जाँदा गलामा माला, फर्कदा काठको बाकसमा

शुक्रबार, २५ माघ २०७५, १२ : १३
जाँदा गलामा माला, फर्कदा काठको बाकसमा

काठमाडौं । स्वदेशमा रोजगारी छैन, रोजागर पाए पनि यहाँको कमाइले चर्को महँगीलाई थेग्नै सक्दैन । अनि युवाहरु लावालस्कर लगाएर विदेशी भूमिमा पसिना बगाउन पुग्छन् । वर्सेनि विदेश जाने नेपालीहरुको संख्या बढ्दो छ । 
गलामा माला लगाएर ‘राम्रो गरेस्, माया नमारेस्, साहुको ऋण तिर्नसाथ घर फर्केस’ भन्दै गहभरि आँसु बगाउँदै बाबुआमाले विदेशी भूमिमा छोरा पठाउँछन् । पठाएको केही महिनामा छोरो काठका बाकसमा फर्कदा ती बाबुआमाको मन कति रोला ? सोच्न पनि सकिदैन । सपना सबै चकनाचुर हुन्छ । 
जाँदा गलामा माला लगाएर जाने, फर्कदा काठको बाकसमा फर्कने नेपाल युवा कति होलान त ? पछिल्लो एक दशकमा साढे ६ हजारभन्दा बढी नेपाली काठको बाकसमा घर फर्केका छन् । 
प्रत्येक वर्ष औषतमा ५ सय ५९ नेपालीको मृत्यु वैदेशिक रोजगारको सिलसिलामा विदेशी भूमिमा हुने गरेको देखिन्छ । पछिल्लो एक दशकमा ३८ लाख ९८ हजार ४७९ नेपाली वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देश पुगेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको भनाइ छ ।  कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार वैदेशिक रोजगारमा गएका मध्ये यो अवधिमा ६ हजार ७०८ जनाको मृत्यु भएको छ ।’ 
वैदेशिक रोजगारको लागि नेपालले हालसम्म संस्थागत रुपमा ११० देश खुला गरेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा भने १७२ भन्दा बढी देशममा नेपाली पुगेका छन् । वैदेशिक रोजगारको सिलसिलामा सबैभन्दा बढी नेपाली मलेसिया र खाडी राष्ट्र पुग्ने गरेका छन् । 
पछिल्लो एक दशकमा यी सबै राष्ट्रमा गरी करिव ३९ लाख नेपाली रोजगार खोज्दै पुगेका छन् । बोर्डको तथ्याङ्कअनुसार विगत १० वर्षमा वैदेशिक रोजगारमा रहँदा विभिन्न प्रकारका दुर्घटनामा परी १ हजार १७८ जना नेपाली अंगभंग भएका छन् । वैदेशिक रोजगारको सिलसिलामा विदेशमा मृत्यु भएकाको परिवारका सदस्यहरु, अंगभंग तथा घाइते भएका मध्ये १५ हजार २६६ जनालाई बोर्डले पछिल्लो एक दशकमा आर्थिक सहायता उपलब्ध गराएको छ । 
उक्त अवधिमा बोर्डले आर्थिक सहायता स्वरुप २ अर्ब २ करोड ६६ लाख ४१ हजार ३ सय १७ रुपैयाँ पीडितहरुलाई उपलब्ध गराएको थियो । यही १० वर्षको अवधिमा वैदेशिक रोजगारबाट ४४ खर्ब ८२ अर्ब रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको देखिन्छ । 
सबैभन्दा बढी आर्थिक वर्ष २०७०–०७१ मा एक हजार ६ जना नेपाली कामदारको मृत्यु विदेशी भूमिमा भएको देखिन्छ । आर्थिक वर्ष २०६५–०६६ मा ७७ जना नेपालीको मृत्यु भएको थियो २०६६–०६७ मा यो संख्या बढेर ४ सय १९ पुगेको थियो । बोर्डका अनुसार आर्थिक वर्ष २०६७–०६८ मा ५ सय ६६, २०६८–०६९ मा ६ सय ४८, २०७०–०७१ मा ८ सय ७७, २०७२–०७३ मा ८ सय १६, २०७३–०७४ मा ७ सय ५६ र २०७४–०७५ मा ८ सय २१ जना नेपालीले मृत्यु रोजगारका क्रममा विदेशमा भएको थियो । 
वैदेशिक रोजगारमा क्रममा विदेश पुगेका नेपालीको मृत्यु विभिन्न कारणले हुने गरेको छ । जसमध्ये सबैभन्दा बढी मृत्युको कारण हृदयघात र आत्महत्या रहेको छ । हृदयघात, आत्महत्या, सडक दुर्घटना, हत्या, काम गर्दा हुने दुर्घटना नेपालीको मृत्युको प्रमुख कारण बनेको बार्डका कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । 
वैदेशिक रोजगारमा जानेमध्ये सबैभन्दा बढी नेपालीको मृत्यु मलेसियामा भएको देखिन्छ । मलेसियामा मात्र दश वर्षको अवधिमा २ हजार ४ सय ९६ जना नेपालीको विभिन्न कारण मृत्यु भएको थियो । मलेसियापछि सबैभन्दा बढी नेपालीको मृत्यु साउदी अरबमा भएको छ । साउदी अरबमा पछिल्लो १० वर्षमा एक हजार ९ सय २ जना नेपालीले ज्यान गुमाएका थिए ।
वैदैशिक रोजगारको सिलसिलामा ३५ देशमा नेपालीको मृत्यु भएको देखिन्छ । दश वर्षको अवधिमा कतारमा १ हजार ३ सय ६७ जना, संयुक्त अरब ईमिरेट्समा ५ सय ४४ जना, कुवेतमा २ सय २१, दक्षिण कोरियमा १ सय ३ जना, लेबनानमा २० जना, जापानमा १६ जना, ओमनमा ५४ जना, बहराइनमा ८९ जना नेपालीको मृत्यु भएको छ ।  

प्रतिक्रिया दिनुहोस