आर्थिक विकासको खाका कोर्न संयुक्त कार्यदल : अध्यक्ष दाहाल

सोमबार, २४ पुस २०७४, १८ : ५६
आर्थिक विकासको खाका कोर्न संयुक्त कार्यदल : अध्यक्ष दाहाल


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिको खाका कोर्न सरकार, उद्योगी–व्यवसायी र विज्ञहरु रहेको संयुक्त कार्यदल गठन गरेर अघि बढ्न सकिने बताउनु भएको छ ।

सोमबार दिउँसो नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा प्रचण्डले भन्नुभयो, ‘सरकार गठनमा केही ढिलाई भएको छ । तर, स्थिर बामपन्थी सरकार बन्छ । अबको हाम्रो मूख्य प्राथमिकता राजनीतिक स्थायित्व र आर्थिक विकास नै हो । यसका लागि हाम्रो कर्मचारी प्रशासन र ऐनहरुमा रहेका सीमाहरुको अध्ययन गरेर त्यसलाई बदल्नुपर्दछ । नीजि क्षेत्रसँगको सहकार्यमा आर्थिक विकास गर्ने हाम्रो प्रष्ट धारणा छ । सरकार गठन भएपछि सम्बन्धित मन्त्रालय, नीजि क्षेत्रका प्रतिनिधि र विज्ञहरु सम्मिलित कार्यदल बनाउने र त्यसको रिपोर्टका आधारमा आर्थिक विकासको खाका कोर्न सकिन्छ । तपाईहरु पनि त्यस दिशामा अग्रसर हुनुहोस् ।’

भेटमा हरिभक्त शर्मासहितको परिसंघको टिमले बामपन्थीहरुको बहुमतले देशमा राजनीतिक स्थिरता र आर्थिक विकास हुनेमा आफूहरु आशावादी रहेको बताउँदै नयाँ सरकारलाई नीजि क्षेत्रको पूर्ण साथ र सहयोग रहने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस