दक्षिणी क्यालिफोर्नियामा आँधीका कारण राजमार्ग अवरूद्ध, कैयौँ स्थान खाली गराइयो

एजेन्सी

आइतबार, २० माघ २०७५, १९ : ३१
दक्षिणी क्यालिफोर्नियामा आँधीका कारण राजमार्ग अवरूद्ध, कैयौँ स्थान खाली गराइयो

फाईल फोटो

संयुक्त राज्य अमेरिका । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शनिबार अत्यधिक बर्षासँगै शक्तिशाली आँधी आउँदा यस क्षेत्रका प्रमुख राजमार्गहरू आंशिक रूपमा अवरूद्ध बनेका छन् । 

आँधीपछि ठूलो बाढी आउने सम्भावना रहेको यहाँको मौसम विज्ञान विभागले जनाएपछि स्थानीय सरकारले बाढीबाट प्रभावित हुनसक्ने कतिपय होचा स्थानहरूलाई खाली गरेको बताइएको छ । 

आँधीले राजमार्गहरूमा पहिरो तथा रूख ढालेपछि कतिपय राजमार्गहरू आंशिकरूपमा अवरूद्ध बनेका छन् । 

क्यालीफोर्निया यातायात विभाग (सेल्ट्रान्स)का अनुसार प्रशान्त महासागरीय तट क्षेत्रको राजमार्ग लस पोसास रोडबाट विहानैदेखि अवरूद्ध भएको छ । उक्त क्षेत्रमा आँधीपछि आएको बाढीले सडकमा थुपारेको हिलो माटोलाई हटाउन नसक्दा आवागमन प्रभावित बनेको हो । आँधीका कारण मालिबुको ब्रोड बिच, बिगसुर बाट दक्षिणी क्षेत्र, सेन्ट बार्बारामा रहेको मिलपास सडक क्षेत्र, भेन्तुराबाट दक्षिणी क्षेत्रमा आवागमन प्रभावित बनेको छ । 

स्थानीय अधिकारीले आई–५ राजमार्ग पूर्णतया अवरूद्ध भएको भन्दै सेल्डन सडक नजिकका वैकल्पिक सडकको प्रयोग गरेर गन्तव्यमा जान वा अर्को सूचना जारी नहुँदासम्म सुरक्षित स्थानमा पर्खन आग्रह गरेका छन् । आँधीका कारण रेलका लिकमा हिलोको थुप्राहरू जमेका सूचनाका आधारमा भेन्चुराबाट आउने रेल सेवामा पनि केही ढिलाइ भएको बताइएको छ । 

राष्ट्रिय मौसम सेवाले दक्षिणपूर्वी भेन्तुराको उलसे फाएर, हिल फाएर सान्त मोनिका क्षेत्रका आगामी केही समयसम्म बाढी तथा पहिरोको खतरा हुने बताउँदै नागरिकलाई सुरक्षितस्थलतर्फ जान भनेका छन् । 

आइतबार दिउसोसम्म पनि थप बर्षा हुने र यसबाट बाढी तथा पहिरो जानसक्ने सम्भावना रहने भन्दै सावधानी अपनाउन एनडब्लुएसले निर्देशन दिएको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस