डा. केसीको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

मंगलबार, २५ पुस २०७४, ०९ : ५३
डा. केसीको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । अदालतको मानहानी गरेको आरोपमा पक्राउ परेका डा. गोविन्द केसीको रिहाइको माग गर्दै माइतीघर मण्डलामा मंगलबार बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् ।

डा. केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शन गरेका हुन् । माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र लगायत अग्रपंक्तिमा देखिएका छन् । प्रहरीले सर्वोच्च अदालत वरपर कडा पहरा दिइरहेका छन् ।

पूर्वस्वास्थ्यमन्त्री गगन थापाले समेत प्रदर्शनकारीहरुलाई आफ्नो साथ रहेको घोषणा गरेका छन् । त्यसैगरी कलाकारहरु अमृत गुरुङ, गिरिश खतिवडा, निर्मल शर्मालगायत कलाकारसमेत केसीको समर्थन गर्न माइतीघरमा भेला भएका छन् ।

सर्वोच्चको आदेशबाट सोमबार राति डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । यहीबीच उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रहरीले अहिले सर्वोच्च अदालत वरपरको सुरक्षा व्यवस्था कडा बनाएको छ ।
चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा शशि शर्मालाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशपछि डा. केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै सोमबार अनसनमा बसेका थिए ।

अनसनलगत्तै सर्वोच्चले उनलाई सोमबार राति पक्राउ गरेर सिंहदरबारस्थित प्रहरी कार्यालयमा राखेको थियो । मंगलबार अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।
डा. केसीलाई अदालतमा सर्वोच्च अदालतमा उपस्थित गराइँदैछ ।

प्रतिक्रिया दिनुहोस