भ्रमण वर्षका संयोजक वैद्यको ठोकुवा : २० लाख पर्यटक ल्याउन सक्छौँ

सफल खबर संवाददाता

आइतबार, २९ पुस २०७५, १६ : ५३
भ्रमण वर्षका संयोजक वैद्यको ठोकुवा : २० लाख पर्यटक ल्याउन सक्छौँ

चितवन । नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले नेपालमा २० लाख पर्यटक ल्याउन सकिने बताउनुभएको छ । 
चितवन महोत्सवको अवसरमा गरिएको पर्यटन क्षेत्रको सम्भावना र विकासको लागि गरिएको गोष्ठीमा प्रमुख अतिथि संयोजक वैद्यले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । भ्रमण वर्षका संयोजक वैद्यले पर्यटन क्षेत्रमा लगानी कम भइरहेको हुनाले सरकारले २०१९ लाई पर्यटन लगानी वर्ष घोषणा गरेको बताउनुभयो । 
गोष्ठीमा उहाँले भन्नुभयो, ‘रामायण सर्किट सुरु भएको छ, जसले नेपालको थोरै भाग छुन्छ, हाम्रो देश नेपालले पनि शिवशक्ति पीठहरुलाई जोडेर शिवशक्ति सर्किट खोल्न सक्छौँ, जसबाट धार्मिक पर्यटनको विकास हुन्छ ।’ गोष्ठीमा उहाँले नेपाललाई वैवाहिक गन्तव्य बनाउन सकिने अर्को सुझाव पनि दिनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल घुम्न आउनेमा ८० प्रतिशत युवाहरु छन्, चाइनाबाट सबैभन्दा धेरै युवाहरु घुम्न आउँछन् । यति धेरै युवा पर्यटकहरु आउने यो देशलाई वैवाहिक गन्तव्य (वोइडिङ डेष्टिनेशन) बनाउन सकिन्छ ।’

एयरपोर्टभित्र विभिन्न विज्ञापनहरुको तस्बिर राखिएको छ, तर नेपाल झल्कने तस्बिरहरु नराखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले काठमाडौँ विमानस्थललाई बुटिक स्थल बनाउन लगाउनुभएको छ, त्यस्तै अन्य विमानस्थललाई पनि एउटा कुनै कुनै नेपालीपन झल्कने विशेषताको विमानस्थल बनाउने थालनी अब हुनुपर्छ ।’
संयोजक वैद्यले भन्नुभयो, ‘२०२० मा पर्यटन क्षेत्रको लिडरसिप चितवनले पनि लिन सक्छ, यहाँ पर्यटकीय थुप्रै गन्तव्यहरु छन्, तर लगानी पुगिरहेको छैन ।’ उहाँले सरकारले २०१९ लाई लगानी वर्ष घोषणा गरेको हुनाले निजी क्षेत्रलाई पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । 
उहाँले लगानीको लागि निजी क्षेत्रलाई जग्गाको अभाव भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नारायणगढमा केही गर्न प¥यो, जग्गा चाहियो भने हातको एक करोड पर्छ, अनि निजी क्षेत्रले लगानी गर्न सक्छ ? त्यति महँगोमा जग्गा किनेर व्यवसायीले नातिको पालासम्म पनि लगानी उठाउन सक्दैन ।’ सरकारले निजी क्षेत्रलाई जग्गा उपलव्ध गराउनुपर्ने उहाँको भनाइ थियो । 
उहाँले निजी क्षेत्रले सरकारको मात्र मुख ताकेर बस्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘निजी क्षेत्रले पनि केही गर्नैपर्छ ।’ उहाँले पर्यटन क्षेत्रको बजेट खर्च हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सात प्रदेशमा कूल १० अर्ब बजेट पर्यटन क्षेत्रमा छुट्टाइएको छ, तर खर्च हुन सकेको छैन ।’

चितवन महोत्सवका मूल संयोजक सहनलाल प्रधानको अध्यक्षतामा भएको गोष्ठीमा पर्यटनविद् विश्वराज सुवेदी र रामचन्द्र सेढाईंले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गोष्ठीमा पर्यटन क्षेत्रमा लामो समयसम्म योगदान दिएका गिरीधारी चौधरी र इन्द्रबहादुर केशीलाई सम्मान गरिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस