पिसाबमा रगत देखियो भने अस्पताल गइहाल्नु पर्छ, क्यान्सर हुन सक्छ : डा. लामिछाने (भिडियो अन्तर्वार्ता)

सूर्यप्रकाश कँडेल

मंगलबार, ०७ जेठ २०७६, १२ : ४५

चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको युरोलोजी युनिट प्रमुख डा. निर्मल लामिछाने पिसाबमा रगत देखियो भने अस्पताल गइहाल्नु पर्ने बताउँछन् । उनले सफल खबर डट कमसँगको भिडियो अन्तर्वार्ता सफल संवादका क्रममा यस्तो बताएका हुन् ।

‘मिर्गौला, मूत्रथैली वा मूत्रनलीमा इन्फेक्सन भयो भने पनि पिसाबमा रगत देखा पर्छ’ डा. लामिछाने भन्छन्, ‘इन्फेक्सनमात्र नभएर क्यान्सर नै भएको पनि हुन सक्छ । त्यसैले पिसाबमा रगत देखियो भने अस्पताल गइहाल्नु पर्छ ।’ पिसाबमा रगत किन देखियो भनेर निक्र्यौल गर्न आवश्यक भएको उनले बताए । कुराकानीका क्रममा उनले प्रोस्टेट क्यान्सर, लिंगको क्यान्सर, अण्डकोषको क्यान्सर भएका बिरामीको शल्यक्रिया गरी उपचार गरिँदै आएको बताए ।

‘जसरी स्तन क्यान्सर भयो कि भनेर आफैले स्तन वरपर छामेर शंका लागेमा अस्पताल गइन्छ, त्यसरी नै अण्डकोष र लिंगको क्यान्सर भयो कि भनेर छाम्ने गर्नुपर्छ’ उनी भन्छन्, ‘मिर्गौलाको क्यान्सर भएका बिरामीको पिढ्युँमा डल्लो देखिने, पिढ्युँ दुख्ने हुन्छ ।’ खानपिन र व्यायाममा राम्रोसँग ध्यान दिन नसक्दा वा लापरबाही गर्दा क्यान्सरको खतरा बढ्ने उनको भनाइ छ । सुर्ती, चुरोट, गुट्खा र अल्कोहलको अम्मलले क्यान्सर निम्त्याउने डा. लामिछाने बताउँछन् । उमेर ४० वर्ष कटेपछि नियमित रुपमा कम्तीमा वर्षको एक पटक स्वास्थ्य जाँच गराउनु पर्ने उनी बताउँछन् ।

नवलपरासीको त्रिभुवनटारमा २०३० साल असोज १ गते जन्मिएका लामिछानेले प्रारम्भिक शिक्षा नवलपरासी र बर्दियामा लिए । बुबा विष्णु लामिछाने र आमा हरिकला लामिछानेका तीन छोरा र तीन छोरीमध्ये एक उनले २०४५ सालमा बर्दियाको शारदा माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका हुन् । अमृत साइन्स कलेज काठमाडौँबाट २०४७ सालमा आइएस्सीको पढाई पूरा गरेपछि लामिछानेले २०५५ सालमा सांघाई मेडिकल युनिभर्सिटी चीनबाट एमबीबीएस सिध्याए । त्यही वर्ष बिनुमा श्रेष्ठसँग लगनगाँठो कसेका डा. लामिछानेकी एक छोरी छिन् ।

डा. लामिछानेले २०५८ सालमा फुतान विश्वविद्यालय सांघाईबाट एमएस र काठमाडौं विश्वविद्यालयबाट एमसीएच समेत गरेका छन् । २०५८ सालदेखि उनी भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत छन् । सर्जरीतर्फ रजिष्ट्रारका रुपमा सेवा प्रवेश गरेका डा. लामिछाने हाल कन्सल्टेण्ट सर्जनका रुपमा कार्यरत छन् । उनको नेतृत्व रहेको युरोलोजी युनिट अन्तर्गत मिर्गौला, प्रोस्टेट, पिसाबथैली, पिसाबनली सम्बन्धी उपचार हुन्छ ।
प्रस्तुत छ, क्यान्सर रोग, युरोलोजीसँग सम्बन्धित क्यान्सर, यसको निदान र उपचारबारे डा. लामिछानेसँग गरिएको भिडियो कुराकानी ।

 

प्रतिक्रिया दिनुहोस