चितवन । ‘मलाई व्लड क्यान्सर देखियो, तर मैले क्यान्सरलाई हराइरहेको छु । घरमा मैले ऋण बोकाएँ तर क्यान्सरलाई हराएँ’ आठ वर्षकी बालिकाले यसो भनिरहँदा क्यान्सर अस्पताल भरतपुरका डाक्टरसमेत ती बालिकाको आत्मविश्वास देखेर अचम्मित भएका थिए ।
यस्तो आत्मविश्वास भएकी बालिका हुन्– महोत्तरी जिल्ला भंगाहा ३ टिकुलियाकी रोशनीकुमारी सिंह । उनलाई राम्रोसँग थाहा छ, आफूलाई व्लड क्यान्सर देखिएको छ भनेर । तर पनि कुनै चिन्ता छैन उनमा । उनी भन्छिन्, ‘नियमित औषधी खाएर क्यान्सरसँग लडेर जित्नुपर्छ ।’ कस्तो साहस छ, बालिकामा । न कुनै चिन्ता, न कुनै डर ।
भनिन्छ, चिन्ताले नै मानिसलाई चितामा लैजान्छ । यहाँसम्म ती बालिकाले बुझेकी छैनन् । उनलाई यती थाहा छ कि, क्यान्सर निको हुन्छ, डराउनुपर्दैन । त्यसैले त उनी नियमित औषधि खाइरहेकी छन् । फलोअपमा भरतपुर क्यान्सर अस्पतालमा आइरहेकी छन् ।
सातौँ वसन्तमा पाइला टेकेकी थिइन्, ज्वरो आयो । अभिभावक विपन्न वर्गका । किसानी काम गरेर महोत्तरीमा जीवन गुजारा गरिरहेका । मेडिकल लिएर गए रोशनीका बुबा राजकिशोरले । मेडिकलले ज्वरोको औषधि दिएर पठाइदियो । औषधि खुवाए, तर केही दिन निको भएको ज्वरो पटकपटक आइरह्यो । मेडिकलको औषधिले ज्वरो निको नभएपछि उनी छोरीलाई लिएर जनकपुर रगत परीक्षण गर्न पुगे । रगत परीक्षण गर्दा त्यहाँ क्यान्सरको भएको शंका गरे चिकित्सकहरुले ।
छाँगाबाट खसेजस्तो भए राजकिशोर । उनलाई व्लड क्यान्सर भए मान्छे बाँच्न सक्दैन भन्ने भ्रम थियो । त्यसैले त उनी डराए, थरर्र हातगोडा कामे उनका । उनी उसबेलाको कहानी सम्झदै भन्छन्, ‘व्लड क्यान्सर भए मानिस बाँच्दैन भन्ने सुनेको थिएँ, चिकित्सकहरुले शंका लागेको भनेपछि मेरो मुटुले ठाउँ छोडेजस्तो भएको थियो ।’
तर के गर्नु, मनलाई चित्त बुझाउनुबाहेक अरु केही उपाय थिएन । डाक्टरहरुले शंका मात्र भनेका कारण उनले पटकपटक भगवान पुकारे । ‘हे भगवान ! छोरीलाई क्यान्सर नेखिए हुन्थ्यो ।’ जनकपुरका चिकित्सकहरुले उनलाई छोरीलाई लिएर भक्तपुर वा भरतपुर क्यान्सर अस्पतालमा जान सल्लाह दियो ।
भरतपुरमा आफन्त भन्ने कोही छैनन्, कहाँ कसरी उपचार गर्ने कुनै भेउ छैन । राजकिशोरमा छटपटी चल्यो । उनका भक्तपुरमा एकदुई जना आफन्त रहेछन् । उनीहरुको सल्लाहमा छोरीलाई भक्तपुर क्यान्सर अस्पताल लगे । सम्पूर्ण परीक्षण गराए ।
१८ दिनपछि जब उनको हातमा छोरीको रिपोर्ट थमाइयो, वरिपरि पूरा अँध्यारोमात्र देख्न थाले उनले । रिपोर्ट हेर्दाहेर्दै बिहोस् होलाजस्तो भए राजकिशोर । उनको छोरीमा व्लड क्यान्सर देखियो । नियतिको खेल नै यस्तो छ, आखिरी यसलाई विश्वास गर्नुबाहेक उनीसँग अरु कुनै उपाय थिएन । एकातिर उपचार गर्ने पैसा छैन, अर्कोतिर भर्खर टुसाउँदै गरेकी छोरीको अगाध माया छ ।
‘आखिरी बाबु हुँ, सास रहुन्जेल आश त भैहाल्छ, भक्तपुरमै बसेर उपचार गराउन थालेँ’ राजकिशोर गुनासिए । उपचारको लागि विपन्न वर्गले पाउने एक लाख उनले पाए, तर त्यतिले मात्र क्यान्सरको उपचार कहाँ सम्भव छ र !
