माडीको विकासको लागि मेरो अन्तिम लडाइँ चल्यो : ढकाल

सफल खबर संवाददाता

शनिबार, ०५ माघ २०७५, १५ : ४५
माडीको विकासको लागि मेरो अन्तिम लडाइँ चल्यो : ढकाल

चितवनको माडी क्षेत्र (माडी नगरपालिका) वर्षौंदेखि भौतिक विकास र सहज जीवनयापनको पर्खाइमा रहेको छ । माडी क्षेत्र धार्मिक, ऐतिहासिक, आधुनिक कृषि र पर्यटकीय हिसाबले अग्रस्थानमा भएपनि विकासमा माडीले खासै फड्को मार्न सकिरहेको छैन । पूर्व–पश्चिम राजमार्गको भरतपुरबाट दक्षिणतर्फ झन्डै ३६ किमी पर माडी क्षेत्र सुरू हुन्छ । 
चितवनको दक्षिण भेगमा भारतसँग सिमाना जोडिएर रहेको माडी क्षेत्रको कुल क्षेत्रफल (समुन्द्र सतहबाट १४४ मिटरदेखि १९४७ मिटरसम्म) २३८.५५ वर्ग किमी रहेको छ । माडीको भौगोलिक अवस्थिति, ऐतिहासिक दस्तावेज तथा प्राकृतिक श्रोत र साधन अझै राज्यको चासोको विषय बन्न सकेको छैन ।
२०२३ सालमा चितवनलाई २२ पञ्चायतबाट ४२ पञ्चायत बनाउने क्रममा अयोध्यापुरी, कल्याणपुर र ठोरी पञ्चायत थप गरी पाँच पञ्चायतको माडी क्षेत्र थियो । तर, २०३४÷०३५ सालमा सीमा पुनर्गठन समिति (२०३२) ले ठोरीलाई पर्सामा गाभेपछि माडी हालको आकारमा आएको हो । चार गाविस ओगटेर रहेको यस क्षेत्र अहिले माडी नगरपालिका भएको छ ।  
माडी नगरपालिका साविकका बघौडा, गर्दी, कल्याणपुर र अयोध्यापुरी गाविसहरू मिलेर बनेको हो । राष्ट्रिय जनगणना २०६८ अनुसार यी ४ गाविसहरूको जनसंख्यालाई जोड्दा माडी नगरपालिकाको कूल जनसंख्या ३९ हजार ४३८ हुन्छ । अहिले माडीको जनसंख्या ४५ हजार माथि छ । 
माडी अझै पनि समस्यामा छ । आन्तरिक उपनिवेशजस्तो ठूलो सास्तीका वीच माडीवासीले जीवन गुजारिरहेको छ । चारतिर जंगल भएका कारण वन्यजन्तुको पटकपटक शिकार माडी नै भइरहेको छ । लामो समयसम्म माडीका धेरै समस्याहरु समाधान नहुँदा माडी नगरपालिका प्रमुख ठाकुर ढकालले आमरण अनसन बस्नेसमेत उद्घोष गरेका छन् । माडीकै विषयमा आज भएको पत्रकार सम्मेलनमा नगर प्रमुख ढकालले आफ्नो यस्तो धारणा प्रस्तुत गरे :
 
तल्काल मेरो अनशन स्थगित 
केन्द्र सरकारले माडीलाई नजिकबाट हेरेको छैन । माडीका समस्याहरु लामो समयसम्म समाधान नहुँदा मैले माघ १६ गतेदेखि अनसन बस्ने घोषणा गरेको हुँ । राष्ट्रिय निकुञ्ज ऐन २०२९ र मध्यवर्ती नियमावली २०५३ र २०५६ संशोधन हुन नसक्दा, माडीका विकास निर्माणका कार्यहरु अगाडि नबढ्दा, माडी इको नगरपालिका नहुँदा, भूमिहीन जनताले जग्गा नपाउँदा अनशन बस्ने घोषणा गरेको हुँ । तर मैले प्रधानमन्त्रीलाई भेटेपछि अनशन बस्ने कार्यक्रम तत्काल स्थगित गरेको छु । 
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता अमिक शेरचन, वनमन्त्री शक्तिबहादुर बस्नेत, प्रदेश ३ का अध्यक्ष नारायण दाहाल, केन्द्रीय सदस्य ईश्वरी भट्टराई, पूर्व शिक्षामन्त्री डीआर पौडेल, राष्ट्रिय सभा सदस्य पार्वती रावल र मलगायतको टोलीले माघ ४ गते प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीलाई भेटेपछि मैले आफ्नो अनशन कार्यक्रम तत्काल स्थगित गरेको हुँ । 
माडीको समस्या प्रधानमन्त्रीलाई सुनाएपछि उहाँ अत्यन्तै सकारात्मक हुनुभयो । प्रधानमन्त्रीज्यूले माडीको समस्या समाधानको लागि आफू विदेश भ्रमणबाट फर्केर आएलगत्तै मन्त्रिपरिषद् बैठकबाट निर्णय गराउँछु भन्नुभयो । माडीका धेरै समस्याहरु मन्त्रिपरिषद्को बैठकबाट निर्णय हुनुपर्ने खालका छन् । 
प्रधानमन्त्रीज्यूले माडीमा रोकिएका विकास निर्माणका कामहरु तत्काल अगाडि बढाउने र निकुञ्ज ऐनका कारण सृजित समस्या समाधानको लागि आवश्यक निर्णय लिने प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्रीज्यूले प्रतिबद्धता जनाउँदाजनाउँदै मैले अनशन बस्न त्यति उचित लागेन । प्रधानमन्त्री विदेशबाट आएपछि पनि समस्या समाधानको लागि पहल भएन, माग समाधानको लागि विलम्ब भएमा माडीवासीको नेतृत्व गर्दै तत्काल अनशन बस्नेछु, तर हाललाई स्थगित गरेको छु । 

निकुञ्ज ऐन नै माडीको मुख्य समस्या 
निकुञ्ज ऐन २०२९ नै माडीको मुख्य समस्या हो । पहिला ऐन संशोधन गर्नुपर्छ । मध्यवर्ती नियमावली २०५३ र २०५६ पनि संशोधन हुन जरुरी छ । मध्यवर्ती क्षेत्रका जनताको जनधनको सुरक्षाका लागि राष्ट्रिय निकुञ्ज विभाग वन मन्त्रालयले कुनै पनि चासो नदेखाएका कारण यसै वर्षको बजेटबाट सुरुवात हुने गरी पाण्डवनगरदेखि बगहीसम्म ५ फुट अग्लो कंक्रिट वालसहित ड्याम निर्माण गर्नुपर्छ । 
माडीलाई नगरपालिका घोषणा गर्दा इको नगरपालिकाका रुपमा चित्रण गरियो तर अझसम्म पनि आधिकारिक रुपमा इको नगरपालिका भएको छैन, यसलाई इको नगरपालिका बनाउनुपर्ने माग माडीवासीको छ । 
निकुञ्जका जनावरबाट जनताको बालीनालीमा नोक्शान पुगेमा शत्प्रतिशत क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिएको छ । समस्या माडीका अनगिन्ती छन्, नगरपालिकाबाट सम्भव छैन, त्यसैले त हामीले केन्द्र सरकार गुहारेका छौँ । 
निकुञ्जमा जमिनमुनि गाडिएको तारबाट माडी नगरपालिकामा विद्युतीकरण गरिएकोमा सो जमिनमुनिको केवल कमजोर भएको हुँदा बेलाबेलामा फल्ट हुने र सोको मर्मतको लागि लामो समय तथा झन्झट व्यहोर्नुपर्ने भएकाले जमिन माथि नै केवल टाँगी विद्युत् ल्याउने व्यवस्था गर्न माग गरेका छौँ । मध्यवर्ती क्षेत्रभित्रका ऐलानी, परति, खोला खिष्ट, बगर, सिमसार क्षेत्रको संरक्षण सम्वद्र्धन र आवश्यक निर्णयको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिनुपर्छ । 

इआईएका कारणले विकासमा ढिला 
माडी नगरपालिकाभित्र टेन्डर भैसकेर पनि इआईएका कारण देखाउँदै कतिपय विकास निर्माणका कामहरु अगाडि बढेका छैनन् । ईआइएका कारण गोलाकाघाटको पुल बनेको छैन । ईआईएका कारणले माडी ठोरी हुलाकी सडक अगाडि बढेन । माडीका कति पुलहरु ईआईएका कारणले निर्माण हुन सकेको छैनन् । पहिला ईआईए नचाहिने, अहिले ईआईएका कारणले माडीको विकास रोक्ने ? यो किन भइरहेको छ ? त्यसैले सम्पूर्ण माडीवासीले ईआईएका कारणले विकास अगाडि बढ्न नसकेको महसुुस गरेका छन् । 

मेरो जीवन माडीकै विकासमा समर्पित 
म अहिले माडी नगरप्रमुख हो । भोलि मेरो कार्यकाल सकिए पनि म माडीकै विकासमा समर्पित हुने हो । माडीको विकासको लागि मेरो यो अन्तिम लडाइँ हो । म मेरो लडाइँ जितेर छोड्छु । प्रधानमन्त्रीज्यूबाट माडीको समस्याहरु समाधान नभए माडीवासीकै नेतृत्व गर्दै आमरण अनसन बस्नेछु । माडीवासीको समस्या समाधान गर्दै समृद्ध माडीको नेतृत्व गर्न माडीवासीहरुले मलाई नेतृत्व गर्ने अवसर दिएका छन्, त्यसलाई म साकार पार्न निरन्तर लाग्नेछु । 

प्रतिक्रिया दिनुहोस