चितवन । झट्ट हेर्दा उनका दुबै आँखा सद्दे देखिन्छन् । गहिरिएर हे¥यो भनेमात्र थाहा हुन्छ उनको देब्रे आँखा नक्कली हो भन्ने । भरतपुर महानगरपालिका वडा नम्बर ११, भोजाड निवासी इश्वर सापकोटा ‘सुमन’को देब्रे आँखा १८ वर्षअघिको नेपाल बन्दमा ग्रिनेडको बारुदले खोसेको हो ।
२०५७ साल पुस १७ गते नेपाल बन्दको दिन । बन्दको आह्वान गरेको थियो युद्ध हाँकिरहेको तत्कालीन नेकपा (माओवादी) ले । चितवन जिल्लामा पनि बन्द सफल पार्न माओवादी पार्टीका लडाकुहरु सडकमा ओर्लिएका थिए । खैरहनीको मगनीचोकमा जनमुक्ति सेनाका प्लाटुन कमाण्डर सुमनको नेतृत्वमा चार जनाको जम्काभेट प्रहरीसँग भयो । प्रहरीसँगको दोहोरो भिडन्तका क्रममा जनमुक्ति सेनाको समूहले प्रहरीतर्फ फ्याँकेको ग्रिनेड पड्किँदा लडाकु उत्तरकुमार गुरुङको घटनास्थलमै मृत्यु भयो । अरु तीन जना घाइते भए । ग्रिनेडको छर्रा सुमनको आँखाभित्र प¥यो ।
घाइते साथीहरु निलकण्ठ सुवेदी र केशव क्षेत्री भागाभाग गर्न थाले । सुमन पनि दौडिए खैरहनीको चौबीसकोठीतर्फ । दौडिँदै गर्दा उनले बाटोमा आफूसँग भएका ग्रिनेड र खुकुरी पानी जमेको खाल्डोतिर फाले ।
चौबीसकोठीमा पुगेर एम्बुलेन्स चढी उपचारका लागि हानिए भरतपुर अस्पतालतिर । अस्पतालमा प्रहरीले सोधपुछ गर्दा उनले आफू सर्वसाधारण भएको बताए । उनीसँग कुनै हतियार नभएकोले प्रहरीले उनको कुरामा शंका गरेन ।
‘भरतपुर अस्पतालले प्राथमिक उपचारपछि थप उपचारका लागि टिचिङ हस्पिटल काठमाडौंमा रिफर ग¥यो’ आफूले देब्रे आँखा गुमाएको त्यो दिन सम्झँदै सुमन भन्छन्, ‘भोलिपल्टै प्रहरीले मलाई टिचिङ हस्पिटल पु¥यायो ।’ दस दिनसम्म त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार गरेपछि सुमन अस्पतालबाट भागेर पार्टीको सम्पर्कमा पुगे । पार्टीले छैठौं जनयुद्ध दिवस मनाउँदा उनी पार्टीमा क्रियाशील भइसकेका थिए ।
जनयुुद्धमा सहभागी भएर देब्रे आँखा गुमाएपनि उनले पार्टीप्रतिको विश्वास गुमाएका थिएनन् । क्रान्तिमा सहभागी हुने साहस छाडेका थिएनन् । त्यसैले त एउटा आँखा गुमाएर पनि उनी पुनः क्रान्तिमा सक्रिय भए । खैरहनी चौकी आक्रमण, धादिङको कृष्णभिर, चितवनको जलबिरे र मौवाखोलामा भएका एक्सनमा सहभागी भए । उनी त्यतिबेला स्पेशल टास्क फोर्स (एसटीएफ) को प्लाटुन कमाण्डर थिए । शान्ति प्रकृयापछि सेना समायोजनका बेला उनले स्वेच्छिक अवकाश लिँदा २०७३ सालमा उनी तेस्रो डिभिजन अन्तर्गतको बासु स्मृति ब्रिगेडको भाइस कमाण्डर थिए ।
२०३५ साल जेठ १८ गते गोरखा जिल्लाको हर्मीमा आमा इन्द्रकुमारी र बाबु नन्दलालको चौथो सन्तानको रुपमा जन्मिएका सुमनका दुई जना दाजु, एक जना दिदी र एक जना भाइ छन् । २०४५ सालमा सापकोटा परिवार बसाइँ सरेर चैनपुर आएको थियो । चैनपुरबाटै सुमनले राजनीतिमा पाइला टेके । जनजीवन मावि चैनपुरमा अनेरास्ववियु (छैठौं) बाट राजनीति सुरु गरेका सुमन २०५१ सालमा अखिल (क्रान्तिकारी) मा प्रवेश गरेर पूर्वी इलाका कमिटी संयोजक बने । २०५२ सालमा एसएलसी उत्तीर्ण गरेका सुमन त्यही वर्ष फागुन १ गते माओवादी पार्टीले जनयुद्ध घोषणा गरेपछि अर्धभूमिगत भए ।
२०५४ सालमा स्वयंसेवकको रुपमा पार्टीमा प्रवेश गरेका सुमन २०५५ सालमा पार्टीको पूर्णकालीन सदस्य बने । सोही वर्ष धादिङ–चितवन स्क्वायडको सदस्य भएपछि २०५६ सालमा जनमुक्ति सेनाको सदस्य भए । २०६३ सालमा पार्वती न्यौपाने रश्मीसँग जनवादी बिहे गरेका सुमनको एकमात्र छोरा युगान्त अहिले भरतपुरस्थित एक बोर्डिङ स्कुलमा कक्षा ६ मा पढ्छन् ।
जनयुद्धको दस वर्ष र शान्ति प्रकृयाको १२ वर्षमा जनयुद्धले उठाएका गणतन्त्र, संघीयता, समावेशिता, धर्म निरपेक्षता लगायतका नारा स्थापित भइसकेको उनको ठम्याई छ । जनयुद्धकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट छिनोफानो गर्नु पर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सूर्यप्रकाश कँडेल
बुधबार, ०१ फागुन २०७५, १० : २३
लेखकबाट थप