रिटायर जीवनका तीन साथी : छोराबुहारीको आश गर्न परेको छैन

सफल खबर संवाददाता

शनिबार, ०४ फागुन २०७५, १४ : ३५
रिटायर जीवनका तीन साथी : छोराबुहारीको आश गर्न परेको छैन

चितवन । भरतपुर ११ पुनमचोकका कृष्णप्रसाद अधिकारी अहिले ८२ वसन्तमा दौडिरहेका छन् । २०२१ सालबाट सरकारी जागिरे यात्रा सुरु गरेका उनले अहिले रिटायर जीवन बिताइरहेका छन् । 
उसबेला कस्तो सस्तो जमाना । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा हाम्रा पालामा सुका माना घिउ पाइन्थ्यो, भनेर त्यसै भनेका रहेनछन् । सुन्दा पनि अचम्म लाग्ने, २०२१ सालबाट जागिरे जीवन सुरु गरेका अधिकारीले मासिक ४५ रुपैयाँ बुझ्दा खुसीले भुइँमा खुट्टा हुन्थेन । उनी भन्छन्, ‘२०२१ सालबाट जागिरे जीवन सुरु गरेँ, मासिक ४५ रुपैयाँ बुझेको थियो । उसबेलाको ४५ रुपैयाँ भनेको अहिलेको...।’ 
अधिकारीले नापी कार्यालको अमिनबाट जागिरे यात्रा सुरु गरेका हुन् । नेपालको दुई जिल्लाबाहेक सबै जिल्ला पुगेका छन् उनी । ‘बागलुङ र हिमाली जिल्ला मनाङ पुगिनँ, बाँकी सबै जिल्ला पुग्ने अवसर पाएको थिएँ’ उनले भने, ‘हामी त सरकारको नोकर जहाँ खटायो, त्यहीँ जान पर्ने । सेवा गर्नैपर्ने । त्यो बेलामा कहाँ आजजस्तो गाडी सडक पाइनु ? धेरै कष्टकर थियो उसबेलाको यात्रा ।’ 
३१ वर्षको जागिरे जीवनलाई विश्राम लिँदै २०५२ सालबाट उनी पेन्सनमा बसेका हुन् । अहिले उनको रिटायर जीवन साथीभाइ भेट्ने, चौतारीमा बसेर भलाकुसारी गर्ने अनि नयाँ पुस्तालाई आफ्नो अनुभव शेयर गर्ने काममा बितिरहेको छ । उनी भन्छन्, ‘पहिले सरकारी जागिरलाई अहिलेजस्तो राम्रो मानिन्थेन । तर हाइसञ्चो छ, पेन्सनले आफ्नो जीवन धानेको छु, छोराबुहारीसँग माग्न परेको छैन, यसैमा खुसी लाग्छ, उसबेला राम्रै कर्म गरेछु जस्तो लाग्छ ।’
अहिले उनको पेन्सनमात्र १६ हजार आउँछ । ‘कसैको आश गर्न परेको छैन, कसैको भर पर्नु छैन, हिजो आफूले गरेको कर्मको फल खाइरहेको छु’ उनले भने, ‘हामी पाका छौँ, हामीसँग धेरै अनुभव छ, त्यो अनुभव अहिलेको पुस्ताले लिन जरुरी छ ।’ उनले बुढेसकालको पालो सबैलाई एकपटक आउने बताए । 
उनले भने, ‘वृद्धवद्धालाई हेला गर्नुहुँदैन, माया गर्नुपर्छ, हामी त पेन्सनले पालिएका छौँ, तर कतिलाई छोराबुहारीले पाल्न परेको होला, कति वृद्धवृद्धालाई आश्रममा पनि देखेको छु, आफ्नो बाबुआमा पाल्न कुनै संकोच मान्नुहुँदैन । वृद्धवृद्धालाई राम्ररी पालनपोषण गरेर उनीहरुसँग भएको ज्ञान सीप आफूले लिनुपर्छ ।’  
अधिकारीका साथी हुन् विजयप्रकाश श्रेष्ठ । उनी पनि रिटायर जीवनमा छन् । ६६ वटा हिउँद काटे उनले पनि । भरतपुर ११ मुक्तिनगरका श्रेष्ठ जनस्वास्थ्य कार्यालयबाट रिटायर भएका हुन् । सुरुमा परिचरबाट जागिरे यात्रा सुरु गरेका श्रेष्ठ पेन्सनमा निस्कने बेलामा मुखियासम्म पुगेका थिए । अहिले उनको १२ हजार रुपैयाँ मासिक पेन्सन आउँछ ।
उनी भन्छन्, ‘मलाई त पेन्सनले पालेको छु, छोराबुहारीको आश गर्न परेको छैन, मेरो त श्रीमतीको पनि पेन्सन आउँछ, उसको पेन्सनले उसलाई पुग्छ, मेरो पेन्सनले मलाई ।’ श्रेष्ठकी श्रीमती नर्सिङबाट रिटायर भएकी हुन् । रिटायर जीवन भएर आफूहरुलाई कुनै चिन्ता नभएको उनी बताउँछन् । 
समाजमा पुराना पुस्तामाथि नयाँ पुस्ताबाट कहीँकतै हेला भइरहेको उनको भनाइ छ । उनी भन्छन्, ‘बुढेसकालमा दुःख गरेर खान सकिदैन, हामी त पेन्सन आउँछ, पालिन्छौँ तर कति वृद्धवृद्धालाई परिवारले हेला गरेको मैले पनि सुनेको छु, नयाँ पुस्ताले पुराना पुस्ताबाट ज्ञान अनुभव लिनुपर्छ । तर समाजमा त्यस्तो अत्यन्तै कम देखिन्छ ।’ 
उनीहरुका अर्का साथी हुन्, भरतपुर ११ बाइपास रोडका ढुण्डीराज भट्ट । उनी प्रहरीबाट रिटायर हुन् । ७३ वर्षमा भर्खर टेकेका भट्ट सिपाहीबाट जागिर सुरु गरेका हुन् । उनी भन्छन्, ‘त्यतिबेला मेरो तलब मासिक ४५ रुपैयाँ थियो, जतिबेला तलब ८१ रुपैयाँ पुग्यो, म त पेन्सनमा बसेँ ।’ 
२०३९ सालमा उनी पेन्सनमा बसेका हुन् । उनले भने, ‘हवल्दार हुँदा पेन्सनमा बसेको हुँ, २०३९ सालमा मैले पेन्सन १५५ रुपैयाँ बुझेको थिएँ । अहिले उनको पेन्सन मासिक १३ हजार पुगेको छ । 
‘पेन्सनले मलाई पालेको छ, छोराबुहारीसँग हात पसारेर माग्नु परेको छैन, म आफ्नो खुट्टामा उभिइरहेको छु’ उनी गुनासिए, ‘चौतारीमा बस्ने आफ्नो अनुभव सेयर गर्ने काम भइरहेको छ, केही बचेको समय खेतीपातीमा पनि दिने गरेको छु ।’ उनले पुराना पुस्ताको अनुभव नयाँ पुस्ताले ग्रहण गर्नुपर्ने बताए । 
उनले भने, ‘पुराना पुस्ताको त्यसै कपाल फुलेको छैन, दुईचार भोटा बढी नै फटाएका छन् । ती पुस्तासँग ज्ञानको भण्डार छ, नयाँ पुस्ताले ग्रहण गर्न नसक्दा आज वृद्धवृद्धामाथि हेला भएको हो, नयाँ पुस्ताले पुराना पुस्ताबाट सिक्नुपर्छ, तब बल्ल नयाँ पुस्ताको जीवन बदलिन्छ ।’

प्रतिक्रिया दिनुहोस