हज गर्न मक्का किन जाने ? कसरी जाने ?

सूर्यप्रकाश कँडेल

मंगलबार, ०३ पुस २०७५, १४ : ०३
हज गर्न मक्का किन जाने ? कसरी जाने ?

चितवन । मुस्लिम समुदायको पवित्र तीर्थस्थल मक्का मदीनामा हरेक वर्ष भदौ (अगस्ट) महिनामा लाखौं मुसलमान हज गर्न जान्छन् । नेपालबाट पनि बर्सेनि हजारौँको संख्यामा नेपाली मुसलमान हजका लागि मक्का मदीना पुग्छन् । आगामी भदौ महिनामा हज गर्न जानेहरुका लागि गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको सचिवालयले सूचना प्रकाशित गरी आवश्यक कागजात र प्रकृयाबारे जानकारी गराएको छ ।

सचिवालयले नेपाल सरकार, गृह मन्त्रालयको वेब साइटमा राखेको सूचना अनुसार हज गर्न मक्का जाने नेपाली मुसलमानले जिल्ला प्रशासन कार्यालयमा गई तोकिएको फारम भरेर आवेदन दिनु पर्नेछ । आवेदनको साथमा नेपाली नागरिकताको प्रमाणपत्र, एमआरपी पासपोर्ट, एक लाख २५ हजार रुपैयाँ बैंकमा जम्मा गरेको भौचर लगायतका कागजपत्र पेश गर्नु पर्नेछ । वेब साइटमा राखिएको नेपाल हज समितिको सचिवालयको सूचनामा यी सबै कुरा विस्तृत रुपमा उल्लेख छ ।

मक्काको महिमा
साउदी अरबको हेजाज प्रान्तमा पर्छ मक्का मदीना । इस्लाम धर्मका पर्वतक पैगम्बर मोहम्मदको जन्म सन् ५७१ मा मक्कामा भएको मानिन्छ । मोहम्मदले नै मूर्तिपूजाको विरोध गर्दै कुरान पाठको परम्परा बसालेको धार्मिक विश्वास छ । सन् ६२२ मा मोहम्मदले मक्का छाडेर मदीना पुगेको बताइन्छ । सच्चा मुसलमानले आफ्नो जीवनकालमा एक पटक मक्का मदीना जानु पर्ने प्रावधानको कारण मुस्लिम समुदायका मानिसहरु हज गर्न हरेक वर्ष मक्का मदीना पुग्छन् । मुसलमानहरु मक्का मदीनालाई पवित्र तीर्थस्थल र स्वर्ग (जन्नत) जाने बाटोको रुपमा लिन्छन् । मक्का मदीनमा मुस्लिमबाहेक अन्य धर्मावलम्बीलाई प्रवेश निषेध गरिएको छ ।

यसकारण गर्नु पर्छ हज
इमान, नमाज, रमजान, जकात र हज इस्लाम धर्मका पाँच स्तम्भ हुन् । मोहम्मदमाथि विश्वास र अल्लाहबाहेक कसैको पूजा नगर्नु नै इमान हो । हरेक मुसलमानले दिनमा पाँच पटक नमाज (धार्मिक ग्रन्थ) पाठ गर्नु पर्छ । हरेक मुस्लिमले रमजान महिनामा रोजा व्रत लिनु पर्छ । रोजा व्रत लिएको बेला सूर्योदयदेखि सूर्यास्तको समयसम्म मुखमा अन्न र पानी राख्नु हुँदैन । आफ्नो कमाईको साढे दुई प्रतिशत रकम धार्मिक कार्यको लागि दान गर्नु नै जकात हो । हरेक मुसलमानले आफ्नो जीवनकालमा एक पटक मक्कामा पुगेर हज गर्नुलाई इस्लाम धर्मको पाँचौं स्तम्भ मानिएको छ । त्यसैले मुस्लिम धर्म मान्नेहरु हज गर्न मक्का मदीना पुग्ने गर्छन् । अघिल्लो वर्ष (सन् २०१८) विश्वभरबाट १९ लाख ६६ हजार चार सय जना मुसलमान हज गर्न मक्का मदीना पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस