‘ट्रम्प नझुक्ने राष्ट्रपति, किमको मानसिक अवस्था शंकास्पद’

विहीबार, २० पुस २०७४, १५ : १४
‘ट्रम्प नझुक्ने राष्ट्रपति, किमको मानसिक अवस्था शंकास्पद’

 

वासिङटन । उत्तर कोरियाली नेता किम जोङ उनले परमाणु हतियारको बटन आफ्नो टेबलमा भएको भनाइपछि अमेरिकाले उनको मानसिक स्थितिबारे प्रश्‍न उठाएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसकी प्रेस सचिव सारा स्यान्डर्सले पत्रकार सम्मेलनमा भनिन्, ‘मलाई लाग्छ, अमेरिकी राष्ट्रपति र जनता उत्तर कोरियाली नेताको मानसिक स्थितिका बारेमा चिन्तित हुन जरुरी छ ।’ उत्तर कोरियाली नेता किमले लगातार धम्की दिइरहेको भन्दै उनले यस्तो शंका गर्नुपरेको जवाफ दिइन् । उनले कैयौंपटक क्षेप्यास्त्र परीक्षण गरेको पनि स्यान्डर्सले चर्चा गरिन् ।

ट्रम्पले परमाणु बटनबारे दिएको जवाफको सञ्चारकर्मीले प्रश्न गरेका थिए । कैयौं अमेरिकी राजनीतिक विश्लेषकले भने ट्रम्पको मानसिक अवस्थाबारे आशंका गरेका छन् ।

स्यान्डर्सले भनिन्, ‘ट्रम्प कहिल्यै पनि नझुक्ने राष्ट्रपति हुनुहुन्छ र कमजोर हुनुहुन्न । उहाँले जो प्रतिज्ञा गर्नुहुन्छ । त्यो पूरा गर्नुहुन्छ । अमेरिकी जनतासँग खडा भएर उहाँले जनताको रक्षा गर्नुहुन्छ ।’

ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको धम्कीको जवाफमा ट्विट गर्दै आफूसँग त्योभन्दा शक्तिशाली बटन भएको जवाफ दिएका थिए । यसअघि नेता उनले आफ्नो टेबुलमा आणविक हतियारको बटन भएको बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस