डा. बाबुराम भट्टराई भन्छन्,– देशलाई जोगाउन १८ वर्ष पुगेका सबै नेपालीलाई सैन्य तालिम दिनुपर्छ

सफल खबर संवाददाता

सोमबार, ३० पुस २०७५, १७ : ३५
डा. बाबुराम भट्टराई भन्छन्,– देशलाई जोगाउन १८ वर्ष पुगेका सबै नेपालीलाई सैन्य तालिम दिनुपर्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले १८ वर्ष पुगेका सबै नेपालीलाई सैन्य तालिम दिनुपर्ने बताएका छन् । 

राजधानीमा सोमबार आयोजित ‘नेपालको भूराजनैतिक महत्त्व र शक्ति राष्ट्रहरूको बढ्दो चासो’ विषयक अन्तर्क्रियामा बोल्दै डा. भट्टराईले शक्ति राष्ट्रहरुको चपेटाबाट मुलुकलाई जोगाउन पनि  सबै नागरिकलाई सैन्य तालिम दिनुपर्ने प्रस्ताव अघि सारेका हुन् । 

उनले अमेरिका, चीन, भारतलगायतका शक्ति राष्ट्रहरुले नेपाललाई गोटी बनाउन सक्ने उल्लेख गर्दै त्यसबाट सचेत रहन पनि १८ वर्ष उमेर पुगेका हरेक नागरिकलाई सैन्य तालिम दिन उपयुक्त हुने तर्क गरे । 

डा. भट्टराईले बाह्य शक्तिबाट बच्न सेना र हातहतियारमा खर्च गर्नु भन्दा मिलिसिया तालिम सञ्चालन गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘सेनामा लगानी गर्नुभन्दा जनतामा लगानी गरेर देशलाई बाह्य आक्रमणबाट जोगाउन सकिन्छ ।’ उनले नेपालले कुनै पनि राष्ट्रसँग आक्रमण गर्नुभन्दा शान्ति क्षेत्र कायम राखेर अघि बढने प्रस्ताव राख्नुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस