चितवन । सुगर रोगलाई डाइविटीज, अर्थात् चिनीरोग पनि भनिन्छ । यसलाई मधुमेह रोग पनि भनिएको छ । नेपालमा पछिल्लो समय मधुमेह अर्थात् सुगर रोगबाट संक्रमण हुने बिरामीको संख्या बढ्दो छ । नेपाल सुगरको हाइरिक्समा पर्छ ।
नेपालमा कुल जनसंख्याको ९.१ प्रतिशत मधुमेहको समस्याबाट पीडित छन् । सुगर भएका ५० प्रतिशत बिरामी उपचारमा अझै आएका छैनन् । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) को तथ्यांकअनुसार विश्वमा ४२ करोडभन्दा बढी मानिस सुगरका रोगी छन् । अबको २५ वर्षमा यो संख्या बढेर ६५ करोड कट्ने अनुमान डव्लुएचओले गरेको छ ।
आज विश्व मधुमेह दिवसको अवसर पारेर सफल खबरका पत्रकार बाबु कृषभले चितवनका डा रोहन झासँग सुगर रोग कसरी लाग्छ र यसबाट कसरी बच्नेलगायतका विषयमा कुराकानी गर्नुभएको छ ।
डा झा पुरानो मेडिकल कलेज भरतपुरको इमर्जेन्सी विभाग प्रमुख हुनुहुन्छ । वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा झा अमेरिकन डाइविटीज एशोसिएसनको मेम्बर पनि हुनुहुन्छ । डा झा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट जनरल प्राटिक्समा एमडी गर्दा सर्वोत्कृष्ट समेत हुनुभएको थियो । भारतबाट उहाँले डाडविटीज रोगको विषयमा फेलोसिप प्राप्त गर्नुभएको छ । उहाँसग गरिएको कुराकानी यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ।
सगुर के हो ? कसरी थाहा पाउने ?
सुगर अर्थात् चिनी रोगलाई मधुमेह अर्थात् डाइविटीज पनि भनिन्छ । यो दीर्घरोग हो । मापदण्डभन्दा बढी चिनीको मात्रा रगतमा देखियो भने सुगर भयो भनिन्छ । ८ घण्टा खाली भएको पेटमा रगत जाँँच गर्दा सुगरको मात्र १०० कट्यो भने सुगर भएछ भनेर बुझ्न सकिन्छ । खाना खाएको दुई घण्टा पछाडि रगत जाँच गर्दा सुगरको मात्रा १४० कट्यो भने सुगर भएको भन्ने बुझिन्छ । एचबीएवानसीको मात्रा ५.७ प्रतिशतभन्दा बढी भयो भने पनि सुगर भयो भन्ने बुझ्न सकिन्छ ।
हिजोआज प्रि–डाइविटीज पनि सुनिन्छ, यो के हो ?
प्रि–डायबिटिजबारे बुझ्नु जरुरी छ । यो मधुमेहको बोर्डरलाइन हो । मैले तपाईँलाई माथि नै सुगरको मात्रा जुन भने, त्यो प्रि–डाइविटीजको मात्रा हो । ८ घण्टा खाली भएको पेटमा रगत जाँँच गर्दा सुगरको मात्र १२५ कट्यो भने अब प्रि–डाइविटीजबाट डाइविटीजमा गयो । बोर्डर लाइन पार भयो । खाना खाएको दुई घण्टा पछाडि रगत जाँच गर्दा सुगरको मात्रा १९९ कट्यो भने पूरा डाइविटीज भयो । एचबीएवानसीको मात्रा ६.५ प्रतिशतभन्दा बढी भयो भने डाइविटीज भयो । जतिखेर पनि चेक गर्दा २०० भन्दा बढी सुगरको मात्रा देखियो भने उच्च सुगर भयो । त्यसैले डाइविटीज र प्रि–डाइविटीजमा फरक छ । सुगरको सीमा हो प्रि–डाइविटीज । प्रि–डायविटिज भएका मानिसलाई भविश्यमा डाइविटीज हुने सम्भावना उच्च हुन्छ । त्यसैले उनीहरुले अत्यधिक सतर्कता अपनाउनुपर्छ । के खाने, के नखाने, कति खाने भनेर डायटिसियनसित सल्लाह लिनु पर्छ । प्रि–डायविटीजमा सजग भए डायविटीज अर्थात् सुगरबाट बच्न सकिन्छ । प्रि–डाइविटीज भएकाहरुले भात खानै नमिल्ने होइन । तर, सन्तुलन मिलाएर कम मात्रामा खानुपर्छ । त्यसबाहेक उचाइको आधारमा शरीरको तौल धेरै छ भने घटाउनुपर्छ । व्यायम गर्नुपर्छ ।
सुगर कति प्रकारका हुन्छन् ?
सुगर सामान्यतया चार प्रकारका हुन्छन् । टाइप १ देखि टाइप ४ सम्म हुन्छ । शरीरमा इन्सुलिनको उत्पादनको कमीले हुने टाइप १ सुगर हो । यो बालबालिकालाई हुन्छ । यसको उपचार सुईबाट मात्र हुन्छ । यो शरीरमा रोग प्रतिरोधात्मक क्षमताको गठबडीले हुन्छ । सामान्यतया यो वंशाणुगत हुँदैन । भाइरल संक्रमणको विरुद्धमा बनेको एन्टीबडीले पेनक्रियाजको विटासेललाई झुक्याएर मार्छ, अनि टाइप १ अर्थात् बच्चालाई हुने सुगर लाग्छ ।
अर्काे छ, टाइप २ अर्थात् ३० वर्ष कटेपछि लाग्ने सुगर । सामान्यतय यो वंशाणुगत हुन्छ । अर्को छ गर्भावस्थामा हुने सुगर । यसलाई टाइप ३ भनिन्छ । यसलाई जेस्टेशनल डायविटीज भनिन्छ । गर्भावस्थामा इन्सुलिनले राम्रो काम नगरेको हुनाले यस्तो सुगर देखिन्छ । अर्को छ विशेष खालको डायविटीज । यसलाई टाइप ४ भनिन्छ । विभिन्न खालका औषधिको साइड इफेक्ट र पेनक्रियाजमा हुने समस्याले यो डायविटीज देखिन्छ ।
डायविटीजका लक्षणहरु केके हुन् ?
यो रोग दीर्घरोग हो । सुरुमा यसको लक्षण केही पनि हुँदैन । कति मान्छेले पूरा सुगर भएपछि बल्ल थाहा हुन्छ । कतिलाई त सुगर भए पनि कुनै लक्षण देखिदैन । त्यो बेलामा औषधि सेवन नै गर्नुपर्छ । औषधि खाएपछि यसबाट मुक्त हुन गाह्रो हुन्छ । आफ्नो वंशमा कसैलाई सुगर छ भने जाँच गराइरहनुपर्छ । प्री–डायविटीजमा नियन्त्रण गर्न सके औषधि खानुपर्दैन । शरीरमा कोलस्ट्रोलको मात्रा उच्च हुन्छ । प्रेसरका समस्याहरु देखिन्छ । मोटापना छ, तौल घट्नुको साटो बढ्दै छ भने सुगरको सम्भावना बढी हुन्छ । धेरै तिर्खा लाग्नु, छिनछिनमा पिसाब लाग्नु, मुख सुक्नु, धेरै खान मन लाग्नु यसका लक्षणहरु हुन् ।
केके कारणले लाग्न सक्छ ?
धेरै कारणले सुगर लाग्छ । आफ्नो वंशमा कसैलाई सुगर छ भने यो आफूपछिका पुस्तालाई पनि सरेर आउँछ । आरामदायी जीवनशैली छ भने पनि सुगर लाग्न सक्छ । विलासी खानपानले पनि डायविटीज हुन्छ । हामी घरको खानाभन्दा बाहिरको विलासी खानपानलाई मन पराउँछौँ । यसलो डायविटीजको जोखिम बढाउँछ । शरीर मोटो छ, एक्ससाइज छैन भने जोखिम हुन्छ । गुलियो खाएर डायविटीज हुने होइन, भएपछि गुलियोले सुगरको मात्रा झन बढाउने हो ।
डायविटीजबाट कसरी जोगिने ?
डायविटीज अर्थात् सुगर ‘टाइम बम’ हो । समय नआएसम्म यसको खासै असर हुँदैन । तर समय आएपछि यो यसरी विष्फोट हुन्छ, किड्नी, आँखा एकैचोटी हानेर मान्छेको ज्यान लिन्छ । आजकल मानिस आरामदायी जीवन जिउने गर्छन् । यसले हानी गर्छ । आरामदायी जीवनले डायविटीजलाई सघाउँछ । हामी एक किलोमिटर पनि हिँड्दैनौँ, बाइक र गाडी चढ्छौँ । तर सुगरबाट जोगिन शारीरिक व्यायम नगर्नेले दैनिक १० हजार कदम अर्थात् ७ किलोमिटर पैदल हिँड्नपर्छ । अथवा पसिना निकाल्ने गरी आधाघण्टा शारीरिक बल पुग्ने काम गर्नुपर्छ ।
सुगर गाउँमा भन्दा सहरका बढी छ । सहरका मानिसहरु शारीरिक व्यायम हुने काम कम गर्छन् । जसका कारण सहरमा सुगरले साम्राज्य बनाउँदै छ । सुगरबाट जोगिन तीन वटा कुरामा ध्यान दिनुपर्छ । एक खानपान, दुई व्यायम, तीन औषधि, उपचार जाँच । यी तीन पाग्रामध्ये एउटा फुस्कियो भने पनि सुगर लाग्छ । महिनाभरमा एउटा मान्छेले आधा लिटरभन्दा बढी तेल खान हुँदैन । खाली खुट्टा हिँडुनुहुँदैन । अनुहारको स्यारसुसार गरेजसरी खुट्टाको स्याहारसुसार गर्नुपर्छ । सुगरले चुरोट र रक्सी छुनै हुँदैन । लामो समयसम्म कुर्सीमा बसेर काम गर्ने, समयमा नखाने, जंकफुड धेरै खाने लगायतका कारणले मधुमेहको जोखिम बढेको हो ।
प्रतिक्रिया दिनुहोस