यस्ता छन् चर्चित देशका चर्चित फर्स्ट लेडीहरु

बुधबार, ०९ माघ २०७५, १९ : २९
यस्ता छन् चर्चित देशका चर्चित फर्स्ट लेडीहरु

कुनै देशमा ‘प्रथम महिला’ वा ‘प्रथम पुरुष’लाई संवैधानिक रूपमै पद दिइएको छ भने संवैधानिक पद नभएका देशमा पनि कार्यकारी प्रमुखका श्रीमान् वा श्रीमतीलाई मिडियाहरूले यही उपमाले सम्बोधन गर्छन् । देशकै कार्यकारी पदमा रहेको आफ्नो जीवनसाथीलाई सफल बनाउन अहोरात्र भूमिका खेल्ने भएकाले पनि उनीहरूको महत्व विशेष रहन्छ । विश्वका चर्चित ‘फस्र्ट लेडी’ महिला कस्ता छन् त ? उनीहरू के–कस्तो पेसामा आबद्ध छन् ? सुपरमोडल, नर्स, धार्मिक अभियन्ता भएर पनि आफ्ना श्रीमान्लाई सफल बनाउन भूमिका खेल्ने फरक–फरक देशका फर्स्ट लेडी :

१. मेलानिया ट्रम्प, अमेरिका


मेलानिया ट्रम्प अमेरिकाकी प्रथम महिला हुन् । स्लोभेनियामा जन्मिएकी मेलानिया मिलान र पेरिसमा मोडलिङ गरेपछि सन् १९९६ मा न्युयोर्क आएकी थिइन् । न्युयोर्क आएको छोटो समयमै यी सुपर मोडल डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको मोडलिङ कम्पनीसँग जोडिइन् । त्यसपछि ट्रम्पसँग अफेयर सुरु भयो र सन् २००५ मा उनीहरूले विवाह गरे । विवादास्पद अभिव्यक्तिका कारण ट्रम्प चर्चामा आउने गरे पनि मेलानिया संयमित छिन् । उनी समाजसेवामा रुचि राख्छिन् ।

२. पेङ लियुआन, चीन

चिनियाँ राष्ट्रपति सी जिनपिङकी श्रीमती पेङ लियुआन लोकगायिका हुन् । सन् २०१२ देखि ०१७ सम्म उनी जनमुक्ति सेनाको आर्ट एकेडेमीकी अध्यक्ष थिइन् । आफ्नो सहयोगी र उदार मनका कारण पेङ लोकप्रिय छिन् । अन्तर्राष्ट्रिय मिडियाहरूले पूर्वबेलायती राजकुमारी डायना र अहिलेकी बेलायती राजकुमारी केट मिडिलटनसँग उनको तुलना गर्छन् । गायनसँगै पिङले चिनियाँ सेनामा मेजर जनरलको जिम्मेवारी पनि सम्हाल्दै आएकी छिन् । सन् २०११ मा उनी क्षयरोग र एचआइभी एड्सविरुद्धको अभियानका लागि विश्व स्वास्थ्य संगठनको ब्रान्ड एम्बेसडर बनेकी थिइन् । महिला शिक्षाको प्रवद्र्धन गर्न पनि उनले विशेष जोड दिँदै आएकी छिन् । विदेशमा औपचारिक कार्यक्रममा सरिक हुँदा पिङको फेसन स्टाइलले अन्तर्राष्ट्रिय मिडियामा राम्रो स्पेस पाउने गरेको छ ।

 ३. ब्रिगिटी माक्रोन, फ्रान्स

फ्रान्सका राष्ट्रपति इम्मानुयल माक्रोन युवा छन् । ४० वर्षीय माक्रोनबाट देशले ठूलो अपेक्षा गरेको छ । फ्रान्सकी प्रथम महिला ब्रिगिटी माक्रोन भने ६५ वर्षकी भइसकिन् । आफूभन्दा २५ वर्ष कान्छा युवासँगको ब्रिगिटीको प्रेमसम्बन्ध रोचक छ । पूर्वपति आन्द्रे लुइससँगको ३२ वर्षे लामो सम्बन्ध तोडिएको एक वर्षपछि सन् २००६ मा ब्रिगिटीले इम्मानुयलसँग विवाह गरेकी थिइन् । पूर्वपतिका तीन छोरी अहिले ब्रिगिटीसँग छन् । ९० को दशकमा इम्मानुयल पढ्ने स्कुलमा ब्रिगिटीले पढाउँथिन् । त्यहीक्रममा शिक्षिका र विद्यार्थीको प्रेम बस्यो ।

४. बुस्रा बिबी, पाकिस्तान

पाकिस्तानी मिडियाहरू दुई महिलालाई फस्र्ट लेडीका रूपमा सम्बोधन गर्छन् । राष्ट्रपति आरिफ अल्भीकी श्रीमती सामिना अल्भी र प्रधानमन्त्री इमरान खानकी पत्नी बुस्रा मानेका बिबी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान कार्यकारी पदमा भएका कारण पनि उनकी पत्नी बुस्रा बिबीको चर्चा धेरै हुन्छ । खाबर नेकासँगको ३० वर्षे वैवाहिक सम्बन्धलाई गत वर्ष पूर्णविराम लगाएपछि यसै वर्ष बिबीले इमरानसँग विवाह गरेकी हुन् । पहिलो श्रीमान्तर्फबाट उनका तीन छोरी र दुई छोरा छन् । ५० वर्षीया बिबीको धर्मकर्ममा धेरै रुचि छ । उनी धार्मिक प्रवचन दिने तथा पुस्तकहरूको प्रवद्र्धन गर्ने गर्छिन् ।

५. री सोल जु, उत्तर कोरिया

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी श्रीमतीबारे देशभित्र कमै मात्र समाचार बन्छन् । तर, अन्तर्राष्ट्रिय मिडियाले किमकी श्रीमतीका विषयमा धेरै खोजी गर्ने गरेको थियो । यसै वर्ष मार्च २८ मा किमको चीन भ्रमणका क्रममा री सोल आकर्षणको पात्र बनेकी थिइन् । उनले आफ्ना श्रीमान्सँगै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गरेकी थिइन् । अप्रिलमा दक्षिण कोरिया र उत्तर कोरियाबीचको वार्ताका दौरान री सोल जु पनि उपस्थित थिइन् । उनलाई उत्तर कोरियाकी ‘सम्मानित प्रथम महिला’ भनेर सरकारी सञ्चारमाध्यमले पहिलोपटक सम्बोधन गरेको थियो । यस्तो दुर्लभै मात्र हुन्छ । सन् १९७४ पछि अन्य समयमा प्रथम महिलालाई पनि कमरेड भनेर सम्बोधन गर्ने गरिएको थियो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार जु तीन छोराछोरीकी आमा हुन् ।

६. सोफी ग्रिगोइरे, क्यानेडा

क्यानडेली राष्ट्रपति जस्टिन ट्रूडियुकी श्रीमती सोफी कुनै समय टेलिभिजन प्रस्तोता थिइन् । ४३ वर्षकी सोफी अहिले समाजसेवामा सक्रिय छिन् । उनी विभिन्न कार्यक्रम होस्ट पनि गर्छिन् । गैरसरकारी संस्थाले गर्ने विभिन्न काममा स्वयंसेवककका रूपमा सहभागी हुन्छिन् । महिला र बालबालिकाका मुद्दामा उनको चासो धेरै रहन्छ । – नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस