शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव

एजेन्सी

मंगलबार, १५ माघ २०७५, १७ : ०३
शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव

सियोल । कोरियाली जनताले स्वतन्त्रता प्राप्त गरेको आन्दोलनको शतबार्षिकी संयुक्तरुपमा मनाउन दक्षिण कोरियाले उत्तर कोरिया समक्ष प्रस्ताव गरेको छ । 

दुवै कोरियामा हरेक वर्ष मार्च १ तारिखका दिन जापानको उपनिवेश विरुद्ध लडेर मुलुकलाई मुक्त बनाएको दिनको सम्झनामा स्वतन्त्रता आन्दोलन दिवस मनाउने गरिएको छ । 

स्थानीय सञ्चार माध्यमहरुले मङ्गलबार लेखेको समाचार अनुसार दक्षिण कोरियाको एकीकरण मन्त्रालयले संयुक्त रुपमा शतवार्षिकी समारोह मनाउने प्रस्तावसहित उत्तर कोरियालाई पत्राचार गरेको हो । 

दक्षिण कोरियाली अधिकारीहरुले अहिले उत्तर कोरियाको जवाफको प्रतीक्षा गरिरहेको पनि स्रोतलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

कोरियाली प्रायःद्वीपमा सन् १९१० देखि १९४५ सम्म जापानको साम्राज्य थियो । देशव्यापी स्वतन्त्रता आन्दोलनका क्रममा सन् १९१९ मार्च १ तारिखका दिन सात हजार ५०० कोरियाली नागरिक मारिएका थिए भने ५० हजार भन्दा बढी गिरफ्तार भएका थिए । 

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले गत सेप्टेम्बरमा संयुक्त रुपमा शतवार्षिक समारोह मनाउने सहमति गर्नुभएको थियो । 

उत्तरको राजधानी प्योङ्याङमा भएको दुई नेताको तेस्रो शिखर बैठकमा भएको सम्झौतामा यो कुरा उल्लेख गरिएकाले दक्षिण कोरियाले संयुक्त रुपमा मनाउन अहिले पत्राचार गरेको अधिकारीहरुले बताएका छन् । अघिल्ला वर्षहरुमा दुवै कोरियाले एकै दिन आ–आफ्नै तरिकाले यो दिवसलाई मनाउने गरेका थिए । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस