चितवन । कृष्ण वलीको अनुहारमा यतिबेला कान्ति छाएको छ । धेरै वर्ष उनी रोएर दिनरात काटे । तर अहिले उनको अनुहारमा कत्ति पनि रोदन छैन । नियतिले उनलाई नबिर्साउने गरी ठग्यो, तर उनलाई यतिबेला आइरहेको सहयोगले उनको पहिलेका दुःखकष्ट सबै बिर्साएको छ ।
यस्तो थियो उनको कहानी
रुकुमको सानेभेरी गाउँपालिकामा जन्मिएका २१ वर्षिय कृष्ण वली विद्युत् प्राविधिक हुन् । दाङको तुलसीपुरस्थित विद्युत प्राधिकरणको कार्यालयमा उनले केही महिना अगाडि मात्रै जागिर पाएका थिए । गत जेठ २५ गते विद्युत लाइन बिस्तार गर्ने क्रममा पोलमा चढ्दा उनलाई ११ हजार भोल्टको करेन्ट लागेको थियो । भारतको अस्पतालले फर्काइदिएका उनलाई कीर्तिपुर अस्पतालले बचाइदियो । बाँच्न त उनी बाँचे, तर उनले आफ्नो हातगोडा गुमाए ।
विधिको बिडम्बना पनि विचित्रको छ, भर्खर जागिरमा लागेका कृष्णको यो हविगत भयो । नियतिको खेल भन्ने कि, के भन्ने खै, दुई हात घिसारेर खाने वलीलाई पर्नु फसाद प¥यो । करेन्ट लागेर दुई हात एवं एक खुट्टा गुमाए उनले । त्यसपछिका सात महिना उनी कति रोए कुनै हिसाब छैन, आँसु नखसेको कुनै दिन थिएन होला ।
हातगोडाको अपरेसन गर्दासम्म उनीहरुलाई ४५ लाख ऋण लागिसकेको थियो । बाँकी खर्च सम्झेर कहालिनु बाहेक उनीअरुसँग विकल्प थिएन । दुर्घटना हुँदा उनी वैवाहिक जीवनमा बाँधिसकेका थिए । उनकी धर्मपत्नी थिइन् १८ वर्षकी रुपा मगर ।
यसरी लागिन् कृष्णको उपचारमा रुपा
भर्खर विहे भएको समय । श्रीमान्को यो हालत । उनलाई पर्नु पीर परेको थियो । त्यसमाथि नेपाली समाज । कुरा काट्नैमा समय बिताउने । रुपाले अकल्पनीय बज्रपात सहनुपर्दा पनि हिम्मत हारिनन् । श्रीमानको हौसला बढाइन् । रुपा जस्ती पत्नी पाउनुलाई धेरैले उनको भाग्यको रुपमा चित्रण गर्छन् ।
कृष्ण र रुपाको प्रेम विवाह हो । त्समाथि अन्तरजातीय विहे । समाजले अझै पचाउन सकेको छैन, यस्तो विहे । विहे अन्तरधार्मिक पनि हो । कृष्ण हिन्दू हुन् भने रुपा क्रिस्चियन पनि थिइन् । उनकी पत्नी रुपाले दह्रो मुटु बनाएर कसरी श्रीमानलाई सम्हालिन् त्यो उनलाई मात्र थाहा छ ।
कतिले रुपालाई श्रीमान् छोड्देऊ भने, कतिले त्यसलाई हेरचाह गरेर नबस भने, कतिले अर्को विहे गर भने, अहँ उनी कसैको कुरा सुनिनन्, बरु आफ्नो श्रीमान्को स्याहारसुसारमा लागिन् । उपचारमा लागिन् । मायाममतामा कुनै कमी हुन दिइनन् । कृष्णको कहिल्यै साथ नछाड्ने उनी बताउँछिन् ।
जोडी त यस्तो पो हुनु
अहिले कृष्ण र रुपमा जोडीलाई देखेर मान्छेहरु भन्ने गर्छन् जोडी त यस्तो पो हुनुपर्छ । सानो कुरामा सबन्ध बिगार्ने जोडीहरुलाई कृष्ण र रुपाको जोडी नुमना बनिरहेको छ । कृष्ण र रुपा अहिले कुलेश्वरमा फ्ल्याट भाडामा लिएर बसिरहेका छन् । अहिले उनीहरुका साथमा कृष्णका हजुरआमा, आमा, दाजु र बहिनीहरु छन् । नर्सिङको पढाई गरिरहेकी रुपा श्रीमानको दुर्घटनापछि उनैलाई स्याहारेर बसिरहेकी छन् ।
२ करोड संकलन
एउटा नेपाली विपतमा पर्दा संसारभरका नेपालीहरु कसरी एकजुट भएर सहयोग गर्छन् भन्ने उदाहरण हामीले पटकपटक पाएका छौँ । फेरि अर्को उदाहरण पायौँ । एउटा युट्यूबमा कृष्णको कथा सार्वजनिक भएपछि उनलाई सहयोग गर्ने हातहरु यसरी उठेको छ, सबैलाई चकित पारिरहेको छ । कृष्ण वलीका लागि एक महिनाभित्रै झण्डै दुई करोड संकलन भएको खबर सायदै विश्वास लाग्दैन, तर पनि हो । उनको लागि अहिले २ करोड संकलन भइसकेको छ ।
यो जोडीको अनुहारमा मुस्कान फिरेको छ । कम्तीमा कृत्रिम हात गोडाको सहायताले कृष्णले आफ्नो जीवन अगाडि बढाउन सक्ने भएका छन् । देशविदेशका नेपालीहरुले यो जोडीलाई सहयोग गर्न जुरुक्कै उठेका छन् । सहयोगको बाढी आएको छ । कृष्णका लागि ठूलो रकम जुट्नुमा रुपाप्रतिको करुणाले पनि धेरै भूमिका खेलेको देखिन्छ ।
कसैले व्यक्तिगत तवरमा त कसैले संगठित भएर गरेको सहयोगले ठूलो रुप लिँदै जाँदा कृष्ण र रुपा सामाजिक सञ्जालमा छाइसकेका थिए । उनीहरुमाथि गीत बनाएर रेकर्ड समेत भएको छ ।
यस्तो छ कृष्णको अवस्था
कृष्णको बायाँ खुट्टा घुँडाभन्दा मुनि काटिएको छ । दायाँ खुट्टाका केही औंला काटिएका छन् । यस्तै दायाँ हात कुहिनोभन्दा केही माथि काटिएको छ । दायाँ हात पुरै कोटिएको छ । सबैभन्दा जटिल अवस्था दायाँ हातको देखिन्छ । उनको उपचार नेपालमै सम्भव हुने डाक्टरहरु बताउँछन् ।
कृष्ण वलीका दाजु सुमनले अहिलेसम्म विभिन्न माध्यमबाट करिब ९० लाख रुपैयाँ हातमा आएको बताए । कृष्णको बैंक खातामा सहयोग थपिने क्रम जारी रहेको उनी बताउँछन् । अमेरिकामा रहेका एक भुटानी नेपालीले चलाएको फन्ड रेजिङमा मात्रै करिब ८५ लाख रुपैयाँ उठेको छ । अन्य सहयोगीहरुबाट २० लाखभन्दा बढी संकलन भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०७५, १२ : २२
लेखकबाट थप