अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा

एजेन्सी

शनिबार, ०४ फागुन २०७५, १४ : ०६
अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको दक्षिणी सीमामा पर्खाल बनाउनको लागि राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । 
संसदको तल्लो सदनमा बहुमत रहेको डेमोक्रेटिक पार्टीले ट्रम्पको सकंटकाल घोषणालाई कार्यान्वयन हुन नदिन अदालत जाने बताएसँगै अमेरिका एक अनिश्चित कानुनी र राजनीतिक लर्डाइँमा फस्ने देखिएको छ । 

उनले राज्य कोषका अन्य शीर्षकबाट पैसा झिकेर पर्खाल निर्माणमा लगाउनको लागि शुक्रबार राष्ट्रिय संकटकाल घोषणा गरेका हुन् । अमेरिका र मेक्सिकोबीच ३१४५ किमी लामा सीमा जोडिएको छ । यसमध्ये केही भागमा पहिलेका राष्ट्रपतिहरुले सीमाना पर्खाल लगाएका थिए ।

ट्रम्पले हाल महत्वपूर्ण ३७० किमि लम्बाईको सीमामा पर्खाल लगाउने योजना बनाएका हुन् ।

डेमोक्रेटले कानुनी प्रतिरोध गर्ने
डेमोक्रेट पार्टीका वरिष्ठ नेताहरुले भने ट्रम्पले संकटकाल घोषणालाई ‘शक्तिको निर्लज दूरुपयोग’ र ‘स्वेच्छाचारी कदम’ भनेका छन् ।  

विहीबार अमेरिकी संसद(कंग्रेस)ले पास गरेको बजेट विधयकमा ट्रम्पले पर्खालको लागि माग गरेको रकम नछुट्टाइए पछि ट्रम्पले यो विषम कदम उठाएका हुन् । 

ट्रम्पले चुनावमा गरेको प्रमुख प्रतिबद्धतामध्य एक मेक्सिकोसँग सीमामा पर्खाल बनाउने पनि थियो । तर राष्ट्रपतिको रुपमा उनले हालसम्म उक्त योजनालाई अघि बढाउनको लागि बजेट पाइरहेका थिएनन् ।  
झन् अघिल्लो वर्षमा भएको मध्यवर्ती चुनावमा तल्लो सदनमा उनको पार्टी रिपब्लिकले बहुमत गुमाएपछि उनलाई पर्खाल बनाउन गा¥हो हुने देखिएको थियो ।

ट्रम्पले पटक पटक अमेरिकामा आप्रवासीहरुको प्रवाह संकटग्रस्त स्तरमा पुगेको बताउदैं आएका छन् । उनले दक्षिणी सीमा हुदैं अमेरिकामा ठूलो संख्या ड्रग्स, अपराधीहरु आउने आरोप लगाउने गरेका छन् ।

तर आलोचकहरुले भने सीमामा आप्रवासीहरुको संख्या अघिल्ला दशकहरुको तुलनामा धेरै कम भएको, आएकामध्य पनि बढी कानुनी रुपमै अमेरिका प्रवेश गर्न खोजेको बताउदैं आएका छन् । 

डेमोक्रेटिक पार्टीबाट तल्लो सदनमा सभामुख रहेकी न्यान्सी पेलोसीले पहिले नै ट्रम्पले सकंटकाल घोषणा गरे आफ्नो पार्टीले त्यस विरुद्ध कानुनी चूनौती दिने बताइसकेकी छिन् । 

राष्ट्रिय संकटकालमा के हुन्छ ?
अमेरिकामा संकटको समयमा संकटकालिन अवस्था घोषणा गरिन्छ । हालको सन्दर्भमा संकट अमेरिका–मेक्सिको सीमामा ठूलो संख्याको आप्रवासीहरुको आगमनले ल्याएको ट्रम्पको भनाई छ । 

विज्ञहरुका अनुसार राष्ट्रिय संकटकालमा अमेरिकाको राष्ट्रपतिले केही विशेषाधिकार पाउछन् । यी विशेषाधिकार प्रयोग गरेर उनले सामान्य राजनीतिक प्रक्रियालाई ‘बाइपास’ गर्न सक्छन् । 

ट्रम्पले अमेरिकाको सैन्य अथवा प्रकोप राहत बजेटको केही हिस्सा पर्खालको निर्माणका लागि प्रयोग गर्न सक्ने सम्भावना बताइएको छ । 

के दक्षिणी सीमामा संकटकालीन अवस्था नै छ ?
तथापी अमेरिकाको दक्षिणी सीमाको अवस्थालाई संकटकाल मान्न सकिने नसकिनेबारेमा विवाद छ । 

एकातर्फ, नोभेम्बर महिनामा प्रत्येक दिनजसो दैनिक २००० मानिसहरु सीमामा पक्राउ परिरहेको अथवा फकाईरहेको अवस्था थियो । समर्थकहरुले यो सकंटकालिन अवस्था भएको बताइरहेका छन् । 

अरुले भने यो संख्या एक दशक अघिको भन्दा निक्कै कम रहेकाले संकटकाल लगाउनुपर्ने जरुरी नरहेको बताइरहेका छन् । साथै होण्डुरसबाट लाखौंको संख्यामा अमेरिकातर्फ आइरहेका मािसहरुमध्य अधिकाशंले आफूलाई शरणार्णीको रुपमा प्रस्तुत गरिरहेका छन् । यस्तो समूहलाई अन्तराष्ट्रिय कानुन अनुसार शरण दिनुपर्छ । 
 

प्रतिक्रिया दिनुहोस