– विनोद त्रिपाठी
युद्धका बेला माओबादी सोध्ने गर्थे, ‘कस्को पत्रकार हो ? हाम्रो कि सरकारको ?’ यो प्रश्न टरेको १३ बर्ष नाघिसकेको छ । अहिले पत्रकार कुन दलको ? कुन गुटको ? कुन नेताको ? कुन ठेकेदारको ? कुन ब्यापारीको ? यसरी दर्जन कित्तामा पत्रकारहरुको कित्ताकाट भएको छ । यो आरोप यो पंक्तिकारको होइन । नागरिकहरुले दैनिक सोध्ने र सामाजिक संजालमा पोख्ने प्रश्न हो ।
चर्चित लेखक प्रकाश सायमीले फेसबुकमा पोखेका थिए, ‘अब यो नेपाललाई कुनै माइकलालले बिगार्न सक्दैन । किनकी यो भन्दा बिग्रने ठाउँ नै के बाँकी रह्यो र ?’ उनको यो भनाईले बर्तमान नागरिकसमाज कति निराश छ भन्ने झल्काउँछ । जब पत्रकार समुहहरुमा बिभाजित हुन्छन्, अनि नागरिक नै तटस्थ बनेर उभिन्छन् । सरकारका गल्तीको आलोचना र नागरिकका आवाज उठाउनु पत्रकारको मुख्य कर्तब्य हो । तर, के अहिले यो भइरहेको छ ? यो प्रश्नको उत्तर खोजौं हामी । नेपालमा अहिले कुनै न कुनै रंगमा पोतिका छन् पत्रकारहरु । यसले पत्रकारको बिश्वसनियता खस्काउँछ । खस्काएको छ । नागरिकको सामाजिक संजालको आवाज बलियो बन्दै जान्छ । अहिले हिजोको जस्तो परिस्थिति छैन । नागरिकले सानो कुरा पोख्न पत्रकारको भर पर्नु पर्देन । आफ्नै संजालमा पोख्यो । ससारभरि क्षणभरमै फैलिन्छ । यो घडीमा पत्रकार सबैभन्दा तटस्थ बन्नसक्नुपर्छ ।
जनतालाई पत्रकारको तटस्थता हेर्न मनपर्छ । आलोचना भएपनि पत्रकार कसैको पक्षमा नलागोस । सामान्य नागरिक पत्रकार स्वतन्त्र होस भन्ने चाहन्छन् । त्यसैले, पत्रकारितालाई जहिले नागरिकको पक्षमा स्वतन्त्र राख्ने चलन शुरु भएको हो । जब पत्रकार भन्दा नागरिकहरु तटस्थ देखिन्छन्, यो जस्तो लज्जास्पद पत्रकारितामा केहि हुँदैन । समाजमा नागरिक दुई प्रकारका हुन्छन् । पहिलो, समर्थक । दोस्रो, असमर्थक । जुन मुलुक कमजोर र चेतनास्तर निकै सानो छ, त्यो मुलुकमा समर्थक जनताहरु धेरै हुन्छन् । पार्टीका, बर्गका, जातका, क्षेत्रका, बर्णका र बिचारका समर्थकहरु । यसले समाज र मुलुकलाई क्षयीकरण गर्छ । खासगरि, नेपाल जस्ता गरिब मुलुकमा यस प्रकारका जनता बहुसंख्यक हुने गर्छन् । हाम्रो समाज वरपर हेर्यो भनेपनि यसको पुष्टि गर्छ । तर, जुन मुलुकमा हरेक नागरिक स्वतन्त्र हुन्छन् वा असमर्थक हुन्छन्, त्यहाँको ब्यबस्था गतिशिल हुन्छ । चेतनास्तर उन्नत हुन्छ । बिकासको तिब्रता हुन्छ । यो बिकसित मुलुकमा हुने तथ्य हो । विश्वका बिकसित मुलुकलाई हेर्दा यो सजिलै बुझ्न सकिन्छ ।
अब हाम्रो पत्रकारिता कस्तो हुने, हामी पत्रकार कस्तो बन्ने पहिलो वा दोस्रो रोजाई अहिले महत्वपुर्ण बिषय हो । यो प्रश्न होइन । सोझै भन्नसक्नुपर्छ । हामी असमर्थक पत्रकार बन्नेछौ । समाजलाई जनतालाई असमर्थक बनाउन प्रेरित गर्ने हाम्रो पत्रकारिता हुनेछ । यहाँ बुझ्न के आबस्यक छ भने निरपेक्ष कोहि पनि हुन सक्दैन । अर्थात, पक्ष बिपक्ष वा बिचारयुक्त हरेक नागरिक हुन्छन् । पत्रकार पनि हुन्छन् । तर, हाम्रो पत्रकारिता पक्षपुर्ण बिचारबिहिन हुनुपर्छ भन्ने हो । अर्थात पत्रकारिता रंगबिहिन हुनुपर्छ । आफ्नै समर्थकले पनि पक्षपुर्ण पत्रकारलाई रुचाउँदैनन् । तर, तटस्थ पत्रकारिताले सबैको मन जित्छ । अनि समाज र नागरिकमा सहि सुचना र समाचार प्रवाह हुन्छ ।
