एउटा बैंकबाट अर्कोमा रकम जम्मा गर्न सकिने

शुक्रबार, २१ पुस २०७४, १५ : ०९
एउटा बैंकबाट अर्कोमा रकम जम्मा गर्न सकिने

अब कुनै पनि बैंकको खातामा अर्को बैंकबाट पनि रकम जम्मा गर्न सकिने भएको छ । अहिले एकाउन्टपेयी चेक जम्मा गरेर अर्को बैंकबाट ग्राहकहरुले यस्तो सुविधा पाउँदै आएका छन् । अब भने नगदै जम्मा गर्न सकिने भएको हो ।
‘बिहीबारको सञ्चालक समिति बैठकले यससम्बन्धि कार्यविधि पारित गरेको छ, केही समयपछि हामी यो निर्देशन जारी गर्नेछौं,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले भने । राष्ट्र बैंकले करिब एक वर्षअघि शुरु गरेको भुक्तानी प्रणाली विभागका काम, कारवाहीबारे जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा शिवाकोटीले नयाँ बैंकिङ प्रणालीबारे बताएका हुन् ।

यस्तै, राष्ट्र बैंकले १८ महिनाभित्रमा भुक्तानी संयन्त्रको द्वार (नेसनल पेमेन्ट गेटवे) लागू गरेर देश भित्रिने र यहाँबाट बाहिरिने सबैखाले भुक्तानीको अनुगमन गर्ने भएको छ ।

‘पहिलो चरणमा हामी वास्तविक समयमै भुक्तानी हुने व्यवस्था कार्यान्वयनमा ल्याउछौं, त्यसपछि नेसनल पेमेन्ट गेटवे लागू गर्नेछौं,’ शिवाकोटीले भने ।

नेपालभित्र डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङलगायत उपकरणमार्फत् देश/विदेश दुवैतिरका कारोबारहरुमा भुक्तानी द्वार तयार गर्न लागिएको हो । यस प्रणालीले सबै कारोबारको वास्तविक हिसाब र निगरानी राख्नेछ ।

यसअघि राष्ट्र बैंकले लागू गर्न लागेको वास्तविक समयमै भुक्तानी (आरटीजीएस)ले भने तत्काल भुक्तानी हुने व्यवस्थाको सुनिश्चितता गर्नेछ । हाल चेक सटही, अन्तर-बैंकमा रकमान्तर गर्दै आएको नेपाल क्लियरिङ हाउस (एनसीएचएल) पनि आरटीजीएस प्रणालीमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस