चितवन । एक साताअघि एउटा खबरले देशभरि नै तरङ्ग ल्यायो । खबर थियो–चितवनका किसानले तरकारी बारीमा डोजर चलाए । वास्तवमा सत्य त्यही थियो, लागत पनि नउठ्ने भएपछि चितवन खैरहनी नगरपालिकाका किसानले तरकारी बारीमा नै डोजर चलाएर जोते । ट्याक्टर चलाएर बारीमै तरकारी नष्ट गरे ।
बारी जोतेका तस्बिरहरु नै फेसबुकमा बाक्लै सेयर भएको थियो । देशभरका टिभी, पत्रिकाहरुमा प्रमुख समाचार बनेको थियो । फेसबुकका वालहरु सान्त्वनाले भरिएका थिए । धेरै त देश हाँक्ने नेताहरुमाथि नै स्टाटसमार्फत व्यग्य हानिएको थियो ।
बजारमा बिक्रीको लागि लैजानु पर्ने तरकारी बारीमा जोत्नु पर्दा जोकोहीको आँखा रसाउँछ, तर स्वयम् तरकारी लगाउने किसानलाई कति पीडा होला, कल्पना गर्न सकिदैन । महिनौको मिहिनेतपछि फल टिप्ने बेलामा बारीमै बरबर्ती आँसु झादै किसानले तरकारीमाथि डोजर चलाउँदा सान्त्वनाको वर्षाबाहेक अरु केही हुन सकेन ।
तरकारीको भाउ आउँछ भन्दाभन्दै लागत पनि नउठ्ने भएपछि खैरहनीका किसान नवराज भुषालले बारीमै ट्याक्टर चलाएर जोतेका हुन् । यसअघि खैरहनीकै अर्का किसान पुरन महतोले तरकारी बन्दा बारीमा डोजर चलाएका जोतेका थिए । विशेष गरी बन्दा एक रुपैयाँ किलोमा पनि बेच्न मुस्किल भएपछि उनीहरुले गहभरि आँसु पार्दै तरकारी बारीमा नष्ट गरे ।
यस्तै, खैरहनी १ बहेराकै इन्दिरा भुषालले पनि ६ कठ्ठामा लगाएको बन्दा र सोही स्थानका सूर्यप्रसाद भुषालले समेत दुई कठ्ठामा लगाएको बन्दा जोताएको खबर सनसनी नै भयो । एकातिर कृषिमा आत्मनिर्भर बन्नको लागि सरकारले ढ्वाङ फुकिरहेको, अर्कोतिर किसानले बारीमै तरकारी जोत्नुपरेको पीडा कहालीलाग्दो नै थियो ।
देशभरि फिँजिएको यो खबर दुई दशकभन्दा बढी समय तरकारीमै जीवन सुम्पेका भरतपुर ६ गीतानगरका सुदामा यादवको कानसम्म पुग्यो । उनलाई लागेको थियो– किसान समस्यामा परे, खैरहनी गएर वास्तविक अवस्था बुझूँ । पछि फेरि उनको अर्को मनले भन्यो, ‘जे हुनु भइसक्यो, अब गएर त जोतिएको तरकारी फेरि फिर्ता त हुँदैन ।’
उनले पनि वर्सेनि बन्दा लगाउँदा रहेछन् । गत साल बन्दाको भाउ राम्रो भएको र यसपटक वन्दाको भाउ नआएको उनी बताउँछन् । उनी भन्छन्, ‘३ रुपैयाँ किलोमा बन्दा बेच्दा लागत उठ्छ, त्यहाँभन्दा माथि बेचियो भने फाइदा हो ।’ उनले १० कठ्ठाको बन्दा यसपटक ४ रुपैयाँ किलोमा बेच्न भ्याए ।
‘बाजे त होइन, तर मेरो बुबाले तरकारीमा जीवन बिताए, मैले पनि आफ्नो जीवन तरकारीमा सुम्पेको छ’ ३८ वर्षका यादवले भने, ‘हामी किसान हो, हाम्रो साथी धैर्य हो । यसलाई कहिल्यै टुटाउनु हुँदैन । किसान आत्तिन हुँदैन ।’
बिहान झिसमिसे भएदेखि बेलुका गोधुली साँझसम्म उनी तरकारी बारीमै खटिन्छन् । उनले यसपटक बन्दा, बोडी, भ्यान्टा, केराउ, आलु, गाँजरलगायतका तरकारीहरु लगाएका छन् । सबै जग्गा भाडामा हो, तै पनि वार्षिक सम्पूर्ण खर्च कटाएर वार्षिक ६ लाख नाफा निकाल्छन् । अहिले पनि झन्डै १० बिघामा उनले तरकारी लगाएका छन् । विक्री गरिरहेका छन् । उनी भन्छन्, ‘विदेशको रहर छैन, यहीँ फलिफाप छ मलाई त ।’
खैरहनीको किसानले बन्दा जोतिरहँदा उनले धमाधम बन्दा बेचिरहेका थिए । उनी भन्छन्, ‘भाउ नआएको पक्का हो, गत साल २० रुपैयाँ किलोमा बन्दा बेच्दा अहिले ४ रुपैयाँमा बेच्न प¥यो तर पनि नाफा नै छ ।’
उनले नयाँ किसानहरुलाई नआत्तिन सुझाव दिन्छन् । जोत्नुअगाडि मसम्म खबर आएको भए कुनै न कुनै उपाय निस्कने उनी बताउँछन् । भन्छन्, ‘बजारमा यस्तो एउटा रोग छ, चिनेको नजिकको मान्छेको व्यवसायीले तरकारी जति पनि खरिद गर्दिन्छन्, अलिकति नयाँ र घुलमिल नभएको किसानको तरकारीको भाउ छैन भने खरिद गर्दिनन् ।’ उनले खैरहनीको घटना यही हुन सक्ने टिप्पणी पनि गरे ।
‘किसानले पनि एउटै पार्टीसँग कारोबार गर्नुपर्छ, पार्टी फेर्दा पनि समस्याहरु आउन सक्छ । नयाँ किसानहरुले पुराना किसानहरुबाट अनुभवको ज्ञान लिनुपर्छ ।’
गत साल भाउ आएको हुनाले यसपटक धेरैले बन्दा लगाउँदा यस्तो स्थिति आएको उनी बताउँछन् । उनले भने, ‘गत साल भाउ आयो भनेर यसपटक धेरैले बन्दा लगाए, तर भाउ आएन । जसले गर्दा केही समस्या आएको हो ।’ उनले आफ्नो तरकारी बेच्ने एउटै पार्टी भएको हुनाले सजिलै बन्दा विक्री भएको बताए ।
उनी तरकारीबाट अलग हुन नसक्ने बताउँछन् । भन्छन्, ‘मैले जानेको यही हो, वर्सेनि भाडाको जग्गा थपिरहेको छ, १० जना कर्मचारी राखेको छु । यही पेसामा मैले जीवन समर्पित गरेँ ।’
दुई दशकसम्म तरकारी बेच्दा उनलाई अव्ठ्याराहरु नआएका होइनन् । पहाडजत्रा समस्याहरु पार गर्दै आज यहाँसम्म आइपुगेको उनी बताउँछन् । ‘भोलि तरकारी टिप्ने भनेर घर गयो, त्यही रात असिनाले र हावाले सोत्तर पार्दा आँखाको आँसु सकिएका थिए होलान्, तर म सिद्धिएर भागिनँ’ उनले भने, ‘एउटा तरकारी बोट मर्दा मन छियाछिया हुन्छ, तरकारी जोत्ने किसानलाई पीडा त छ नै तर धैर्यवान् हुन जरुरी छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ माघ २०७५, १३ : ०५
लेखकबाट थप