नेपालमा अहिले पत्रकारिताको रफ्तार निकै अघि बढेको छ । प्राबिधिक रुपले हाम्रो पत्रकारिता दौडिएको छ । तर, बिशिष्टताको हिसाबले हाम्रो पत्रकारिताको पाइला सरेकै छैन भन्दा गलत हुने छैन । अहिले सरकारले कानुन निर्माणका लागि संहिता बनाउन सुचनाको कार्यबिधी कार्यदल बनाएको छ । संचार मन्त्रालयले सुचनाको संहितालाई बृहत रुपमा छलफल र गृहकार्य गरेर संहिता बनाउन खोजिरहेको छ । यो सकारात्मक पक्ष हो । यसमा मुख्यगरि, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल जस्ता जिम्मेवारी संस्थाको मुख्य भुमिका रहन्छ । यसलाई शुद्धिकरण गर्न निम्न बमोजिमका काम तत्काल गर्न सकिन्छ ।
१, पछिल्ला बर्षमा पत्रकार महासंघको भन्दा सुचना बिभागको कार्ड जथाभावी बितरण गरिएको छ । महासंघले बरु छानविन गरेर मात्र सदस्यता दिन्छ । तर, सुचना बिभागले प्रमाणित नभएको कागजपत्रकै भरमा प्रतिनिधी कार्ड दिन्छ । यो कार्य तुरुन्त रोक्न आबस्यक छ ।
२, निजामति कर्मचारी, सेना, शशस्त्र, नेपाल प्रहरी, अनुशन्धान र सरकारको कुनै न कुनै जिम्मेवारीमा रहेका ब्यक्ति पत्रकार बन्न पाउँदैन । संसारमा यो घृणित कार्य सायद कहिं छैन । तर, नेपालमा यो चलिरहेको छ । कानुनी रुपमा चलेका संचार सस्था ( टिभी, रेडियो, अनलाइन, पत्रिका लगायत) ले यस्ता ब्यक्तिबाट प्रेशित समाचार संप्रेक्षित गर्न हुँदैन । सरकार सम्बन्ध सस्था बाहेकको पेशा वा काम गरेर पनि पार्टटाइम पत्रकारिता गर्न सक्छ । यो अभ्यास बिश्वको उत्कृष्ट प्रजातान्त्रिक मुलुकमा पनि चलेको छ । तर, सरकारी सेवामा कुनै न कुनै रुपमा जोडिएकाहरुले बैधानिक रुपमा पत्रकारिता गर्न हुँदैन । सरकारको नुन खाएर पत्रकारिता हुँदैन । पत्रुकारिता मात्र हुन्छ । भएको यहि छ । यसलाई तुरुन्त रोक्नुपर्छ ।
३, अमेरिका, बेलायत, जापान, डेनमार्क, फिनल्याण्ड लगायतका बिश्वका टप प्रजातान्त्रिक शासन भएका मुलुकमा पत्रकारहरुको एउटै साझा संस्था छ । अन्य संस्थालाई त्यहाँको राज्यले मान्यता दिंदैन । अब नेपालमा पनि नेपाल पत्रकार महासंघ मात्र हुनुपर्छ । यहि आकाशमुनी देशभरका सबै पत्रकार अट्नेछन् । यसले तटस्थ पत्रकारिता निर्माणमा अहंम भुमिका खेल्नेछ ।
४, पत्रकारितालाई बिश्वसनिय बनाउन यसका केहि मुल्य र मान्यतालाई समाजमा स्थापित गर्न सक्नुपर्छ । आचारसंहिता बाहेक राज्यका कानुनबाट निर्देशित सिद्धान्तलाई पालना गर्न संस्थागत प्रणालीको बिकास हुन जरुरी छ ।
अतः पत्रकार बिचारले प्रेरित हुन सक्छ । तर, पत्रकारितामा बिचार लाद्न हुँदैन । पत्रकार रंगिन हुनसक्छ । तर, पत्रकारिता रंगविहिन हुनुपर्छ । पत्रकार कुनै जात बिशेषको हुन सक्छ । तर, पत्रकारिता जातीयताविहिन हुनुपर्छ । प्रबिधीले बिश्वलाई सुचनाको खाँचो छैन । अब पत्रकारले सुचना होइन, समाचार दिन सक्नुपर्छ । समाचार दिने ब्यक्ति सुचना दिने भन्दा बिश्वसनिय हुनुपर्छ । त्यो गुण भनेको रंगविहिन पत्रकारिता हो । (लेखक सौर्य राष्ट्रिय दैनिकका सम्पादक हुन् ।)
(नेपाल पत्रकार महासंघ चितवन शाखाको स्मारिका पत्रकारिता चितवनबाट)
प्रतिक्रिया दिनुहोस