काठमाडौं । हङकङमा आजदेखि सुरु भएको टी-२०आई क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले सहज जित निकालेको छ । नेपालले कतारलाई ८ विकेटले हराएको हो ।
कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए भने कप्तान रोहित पौडेल ३७ रनमा अविजित रहे।
आसिफ शेखले ३३ रन बनाउँदा बसिर अहमद ३० रनमा अविजित रहे । कतारका मुजीब उर रेहमानले २ विकेट लिए । खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । कतारले २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनायो ।
कप्तान इक्रमुल्लाह खानले अर्धशतक बनाए । ५४ बलमा ५४ रन बनाएका उनले ५ चौका र २ छक्का प्रहार गरे । शाहजैब जमिलले ३१ तथा मुजीब उर रेहमानले अविजित २० र मुहम्मद इर्शादले अविजित १८ रन बनाएर फिनिस गरे ।
नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले एक/एक विकेट लिए ।पेस बलर नन्दन यादवले राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गरेको पहिलो खेलमै विकेट प्राप्त गरेका हुन् ।
नन्दन यसअघि एकदिवसीय टिममा परेपनि डेब्यू भने गर्न बाँकी छ । टी-२०आई टोलीमा परेको पहिलो खेलमै नन्दनले डेब्यूको मौका पाएका हुन् ।यस प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन् । नेपालले दोस्रो खेल बिहीबार कुवेतसँग खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ चैत्र २०८१, १० : ५९
लेखकबाट थप