शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

एजेन्सी

सोमबार, २८ माघ २०७५, ११ : ४९
शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले अमेरिका र उत्तर कोरियाको शिखर बैठकअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नुहुने भएको छ । 

दोस्रो शिखर बैठकका बारेमा मुनले ट्रम्पसँग छलफल गर्न लाग्नुभएको दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसले आइतबार जनाएको छ । 

ब्लु हाउसका प्रवक्ता किम एउइ केउमले मुन र ट्रम्पको भेटवार्ताका लागि तयारी शुरु भइसकेको बताउनुभयो । 
प्रवक्ता केउमले उत्तर कोरियाको विषयमा राष्ट्रपति मुन र ट्रम्पका बीचमा टेलिफोन वार्ता भएको जानकारी पनि दिनुभयो । 

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच यही फेब्रुअरी २७ र २८ तारिखका दिन भियतनामको हनोइमा दोस्रो शिखर बैठक गर्ने सहमति भएको छ । 

उत्तर कोरियाका लागि अमेरिकाका विशेष प्रतिनिधि स्टेफन बाइगनले गत हप्ता उत्तर कोरियाको भ्रमण गरेर शिखर बैठकको मितिमा सहमति जुटाउनु भएको थियो । 

उहाँहरुबीच बहुचर्चित र अनपेक्षित मानिएको पहिलो शिखर बैठक गत वर्षको जुन महिनामा सिङ्गापुरमा भएको थियो । 

लामो समयदेखि एकअर्कालाई कठोर शत्रुका रुपमा हेर्दै आएका उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा गत वर्षबाट सुधार आएको हो । (रासस/सिन्ह्वा) 

प्रतिक्रिया दिनुहोस