चितवनमा एघार महिनामा ४६ वटा बलात्कारका घटना

सफल खबर संवाददाता

सोमबार, १० मंसिर २०७५, १८ : ०९
चितवनमा एघार महिनामा ४६ वटा बलात्कारका घटना

चितवन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा गएको पुस १७ गते यता ४६ वटा बलात्कारका घटना भएको उल्लेख छ । 
मंसिर ५ गतेसम्मको तथ्यांक समावेश भएको प्रतिवेदनमा ३६ जना बालिका र १० जना महिलामाथि बलात्कार भएको उल्लेख छ । आठ जना बालिकामाथि यौन दुव्र्यवहार, दुई जना बालिकामाथि बलात्कार प्रयास र आठ जना महिलामाथि बलात्कार प्रयास भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा हाडनाता करणीका ६ वटा घटना भएको जनाउँदै एउटा बालविवाह र एउटा वैवाहिक बलात्कार भएको जनाइएको छ । यसै अवधिमा ६ जनाको हत्या, २ सय २३ वटा घरेलु हिंसा, एउटा बालिका बेचबिखन, तीन वटा महिला बेचबिखन, ११ वटा बहुविवाह र एउटा बालविवाह भएको इन्सेक प्रतिनिधि दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा, जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाह, नेपाल बार एसोसिएसन चितवनका अध्यक्ष कमल पाठक, यौनजन्य हिंसा विरुद्धको साझा अभियानका सहसंयोजक संगीता भट्टराई लगायतले आपराधिक गतिविधि न्यूनीकरण गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।
 

प्रतिक्रिया दिनुहोस