अङग्रेजी भाषा किसानले नबुझेका कारण भाषामा सुधार गर्न कर्मचारीहरुलाई मन्त्री खनालको निर्देशन

सफल खबर संवाददाता

शनिबार, १२ माघ २०७५, १६ : २७
अङग्रेजी भाषा किसानले नबुझेका कारण भाषामा सुधार गर्न कर्मचारीहरुलाई मन्त्री खनालको निर्देशन

सर्लाही । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले कर्मचारीहरुलाई भाषा सुधार गर्न निर्देशन दिएका छन् ।
सर्लाहीको नवलपुरमा रहेको तेलबाली अनुसन्धान कार्यक्रममा कर्मचारीलाई निर्देशन दिँदै उनले कर्मचारीले बोलेको भाषा किसानले बुझ्न नसकेकाले कर्मचारीहरुले भाषा सिक्न आवश्यक रहेका बताएका हुन् । 

उनले भने कर्मचारीहरुलाई निर्देशन दिँदै भने, ‘तपाईंले बोल्ने भाषा किसानले बुझ्दैनन् भने पहिले तपाई आफैँले भाषा सिक्नुस । किसानलाई बल्लतल्ल साक्षर बनाउँदैछौ । तपाईंले बोल्ने यो अङ्ग्रेजी भाषा किसानले बुझ्दैनन ।’
‘तपाईंलाई थेसिस लेख्न, गुगलमा राख्न, विदेशीसँग प्रस्तुत हुनलाई ठिक होला तर किसानका लागि हुँदैन । तपाईंहरूको तथ्यांक लिने तरिका पनि चित्तबुझ्दो लागेको छैन’, उनले भने, ‘कतिपय अवस्थामा अन्दाजका आधारमा लिइँदोरहेछ । तेलको बारेमा अध्ययन गर्ने एउटामात्र कार्यक्रम भएपनि प्रभावकारी हुन सकेको छैन ।’

उनले भाषाको बारेमा सरकारले नीति नै बनाउन लागेका हुनाले अहिलेदेखि त्यसमा सुधार गर्न कृषिका कर्मचारीलाई निर्देशन दिए । किसानलाई कुनै कुरा बुझाउँदा अंग्रेजी भाषामा बुझाउँदा नबुझेकाले कृषिमा विकास हुन नसकेको बताउँदै मन्त्री खनालले किसानका लागि सरल भाषा बनाउन कर्मचारीलाई निर्देशन दिए । जनशक्ति र बजेटका अभावले गर्दा तेलबाली प्राथमिकतामा नपरेको बताउँदै उनले भुटानले ६ वर्षभित्र लगानी गरेर अहिले निर्यात गर्न थालेको बताए । 
नेपालमा पनि धेरै कुरामा आत्मनिर्भरको नजिक रहेको सरकारले अलिकति व्यवस्थापन मात्र गरिदिए चाँडै नै आत्मनिर्भर हुने उनले दावी गरे । 
तेलहन बाली कार्यक्रमका प्रमुख डा. बिपी यादवका अनुसार मुख्य खाद्यबाली पछि तेल सबैभन्दा बढी आयात हुने गरेको छ । 
सन २०१५ मा २२ अर्ब ५१ करोडको आयात भएकोमा अहिले बढेर २८ अर्ब ५१ करोड ५३ लाख पुगेको छ ।  ३४ हेक्टरमा मत्र तेल अनुसन्धान भइरहेको छ ।
नेपालमा प्रति हेक्टरमा  ५०० किलो तेलहनवाली उत्पादन हुने गरेको छ । भारतमा प्रति हेक्टर २५ सय केजीको दरले उत्पादन हुने गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस