नेपाललाई ऐतिहासिक सफलता : यूएईलाई हराउँदै नेपलाले जित्यो एकदिवसीय सिरिज

सफल खबर संवाददाता

सोमबार, १४ माघ २०७५, १९ : ०५
नेपाललाई ऐतिहासिक सफलता : यूएईलाई हराउँदै नेपलाले जित्यो एकदिवसीय सिरिज

काठमाडौं । कप्तान पारस खड्काले शतकप्रेरित नेपालले सोमबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट ४ विकेटको विजय हासिल गरेको छ । युएईले बनाएको २५४ रन पछ्याउने क्रममा नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । जितसँगै नेपालले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला २–१ ले जितेको छ । 

नेपालको जितमा ब्याटिङतर्फ कप्तान पारस खड्का नायक रहे । २ सय ५५ रनको लक्ष्य पछ्याउने क्रममा पारसले १ सय ९ बलको सामना गर्दै १ सय १५ रन जोडे । ओडीआईमा पहिलो शतक बनाउने नेपाली समेत बनेका पारसको इनिङ्समा १५ चौका र १ छक्का सामेल थियो ।

प्रारम्भिक ब्याट्सम्यान विनोद भण्डारी पाँचौ ओभरमा नै आउट भएपछि मैदान छिरेका उनले उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे ।

मल्लले ३१ रन बनाए भने नेपालको विजयका लागि योगदान गर्ने क्रममा सन्दीप जोराले १९, रोहित पौडेलले १६, आरिफ शेखले २१ र सोमपाल कामीले २६ रन बनाए । युएईको तर्फबाट इमरान हैदर र असफक अहमदले दुई-दुई विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालले २ सय ५५ को लक्ष्य पाएको थियो । सुरुवातमा राम्रो तथा कसिलो बलिङ गरे पनि पछिल्लो १५ ओभर नेपालको लागि खर्चिलो सावित भयो ।

खराब सुरुवात गरेको यूएई कुनै समय ५० ओभर पुरै टिक्न नसक्ने अवस्थामा पुगेको थियो । तर पाँचौ विकेटका लागि अनवार र सि.पि रिजवानले २० ओभर २ बलमा ४७–४ को अवस्थामा रहेको यूएईलाई १ सय रनको शतकीय साझेदारी गर्दै ४२ ओभरमा १४७-५ को बलियो अवस्थामा पुर्याएपछि यूएईले नेपाललाई गतिलो चुनौती पेश गरेको हो ।

अन्तिम १६ ओभरमा नेपालका बलरले १ सय ५४ रन खर्चेका थिए । यूएईलाई विशाल योगफल तयार पार्न उत्कृष्ट ब्याटिङ गरेको अनवरले ७० बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ८७ रन बनाए । शतकीय साझेदारी करण केसीले ४२ ओभरको दोस्रो बलमा रिजवानलाई ४५ रनमा विकेटकीपर विनोदबाट क्याच गराउदै तोडेका थिए । रिजवानले ७६ बलमा ५ चौका प्रहार गरे ।

त्यस्तै आक्रममक ब्याटिङ गर्दै मोहम्मद बुटाले पनि अर्धशतक बनाए । नेपालका लागि करण केसी र पारस खड्काले २-२ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेको नाममा १-१ विकेट रहयो ।

यो नेपालले आफ्नो पोल्टामा पारेको पहिलो एकदिवसीय शृङ्खलाको उपाधि हो । गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो ।

यो पनि
एक दिवसीय क्रिकेटमा पारसको पहिलो शतक


 

प्रतिक्रिया दिनुहोस