उनले छोरीको उपचारको लागि २ कठ्ठा जग्गा बेचेँ महोत्तरीको । जग्गाको पैसा उपचारमा सकियो ।
५२ वर्षमा पुगेका राजकिशोरमा अब ऋणको भारी थपिन थाल्यो विस्तारै । विपन्न वर्ग किसानी काम गर्ने मान्छेलाई क्यान्सरको उपचार गराउनु चानचुने कुरा पनि थिएन । खर्च बढिरहेको थियो । भक्तपुरमै उपचार गर्दा उनलाई दुई लाख ऋण लागिसकेको थियो ।
भक्तपुरका उपचार गराइरहेको बेला भरतपुर क्यान्सर अस्पतालमा व्लड क्यान्सरको औषधि निःशुल्क पाइन्छ भन्ने कुरा उनको कानसम्म आयो । अनि भक्तपुरबाट छोरीलाई लिएर भरतपुर क्यान्सर अस्पताल आइपुगे राजकिशोर ।
भरतपुर क्यान्सर अस्पतालमा १५ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार निःशुल्क हुन्छ । राजकिशोर अहिले भरतपुरमा छोरीको क्यान्सरको उपचार गराइरहेका छन् । उनी भन्छन्, ‘यहाँको डाक्टरहरुले छोरीलाई आत्मविश्वास जगाएका छन्, निःशुल्क औषधि पाइएको छ । अहिले त छोरीलाई क्यान्सरलाई जित्न सक्छु बुबा भनेकी छन् ।’
औषधि निःशुल्क पाए पनि महोत्तरीबाट भरतपुरसम्म आउँदा बाटो खर्च उनको लागि अहिले आर्थिक भार परिरहेका छ । उनले भने, ‘२÷२ महिनामा आउनुपर्छ । पहिलेको ऋण त्यसै छ, दुई महिनामा एक पटक फ्लोअपमा आउँदा कम्तीमा १० हजार खर्च हुन्छ । दुई दिन त बस्नैपर्छ ।’
अहिले उनको समय तालिका दुईदुई महिनामा छोरीलाई भरतपुर क्यान्सर अस्पताल ल्याएर फलोअप गराउने काम भइरहेको छ । उनी खुसीसाथ भन्छन्, ‘अहिले छोरी र मेरो परिवारमा धेरै आशा पलाएको छ, डाक्टरहरुले ७÷८ वर्षसम्म औषधि नियमित खाए निको हुन्छ भन्नुभएको छ ।’
यति भन्दा उनको मुहार उज्यालो थियो । कुराकानीलाई विट मार्ने बेला उनले भने, ‘ऋण त छ, तर छोरीमा आत्मविश्वास जागेको छ । ऊ त पढाइमा पनि सिपालु छिन् । अस्पताल ल्याउँदा उनको पढाइ अलिकति बिग्रेका छ, तर क्यान्सर लाग्दैमा छोरीलाई केही भएको छैन, हाँसखेल राम्रो छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ माघ २०७५, १२ : ०७
लेखकबाट थप