नवलपुरलाई नमुना बनाउने विकास योजना सार्वजनिक

सूर्यप्रकाश कँडेल

शुक्रबार, ३० कार्तिक २०७५, १८ : १७
नवलपुरलाई नमुना बनाउने विकास योजना सार्वजनिक

नवलपुर । साविक नवलपरासी जिल्लालाई दुई वटा जिल्ला बनाइएपछि बनेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) अर्थात् नवलपुर जिल्लालाई नमुना बनाउन जिल्ला विकास योजना सार्वजनिक गरिएको छ ।

नवलपुरको देवचुली गाविस २, दुम्कौलीस्थित शाश्वतधाममा शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी नमुना नवलपुर जिल्ला विकास योजना सार्वजनिक गरिएको हो । कार्यक्रमको आयोजना जिल्ला समन्वय समिति, चौधरी फाउण्डेसन र सहमतिले गरेका हुन् । विकास योजनामा नवलपुरमा रहेका चार वटा नगरपालिका र चार वटा गाउँपालिकाभित्रको विकास योजना समावेश गरिएको छ । योजनाको नारा 'खुशी, शान्त, समृद्ध र सुन्दर नवलपुर : हाम्रो परिकल्पना' रहेको छ ।

नमुना नवलपुर जिल्ला विकास योजना परिकल्पना दस्तावेज लोकार्पण समारोहका प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य प्राडा शशांक कोइराला हुनुहुन्थ्यो । उहाँले सुन्दर नवलपुर बनाउनको लागि एउटा खाका तयार भएको र यसलाई कार्यान्वयनमा लैजानु पर्ने बताउनु भयो । योजना कार्यान्वयनमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य एवं सिजी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले आफू नवलपुरकै मतदाता रहेकोले नवलपुरको विकासका लागि आममतदाताले जे सोचेका छन्, त्यो आफूले पनि सोचेको बताउनु भयो । विकासको सपना पूरा गर्न योजना निर्माणमा आफू जुटेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले एउटा मतदाता र एउटा सांसदको हैसियतले नवलपुरको विकासको लागि समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य तिलक महतले कृषि, पर्यटन र उद्योगबाट नवलपुरको विकास गर्न सकिने विचार व्यक्त गर्नुभयो । उहाँले नवलपुरलाई विकसित र समृद्ध बनाउन साझा सहमति आवश्यक रहेको  बताउनु भयो । नवलपुरको विकास योजना नवलपुरका आठ वटै स्थानीय सरकारको सम्पत्ति भइसकेको भन्दै महतले गण्डकी प्रदेश सरकारले यसको अपनत्व लिन सक्नुपर्ने बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य सत्यनारायण खनालले विकास योजनाको सफल कार्यान्वयनका लागि सरोकारवाला सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताउनु भयो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णीम वाग्लेले प्रविधिलाई उत्पादनसँग जोडेर विकास र समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्यद्वय विष्णुप्रसाद लामिछाने र कृष्णचन्द्र नेपाली, गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य भीम शर्मा, कवि गोविन्दराज विनोदी, प्राडा हरिहर आचार्य, उद्योग वाणिज्य संघ गैंडाकोटका अध्यक्ष अमृत भट्टचन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस