- उमेश चाैहान
केही समयअघि, साँझपख नेपाल टेलिभिजनबाट करिअर क्विज शीर्षकमा हाजिरीजवाफ प्रतियोगिता प्रसारण भइरहेको थियो । काठमाडौंका एकसे एक प्रतिष्ठित कलेजका विद्यार्थी अंकतालिकाको शीर्ष स्थानमा पुग्न प्रतिस्पर्धा गरिरहेका थिए ।
यहीबीच क्विज मास्टरले स्क्रिनमा विश्वप्रसिद्ध एक साहित्यकारको तस्बिर देखाउँदै सोधे– यी व्यक्ति कुन देशका हुन् ? प्रश्न पूरा हुन नपाउँदै विद्यार्थीले जवाफ दिए, ‘यो तस्बिर महान् नाटककार सेक्सपियरको हो, उनी बेलायती नागरिक हुन् ।’ क्विज
मास्टरले सही जवाफ भन्नासाथ तालीको गडगडाहटले स्टुडियो गुन्जियो । लगत्तै प्रतिस्पर्धीहरूलाई एउटा भिडियो फुटेज देखाएर क्विज मास्टरले प्रश्न सोधे, ‘भन्नोस्, यो भिडियो कुन फिल्मको हो ?’
अघिकै शैलीमा विद्यार्थीले तुरुन्तै जवाफ दिए, ‘पेनगुइन अफ मदगस्कर ।’ सही जवाफ भन्नासाथ स्टुडियो फेरि तालीले गुन्जायमान भयो । तस्बिर र भिडियोपछि अबको प्रश्न अडियो संवादमा आधारित थियो ।
सही जवाफ दिए २० अंक पाउने मात्र होइन, गलत भए माइनस २० हुनेछ भनेर सचेत गराउँदै क्विज मास्टरले अडियो क्लिप बजाए, एकजना पत्रकार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अन्तर्वार्ता लिइरहेका थिए । पत्रकारको प्रश्न थियो, ‘जनताले आफ्नो संविधान आफैँ बनाउने भनेर गफ दिने तपाईं बाबुरामजी ?
तपाईं दलका नेताहरू कोठा–कोठामा बसेर संविधान बनाएर संविधानसभाबाट पारित गराउने अनि जनताको गफ दिन तपाईंहरूलाई अलिकति पनि लाज लाग्दैन ? तपाईंहरूलाई धिक्कार किन नभन्ने ?’ अब विद्यार्थीलाई प्रश्न थियो, ‘देशका ३५औँ प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अन्तर्वार्ता लिने यी पत्रकार को हुन् ?’
जोश र आत्मविश्वासका साथ विद्यार्थीले तुरुन्तै जवाफ दिए, ‘ऋषि धमला ।’ तर, दुर्भाग्य, क्विज मास्टरले यसपालि भने, ‘गलत जवाफ ।’ स्टुडियोमा सन्नाटा छायो । अंक तालिकामा शीर्ष स्थानमा रहेको समूहले गलत जवाफ दिएर नम्बर घटायो । क्विज मास्टरले अर्को समूहलाई मौका दिए ।
दुर्भाग्य, दोस्रो समूहले पनि जवाफ दियो, ‘खोइ, सुन्दा त ऋषि धमलाजस्तै लाग्छ ।’ दोस्रो समूहको पनि २० अंक घटाएर निराश हुँदै क्विज मास्टरले भने, ‘सही जवाफ हो– बिबिसी नेपाली सेवाका तत्कालीन प्रमुख तथा वरिष्ठ पत्रकार रवीन्द्र मिश्र ।’ स्टुडियो स्तब्ध भयो ।
चार सय वर्षअघिका बेलायती नाटककार शेक्सपियरको तस्बिर र एनिमेटेड मुभि ‘पेनगुइन अफ मदगस्कर’को फुटेज चिन्ने विद्यार्थीले हाम्रै देशका एक प्रभावशाली पत्रकारलाई चिनेनन्, त्यो नरमाइलो हो, तर अनौठो होइन ।
आफैँले फकाइफुल्याई बोल्न तयार पारेका अतिथिलाई प्रश्न सोध्ने वेलामा पत्रकारले ‘तपाईंलाई लाज लाग्दैन ? तपाईंलाई घिन लाग्दैन ? तपाईंलाई धिक्कार किन नभन्ने ? तपाईंको तमासा कतिन्जेल हेर्ने ?’ भनेर एकै शैलीको प्रश्न सोध्छन् भने श्रोता र दर्शकले ऋषि धमला र रवीन्द्र मिश्रको डिएनए केको आधारमा छुट्याउने ?
नेपालकी राष्ट्रपति विद्या भण्डारीलाई क्रोयसियाकी राष्ट्रपति कोलिन्डा ग्राबरजस्तै र नेपालका प्रधानमन्त्री केपी ओलीलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानजस्तै किन नभएको भनेर सोध्ने नेपाली पत्रकार आफैँले बिबिसी हार्ड टकका स्टेफेन स्याकर वा सिएनएनकी क्रिस्टिना अमनपअरले जस्तै सभ्य भाषामा जटिल प्रश्न सोध्न किन सिकेनन् ?
अन्तर्वार्ताका नाममा अतिथिलाई चिथोर्ने, कोपर्ने र घायल बनाउने पत्रकार नै अब्बल मानिएकाले त्यस्तो प्रवृत्ति संक्रामक रूपमा नयाँ पुस्तामा पनि महामारीजस्तै फैलिएको छ ।
आफूसँग विचार, शैली र स्वभाव नमिल्नेलाई हुर्मत लिने, दुर्व्यवहार गर्ने र नांगेझार पार्ने प्रवृत्तिले कुनै पनि परपीडक समाजलाई आत्मरति दिन सक्छ, तर सभ्य, सुुसंस्कृत र रचनात्मक उदाहरण स्थापित गर्न सक्दैन । रवीन्द्र मिश्रको नेतृत्वमा गठन र एकीकरण भएको दलले सकारात्मक लहर सिर्जना गर्न नसक्नुको आधारभूत कारण यही हो ।
राजनीतिशास्त्र भन्छ– सत्ता र प्रतिपक्षले मात्र राज्य अपुरो हुन्छ । हरेक समाजमा दबाब समूह हुनुपर्छ जसले राज्यको अभिन्न अंगका रूपमा संस्थापनको खबरदारी गर्छ र जनपक्षीय निर्णय गर्न बाध्य बनाउँछ ।
भारतमा महात्मा गन्धी, अमेरिकामा मार्टिन लुथर किङ जुनियर र पाकिस्तानमा मलाला युसुफ जाईले दबाब समूहको अगुवाका रूपमा बनाएको इतिहास संसारको कुनै पनि सांसद वा मन्त्रीले बराबरी गर्न सक्दैन । तर, हाम्रो समाजमा दुई–चारजना प्रशंसकले सेल्फीको अफर गर्नासाथ दलकै दुकान खोल्नुपर्ने अनौठो संक्रमण फैलिएको छ ।
वैकल्पिक राजनीतिको प्रसंगमा दिल्लीमा अरविन्द केजरीवालले पाएको सफलताले धेरैलाई रोमाञ्चित बनाउँछ । उनको समग्र राजनीतिक जीवन असफल पनि हुन सक्छ, तर उनले अहिलेसम्म प्राप्त गरेको उपलब्धि नाटकीय वरदान होइन ।
हामीले बिर्सनै नहुने तथ्य के हो भने अरविन्द केजरीवाल भ्रष्टाचारीलाई किरा परोस् भनेर जप गर्ने साधु होइनन्, भ्रष्टाचारीलाई जेल पठाउने लडाकु अभियन्ता हुन् ।
केजरीवालले सन् २००० देखि लगातार १३ वर्षसम्म कुनै राजनीतिक व्यानरविना भ्रष्टाचारविरुद्ध अभियान चलाएका थिए । परिवर्तन नामक उनको संस्थाले सूचनाको हकसम्बन्धी कानुन प्रयोग गरेर एकपछि अर्को ६४ वटा परियोजनाको भ्रष्टाचार पर्दाफास गरेको थियो ।
चरम गरिबीको चपेटामा परेका झुग्गी–झुपडीका जनताका नाममा आएको बजेटमा भएको भ्रष्टाचारविरुद्धको संघर्षले नै उनलाई एउटा नायकका रूपमा स्थापित गराएको हो । फेरि वैकल्पिक राजनीति भनेका संसारभरि सामाजिक न्यायको आन्दोलन हो ।
झुग्गी–झुपडीका जनतालाई दयाको पात्र बनाउन होइन, उनीहरूलाई न्यायिक अधिकार दिलाउन केजरीवालले संघर्ष गरेका हुन् । सामाजिक न्यायले खान पुगोस्, दिन पुगोस् भन्ने मन्त्रलाई अस्वीकार गर्दछ ।
दिन पुगोस् भन्ने मन्त्रले आफू दिने हैसियतमा भइयोस् र अरू कोही हात थाप्ने विवशतामा परिरहोस् भन्ने कामना गरिरहेको हुन्छ । यस्तो मानवीय मूल्यविरोधी मान्यताले २१औँ शताब्दीमा वैकल्पिक राजनीतिको मार्ग खोल्न सक्दैन ।
हुन त आफ्नो विचार अभिव्यक्त गर्ने, दलको सदस्य बन्ने वा दल नै स्थापना गर्ने नागरिक अधिकार संविधानले सुनिश्चित गरेको छ । त्यसैले पूर्वपत्रकार रवीन्द्र मिश्रको नेतृत्वमा दल खुलेकोमा कसैलाई आपत्ति हुने संवैधानिक आधार छैन ।
तर, वैकल्पिक दल भनेको राजनीतिक ट्रेडमार्क भएको कुनै समूह मात्र होइन, वैकल्पिक प्रश्नहरूको संगठित अभिव्यक्ति पनि हो । प्रजातन्त्रमा दुईतिहाइ मतसहित सरकारमा रहेका प्रधानमन्त्री केपी ओलीको मात्र परीक्षा हुने होइन । प्रतिपक्षीका रूपमा कांग्रेसदेखि विवेकशील साझा दलको पनि परीक्षण निरन्तर भइरहेको छ ।
गत निर्वाचनमा विवेकशील साझाले दुई लाख १२ हजार तीन सय ६४ मत प्राप्त गरेको छ र जनताले आशापूर्वक दिएको एक–एक मतप्रतिको जवाफदेहिताबाट ऊ उन्मुक्त हुन सक्दैन । राजधानी उपत्यकामा लाखौँ खाल्डा छन्, बर्खामा हिलो र हिउँदमा धुलोले जनता प्रताडित छन्, तर प्रतिपक्षीका रूपमा विवेकशील साझाले कुन सरकारी कार्यालय घेराउ गर्यो वा कुन चोकमा प्रदर्शन गर्यो ?
एक वर्षयता अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ३४ प्रतिशत घटेको छ, तर नेपालमा पाँच प्रतिशत पनि मूल्य समायोजन भएको छैन । इन्धनमा एकाधिकार कायम गरेर उपभोक्तालाई हरेक लिटर पेट्रोलमा २९ रुपैयाँ बढी असुल्ने नेपाल आयल निगम वा आपूर्ति मन्त्रालयविरुद्ध विवेकशील साझाले कहाँ ज्ञापनपत्र दियो ?
नेपाल वायु सेवा निगमले वाइडबडी एयरबस खरिद गर्दा अनियमितता भएको विषयमा मिडियादेखि संसद्मा प्रश्न उठिरहेको छ । राष्ट्रिय सम्पत्ति प्रयोग भएको २५ अर्बको खरिद प्रक्रियामा विवेकशील साझाको अभिमत के हो, प्रश्न के हो ?
निर्मलाको बलात्कार र हत्यापछि उजागर भएको तथ्य के हो भने यो देशमा हरेक दिन पाँचजना चेली बलात्कृत भएको उजुरी प्रहरीमा पुग्छ । यस्तो जघन्य अपराधका पीडितलाई न्याय दिलाउन, दोषीलाई दण्डित गराउन र आमजनतालाई सचेत बनाउन विवेकशील साझाले के अभियान चलायो ?
