- ज्ञान मित्र
ओशो पहिलो दिन, ‘प्रेम नै प्रभुको द्वार हो’ । दोस्रो दिन, ‘प्रेम र ध्यान नै प्रभुको द्वार हो’ । तेस्रो दिन, ‘जसले दुई डुङ्गामा खुट्टा राख्यो ऊ निश्चित डुब्यो’ । चौथो दिन, ‘भक्ति सर्वोपरि छ’ । पाँचौं दिन, ‘गोरखनाथ हिन्दू धर्माकाशका उज्वलतम् नक्षत्र हुन्’ । छैठौँ दिन, ‘बुद्ध जस्तो अन्य कोही छैन’ । सातौँ दिन, ‘महावीर धर्म जगतका वैज्ञानिक हुन्’ । आठौँ दिन, ‘आजको समाजलाई भक्तिले होइन, योगले मात्र सहायता गर्छ’ । नवौँ दिन, ‘वेदान्त’ (ज्ञानमार्ग) राजपथ हो अरू बाँकी सबै गोरेटो, घोडेटो’ । दसौँ दिन, ‘शङ्कराचार्य ज्ञान र भक्तिका उत्कर्ष हुन् । विवेकानन्द र रामकृष्णको संयुक्त रूप’ ।
एघारौैँ दिन, वेदान्त गाफास्टिकहरूको गफ हो’ । बाह्रौँ दिन, ‘त्यस परमसम्म पुग्ने कुनै मार्ग हुन सक्दैन, विधि हुन सक्दैन’ । तेह्रौँ दिन, ‘मैले यी जुन ध्यानका ११२ विधि भनेको छु, यिनै परमसम्म पुग्ने विधि हुन्, यसका अतिरिक्त केही हुन सक्दैन । यीमध्ये कुनै एक रोज’ । चौधौँ दिन, ‘प्रकृतिले तिम्रो चिन्ता गर्दैन, उसलाई तिमी यहाँ छौ भन्ने पनि थाहा हुन्न । उसलाई तिम्रो हिसाब किताब गर्ने चाख छैन’ । पन्ध्रौँ दिन, ‘प्रकृतिले दलाई लामालाई बचाउनु थियो, उनी तिब्बतबाट भाग्दा चारैतिर चिनियाँ सेनाको पहरा थियो, तर प्रकृतिले दलाई लामाको दलमाथि घना बादल बनाई सुरक्षा दिइरह्यो । चिनियाँ सेनाले उनको दललाई बादलले गर्दा देख्न सकेन’ । सोह्रौँ दिन, ‘धर्ममा चमत्कारको कुनै स्थान छैन, यो आफ्नो पुरुषार्थको यात्रा हो’ । सत्रौँ दिन, ‘समर्पण र विश्वास नै प्रभु पथको ढोका खोल्ने साँचो हो’ । अठारौँ दिन, ‘सङ्कल्परहित पुरुष अध्यात्ममा सफल हुन सक्दैन’ । उन्नाइसौँ दिन, ‘गुरु सोचेर, सम्झेर, जाँचेर बनाउनुपर्छ’ । बीसौँ दिन, ‘तिमीमा गुरुलाई जाँच्ने योग्यता नै के, गुरु संसारको वस्तु होइन, जसलाई तिमी कसीमा कसेर जाँच्न सक’ ।
एकाइसौँ दिन, ‘विवेकानन्द, अरविन्दो ‘एनलाइटेन्ड’ थिएनन्’ । बाइसौं दिन, ‘सबै ‘एनलाइटेन्ड’ मास्टरको आआफ्नो अभिव्यक्ति हुन्छ’ । तेइसौँ दिन, ‘कृष्णमूर्ति जे भन्नुहुन्छ त्यो एकदम ठीक हो, ‘पाथलेस पाथ’ नै हो’ । चौबीसौँ दिन, ‘कृष्णमूर्ति सफल गुरु होइन उहाँबाट कसैलाई सहयोग हुन सक्दैन’ । ओशो बोले, बोले, खुबै बोले, बोली नै राखे जीवनभरि । झण्डै झण्डै उनको आशय, ‘आई एम हियर टु कन्फ्युज यु बेबी, पाराको देखिन्छ ।
धर्मका अन्य प्रणेताहरूले जीवनभरि आफूले बोध गरेको दीन–दुनियाँलाई सुनाए । चाहे बुद्ध हुन्, चाहे महावीर, शंकराचार्य, जिसस हुन् वा चैतन्य महाप्रभु । सबैको आफ्नो एउटा बोधगम्य अनुभूति छ, त्यसलाई शब्दमा ढालेर करुणावश जगत्कल्यार्थ भनेका हुन् वा अहंकारप्रेरित भई मैले जाने, अरूले जानेका छैनन्, अरूले यो सुनेर मलाई मानून् भन्ने अभिप्रायले भनेका हुन्, भन्नेले नै जानून् ।
ओशोको बोधगम्य अनुभूति के ? उनको दर्शन के ? उनको चेतना एवम् प्रज्ञा के ? पुनः उनको विचार के ? उनको दर्शना के ? उनको सन्देश के ? पुनः पुनश्च उनको निर्दिष्ट मार्ग के ? उनको आप्त वचन के ? उनीबाट प्रतिपादित सिद्धान्त के ?
लाखौंको सङ्ख्याका किताब पढेर जिउँदो लाइब्रेरी नै बनेका ओशोलाई कुनै एक कोटिमा राख्न सकिँदैन । सबै विचार, सबै दर्शन, सबै सिद्धान्त, सबै सन्देश उनी एकमै ‘मर्ज’ हुन्छन् । ओशो सबैथोक हुन्, त्यसैले उनी केही पनि होइनन् । उनको तर्क शक्ति र सामथ्र्य यति प्रभावशाली लाग्छ मानौँ उनी तर्क र शब्दको जादुगर नै हुन् । अनेक ठाउँमा उनले भनेका छन्, ‘उधारो ज्ञान’ले तिमीलाई कहीँ पुर्याउँदैन’ । यो स्वयम् उनकामाथि पनि लागू हुन्छ । जीवनभरि उनी उधारो ज्ञानकै खेती गर्नमा तल्लीन रहे । कहिल्यै उनलाई ज्ञान अष्टवक्र गीतामा नजर आयो त कहिल्यै शांडिल्य भक्ति सूत्रमा । कहिले श्रोता तान्न बुद्धको सहारा लिनुपर्यो र महिनौँ बुद्ध उनको मुखको क्षुधा शान्त गर्ने सामग्री बने । कुटिलता, वाचलता कति उनी आफ्नै अर्थ थोपर्छन् ‘यसको अर्थ जे आजसम्म हुँदै आएको छ, त्योसँग म सहमत छैन’ भन्दै उनी ग्रन्थमाथि बोल्दै गर्दा कहीँ कहीँ मूल ग्रन्थमा लेखिएको श्लोक÷पद÷सूत्र छाडिदिन्छन् र जवाफमा भनिदिन्छन्, ‘त्योसँग म सहमत छैन कि यो वाक्यांश यस महापुरुषले भनेको होला, यो कालान्तरमा ग्रन्थमा पसाइयो होला, यो यसै महापुरुषले भनेको हो भने यो महापुरुष दुई कौडीको हुन्छ ।’ मानौँ ओशोलाई कसैले ठेक्का दिएर पठाएको होस् दुई कौडी र अर्बाैंको भेद छुट्याउन !
प्रतिभा त भारतमै जन्मेका नटवरलालसँग पनि कम थिएन । जीवनभरि ठगी गरे एक दुई पटक समातिए । ओशोले कृष्णमूर्ति बेचे, बुद्ध, महावीर, लाओत्से, जेन, पतञ्जली, तन्त्र, यौन बेचे, नटवरलालले त एक पटक ‘रेल्वे स्टेसनत’ नै बेचिदिएका थिए । एक पटक उनले भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई पत्र लेख्दै भनेका थिए, मलाई एक वर्षको समय दिनुस् म भारतमाथि जुन जुन देशको ऋण छ, सबै चुक्ता गरिदिन्छु । ओशोले भने झैँ ‘आई एम द ग्रेट’ ।
ओशोको शक्ति उनको अध्ययन र तर्क हो र यसको जति भरमग्दुर उपयोग गर्न सकिन्थ्यो, उनले निर्वाध गरे र सफल बने । महिमामण्डन र गाली उनका तुणीरमा दुइटा अमोध अस्त्र थिए, जसको प्रयोग उनले सबैका लागि गरे । उनले आलोचना÷गाली नगरेको महापुरुष सायदै कोही बाँकी होला । उनको अधिकांश साहित्य कसै न कसैको महिमामण्डन वा आलोचना नै हो । ओशो वास्तवमै अध्यात्म जगतका ‘हिप्पी’ थिए । उनले आफ्नो ‘टार्गेट ग्रुप’ अरू गुरुहरूका जस्तै प्रौढ र बुढाबुढीलाई नबनाई युवा वर्गलाई बनाए । युवा मस्तिष्कलाई मन पर्ने विद्रोहात्मक शैली अपनाए । आफ्ना प्रवचनमा युवालाई मन पर्ने घोचपेच, हास्य व्यङ्ग्य, रस रङ्ग मिसाए । यौनिक गतिविधिलाई सहज सामान्य बनाए, ‘सम्भोगदेखि समाधि’सम्म पुग्ने ‘रोडम्याप’ नै तयार पारिदिए । युवा मनोविज्ञानलाई जे–जे कुराले आकर्षण गर्न सक्थ्यो, ती सबै पद्धति अपनाए र यहाँसम्म कि अल्डुअस हक्सले को पनि उपयोग गरे । पौराणिक साहित्यमा उपलब्ध रहेको ध्यानका विधिको सङ्कलन गर्दै ११२ विधिको व्याख्या गरे तर जोड दिए, नाचगान शैलीका विधिमा मात्र ।
जुन मानिस घोषणा गर्छ, ‘एनलाइटमेन्ट’को यात्रामा तिमी आफ्नो सङ्कल्प र प्रयासले हिँड्न त सक्छौ तर निश्चित दूरीसम्म, त्यसपछि तिम्रो प्रयासले हुँदैन, प्रभु कृपा नै चाहिन्छ, त्यही असली प्रसाद हो । हृदय चक्र मध्यमा स्थित छ, तीन चक्र यसभन्दा तल र तीनवटा योभन्दा माथि छन् । साधकले आफ्नो प्रयास र अनवरत साधनाले हृदयचक्रसम्म जागृत गर्न सक्छ तर योभन्दा माथिका विशुद्ध, आज्ञा र सहस्रसार चक्रमाथि तिम्रो प्रयत्न काम लाग्दैन । यी जागृत हुन प्रसाद नै चाहिन्छ, त्यो प्रसाद पाउन अनेकौँ जनम लाग्न सक्छ । उनलाई नै यो प्रसाद उनको पूर्वजन्ममा पाइएन र पृथ्वीको समयअनुसार सात सय वर्ष कतै पर्खेर यो जनममा आएर पनि २१ वर्षसम्म पर्खिनुपर्यो र यही मानिस फेरि अर्को घोषणा गर्छ म आफ्नो जीवनकालमै दस हजार बुद्ध जन्माउँछु । अरे यार यति त नेपालका नेताले पनि झुठो बोल्दैनन् ।
ओशो जस्तो अद्वितीय प्रतिभा प्रत्येक शताब्दीमा जन्मदैनन् । सायद यसको पनि प्रकृतिको आफ्नो कुनै ‘पिरियोडिक टेबल’ छ, ‘हेली’लगायतका ‘कमेट’हरू जस्तै । उनी नभएको भए कवीर, नानक, सहजो बाई, दया बाई, मीरा बाई, दादु, पलटु, रसखान, चरणदास, पावहारी बाबा, तुकाराम, विठ्ठल, एकनाथ, उडिया बाबा, रविदास, अष्टावक्र, मैडम ब्लावत्सकीलगायत आदि आदि समयकै गर्भमा लीन हुन्थे । उनले यी सबैलाई नवजीवन प्रदान गरे । यस अर्थमा उनको कार्य विवेकानन्द भन्दा पनि बृहद् छ ।
प्रतिभा त भारतमै जन्मेका नटवरलालसँग पनि कम थिएन । जीवनभरि ठगी गरे एक दुई पटक समातिए । ओशोले कृष्णमूर्ति बेचे, बुद्ध, महावीर, लाओत्से, जेन, पतञ्जली, तन्त्र, यौन बेचे, नटवरलालले त एक पटक ‘रेल्वे स्टेसनत’ नै बेचिदिएका थिए । एक पटक उनले भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई पत्र लेख्दै भनेका थिए, मलाई एक वर्षको समय दिनुस् म भारतमाथि जुन जुन देशको ऋण छ, सबै चुक्ता गरिदिन्छु । ओशोले भने झैँ ‘आई एम द ग्रेट’ ।
सुनेको छु, ओशो सेन्टरहरूमा अब उनको पूजा हुन थालेको छ । जय ओशोको नारा लाग्न थालेको छ । साही छाप पाराका भजन गाउन थालिएको छ । ओशोले भन्ने गर्दथे, ‘तिमीले जसको हत्या गर्नुछ, उसको पूजा, आरती, भजन थालनी गरिदेऊ ऊ मरेर अमर हुन्छ र अमर भई सदाका लागि मर्छ ।’ म जस्ताले त उनीमाथि चर्चा गरेर उनलाई जीवित राख्ने झिनो प्रयास गर्छौं तर यस्ता प्रयासले भक्तहरूको जमेको व्यवसायमा आघात पुग्छ, जुन कोही भक्त रुचाउँदैन । भक्तहरूको चित्त बुझाउन म पनि भनिदिऊँ, जय ओशो ! (रातो पाटीबाट)
प्रतिक्रिया दिनुहोस