ००
रहस्यमय बन्दै बाराका प्रजिअ चढेको जीप दुर्घटना, योजनावद्ध रुपले दुर्घटना गराइएको परिवारको आरोप

काठमाडौं । बाराका प्रमुख जिल्ला अधिकारी र सशष्त्र प्रहरी उपरिक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन् । 

प्रमुख जिल्ला अधिकारीका सवारी चालक जगतनारायण राउत कुर्मीले नियोजित रुपमा सो दुर्घटना गराई हत्या गराएको भन्दै पोखरेल र भट्टराईको परिवारजनले किटानी जाहेरी दिँदै छानविनको माग गरेका हुन् । प्रजिअ भट्टराईका भाई नरेश भट्टराईले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त घटना नियोजित भएको शंका र आशंका गर्ने ठाउँ प्रसस्त देखिएकाले छानबिनको माग गर्नुपरेको बताए । 

‘कुर्मीले तीव्र (प्रतिघण्टा सय किमीभन्दा माथि) को गतिमा सवारी चलाएर रोकी राखेको ट्याक्टरको टेलरमा नियोजित रुपमा ठोक्काएको हाम्रो आशंका छ’, भट्टराई परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सोही आशंकाका कारण काठमाडौंको प्रहरी वृत्त, महाराजगञ्जमा पनि चालक कुर्मीविरुद्ध किटानी जाहेरी दिइएको छ । तर, यति गर्दा पनि प्रहरीले प्रभावकारी रुपमा अनुसन्धान प्रक्रिया अघि बढाएको छैन ।’

घटनामा सामान्य घाइते भएका चालक कुर्मीले तत्काल प्रहरी लगायतका सम्बन्धित निकायलाई कुनै खबर नगर्नुले पनि थप शंका उत्पन्न गराएको नरेशको भनाइ छ । ‘उक्त घटनाको प्रकृति हेर्दा नियोजित रुपमा घटाइएको देखिन्छ त्यसमाथि एउटा सामान्य चालकलाई जोगाउनका लागि बहालवाला सचिवदेखिीे पूर्वसचिवसम्मका, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु लागेपछि हामी झन आश्चर्य चकित हुन पुगेका छौं,’ भट्टराईले भने, ‘घटनाप्रति गम्भिरता र जिम्मेवारीपूर्ण तरिकाले अनुसन्धान नगर्नु र एउटा चालकको पछि मुलुकका पावरफूल व्यक्तिहरु नै लाग्नुले घटनालाई झन रहस्यमय बनाएको हो ।’ 
माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्वपश्चिम राजमार्गको पसाहा पूल नजिक उक्त सवारी दुर्घटना भएको थियो । 

प्रतिक्रिया दिनुहोस