खिचरा महोत्सवमा दस करोडको कारोबार हुने अपेक्षा

शनिबार, २२ पुस २०७४, १४ : १८
खिचरा महोत्सवमा दस करोडको कारोबार हुने अपेक्षा

चितवन । खैरहनी नगरपालिका वडा नम्बर पाँच, गौचरनमा पुस २८ देखि माघ ८ गतेसम्म आयोजना हुन गइरहेको पाँचौं खिचरा महोत्सवमा दस करोड रुपैयाँको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ ।
महोत्सवबारे जानकारी दिन शनिबार खैरहनीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । महोत्सवका आर्थिक उपसमिति संयोजक सञ्जय चौधरीले महोत्सवबाट ६० लाख आम्दानी हुने, महोत्सव आयोजनामा ४० लाख खर्च हुने र दुई लाख दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको बताए ।
थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ७ ले आयोजना गर्न लागेको खिचरा महोत्सवको संरक्षकमा खैरहनी नगरपालिका रहेको छ । महोत्सवको मुख्य प्रायोजक युनाइटेड वेभरेज प्रा.लि., प्रयोजक सुपा देउराली, सहप्रायोजकमा पीसी सप्लायर्स र अर्ना बियर रहेका छन् ।
महोत्सवका संयोजक नारायणप्रसाद महतोले यसपटक महोत्सवमा पाँच फिट अग्लो घोंगी र चिचरको मुर्ती प्रमुख आर्कषणका रुपमा राखिने बताए । उनले महोत्सवबाट बचत रकम थारु संग्रहालय, ईलाइब्रेरी र  सभाहल निर्माणमा खर्च गरिने बताए । अतिथि सत्कार उपसमिति संयोजक चन्द्रकुमारी चौधरीले महोत्सवको उद्घाटन भूमिसुधार मन्त्री डा. गोपाल दहितले गर्ने कार्यक्रम तय भएको बताइन् ।
महोत्सवका प्रचार प्रसार उपसमिति संयोजक कारी महतोले विभिन्न प्रतियोगितामा चार लाख तीन हजार रुपैयाँ खर्च हुने जानकारी दिए । २ सय वटा स्टल रहने महोत्सवमा कृषि उपज, हस्तकला, भलिबल, हाजिरीजवाफ, वक्तृत्वकला, दौड र सेल्फी फोटो प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
महोत्सव आयोजक मूल समिति संयोजक महतोको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष गुणराज श्रेष्ठ, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस