युनेस्कोले तारिफ गरेको महर्जन कम्प्लेक्स वैशाखबाट

सफल खबर संवाददाता

विहीबार, २६ पुस २०७५, १७ : ५७
युनेस्कोले तारिफ गरेको महर्जन कम्प्लेक्स वैशाखबाट

काठमाडौं । राजधानीको मुटु न्युरोडमा आगामी वैशाखदेखि संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय युनेस्कोले  समेत तारिफ गरेको व्यावसायिक भवन सञ्चालनमा आउने भएको छ ।

युनेस्कोले २२ नोभेम्बर २०१७ मा प्रेषित गरेको एक पत्रमा उक्त भवनको ‘नियो क्लासिकल’ (नवपारम्परिक) स्वरुपको तारिफ गरिएको छ । युनेस्कोको पत्रमा उक्त कम्प्लेक्सलाई हनुमान ढोका गद्दी बैठकसँग मिल्दो भएको, भवन विश्व सम्पदा भन्दाबाहिर रहेको र यसमा युनेस्कोलाई कुनै आपत्ति नभएको उल्लेख छ । 

उक्त भवन ९ रेक्टर स्केलको भुइँचालो थेग्ने गरी बनाइएको यसका प्रवद्र्धक कृष्णलाल महर्जन बताउनुहुन्छ । भवनको बाहिरी स्वरूप एकदमै सम्पदामैत्री छ । भित्र अत्याधुनिक एस्कालेटर, इलेभेटर, क्पाप्सुल लिफ्ट, सेक्युरिटी र फायर फाइटिङ सिस्टम छ । कम्प्लेक्सको बनावट परम्परागत शैलीको छ । यसको बीचभागमा ४० प्रतिशत खुला ठाउँ छाडिएको छ जसले गर्दा कम्प्लेक्स भित्र अक्सिजन सहितको खुला हावा उपलव्ध हुनेछ । चारैतिर भवनले घेरिएको बीच भागमा पुग्दा सहरको कुनै परम्परागत बस्तीमा पुगेजस्तै अनुभूति हुन्छ । 

साबिकमा क्रिस्टल होटल रहेको जग्गामा बनेको देशकै पहिलो सम्पदामैत्री ‘महर्जन कम्प्लेक्स’लाई लिएर दायर मुद्दामा सर्वोच्च अदालतले कम्प्लेक्स प्रवद्र्धकको पक्षमा फैसला गरेपछि सञ्चालनको बाटो खुलेको हो । सर्वोच्चको फैसलामा उक्त कम्प्लेक्स संरक्षित स्मारक क्षेत्र (कोर जोन) भन्दा बाहिर बफर जोनमा र सोको पुष्टि नेपाल सरकार हनुमान ढोका संरक्षण संग्रहालय विकास समिति २०६७ ले प्रकाशन गरेको स्मारिका २०७५ को प्रकाशित नक्साबाट समेत थप प्रष्ट भएको उल्लेख छ । सर्वोच्चको फैसलामा उक्त कम्प्लेक्स काठमाडौं महानगरपालिकाको भवन निर्माण मापदण्ड २०७५ अनुसार भएको पनि उल्लेख गरिएको छ । 

करिब पाँच दर्जन पसल कबल रहने उक्त कम्प्लेक्समा एक हजार जनाले रोजगारी पाउने छन् । निकट भविष्यमै स्पेस बुकिङ खुला हुने प्रवद्र्धक हरुको भनाइ छ । 
 

प्रतिक्रिया दिनुहोस