‘जस्टिस फर निर्मला’को ब्यानरमा भएको प्रदर्शनको बीचमा फ्याट्ट पार्टीको झन्डा देखाउनुुबाहेक विवेकशील साझाले आफ्नै विवेकले सार्थक कदम के चाल्यो ?किनकि, जनपक्षीय राजनीति गर्नु भनेको पण्डितले पढेको मन्त्र अनुशरण गर्दै दुनो समातेर गौदान गरेको मानिने धार्मिक अनुष्ठान होइन । जनजीवनका मूल विषयमा सरकारी कार्यालय पुगेर प्रश्न र चोकमा उभिएर बहस गर्न नसक्ने हो भने वैकल्पिक राजनीतिको पैरवी गर्ने धरातल उपलब्ध हुनेछैन ।
फेरि पनि मुख्य प्रश्न के हो भने वैकल्पिक राजनीतिको नाममा दलको साइनबोर्ड मात्र फरक हो कि संस्कार पनि ? विवेकशील साझाबाट छुट्टिएको समूहले नै उठाएको यो प्रश्न सबैभन्दा गम्भीर छ ।
रवीन्द्र मिश्रकै हैसियतमा रहेका संयोजक उज्ज्वल थापाले देशभरि घुमेर कार्यकर्ताबाट संकलित सुझाब लिपिबद्ध गरेर केन्द्रीय सदस्यहरूलाई वितरण गर्दै अध्ययन गर्न र दृष्टिकोण बनाउन आग्रह गरेको समाचार आएको थियो ।
तर, सो प्रतिवेदनमा छलफल गर्नुअघि नै रवीन्द्र मिश्रको नेतृत्वमा संयोजन समितिले पार्टीका सम्पूर्ण विभाग विघटन गर्दै पाँच केन्द्रीय सदस्य थपेर पार्टीमा आफ्नो बहुमत सुरक्षित गर्ने बाटो अख्तियार गर्यो । पार्टी भनेको फरक मतहरूको सम्मान र व्यवस्थापन गर्ने मञ्च हो ।
तर, सहकर्मी युवाहरूको फरक मतलाई सम्बोधन गर्नुअघि नै सदस्यहरू थप–घट गरेर बहुमत सुरक्षित गर्ने प्रवृत्ति विकृत संसदीय राजनीतिमा पनि बिरलै देख्न पाइने घटना हो । परम्परागत भनिएको कांग्रेसमा गगन थापा र प्रदीप पौडेलहरूले तथा नेकपामा घनश्याम भुसाल र योगेश भट्टराईहरूले जमेर नेतृत्वको आलोचना गर्न पाएका छन् ।
आजको वैकल्पिक राजनीतिले कम्तीमा पनि ओली, प्रचण्ड वा देउवाको जति सहिष्णुता अपेक्षा गर्दछ । उज्ज्वल, सुवुना, रन्जु र मिलनहरूसँग रवीन्द्र मिश्रको बिछोड संसदीय राजनीतिको नियमित परिघटना होइन ।
किनकि इतिहासका हरेक घडीमा, हरेक सत्ताको विकल्प खोज्ने क्षमता संसारका हरेक समाजको गर्भमा हुर्किरहेको हुन्छ । समाजलाई उज्यालोतर्फ डोर्याउने आशाको त्यो दियो कुनै समूह वा व्यक्तिविशेषको पेवा होइन, सारा नागरिकको सम्पत्ति हो ।
तर, दुर्भाग्य, विवेकशील साझाका नाममा मञ्चन भएको राजनीतिक परिघटनाले दियोवरिपरि अवाञ्छनीय तुफान ल्याउने र वैकल्पिक राजनीतिको सम्भावनालाई धमिलो बनाउने काम भएको छ ।
विचार, व्यवहार र संस्कारमा वैकल्पिक भनिएको विवेकशील साझा परम्परागत भनिएका शक्तिभन्दा कति भिन्न बनेको छ, जोख्ने तराजु रवीन्द्र मिश्रसँगै छ, तराजुमा बसेर लेखाजोखा गर्ने प्राथमिक जिम्मेवारी उनकै हो । - यो लेख नयाँ पत्रिकाबाट लिइएको हो ।
प्रतिक्रिया दिनुहोस