घर बनाउन नसक्नेलाई प्राधिकरणले घर बनाइदिने

रासस

शनिबार, २९ पुस २०७४, १३ : ३२
घर बनाउन नसक्नेलाई प्राधिकरणले घर बनाइदिने

काभ्रे ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण घर बनाउन नसक्नेलाई आफैँले घर बनाइदिने गृहकार्यमा जुटेको छ ।     
विशेष गरेर ७५ वर्षभन्दा माथिका सहाराविहीन वृद्धवृद्धा, अपांगता सम्बन्धी रातोकार्ड पाएका व्यक्ति, ६० वर्ष माथिका एकल महिला र परिवार नभएका टुहुरा १५ वर्षमुनिका बालबालिकालाई प्राधिकरणले घर बनाइदिने गृहकार्यमा जुटेको हो ।

“एकल महिला सबैलाई घर बनाइदिने कि भनेर तथ्यांक संकलन गर्दा धेरै आएकाले निश्चित कोटा निर्धारण गरेका हौँ,” प्राधिकरणका काभ्रे जिल्ला प्रमुख धु्रव गैँडाले भने –“ ती तथ्यांक संघीय आयोजना कार्यान्वयन एकाइ र पुनःनिर्माण प्राधिकरणमा माघ ५ गतेभित्र पठाइसक्न प्रत्येक नगरपालिका र गाउँपालिकामा पत्र पठाइसकिएको छ ।”

घर बनाउन नसक्ने अवस्थाका मानिस देखेर नै नयाँ नीति निर्माण गर्नका लागि केन्द्रलाई अनुरोध गरेको र केन्द्रले पनि पहिले तथ्यांक संकलन गर्न अनुमति दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस