औद्योगिक नगरीमा विराटनगर र वीरगञ्जलाई रुपन्देहीले उछिन्यो : विनोद चौधरी

सफल खबर संवाददाता

शनिबार, ०९ चैत्र २०८१, १५ : ५३
औद्योगिक नगरीमा विराटनगर र वीरगञ्जलाई रुपन्देहीले उछिन्यो : विनोद चौधरी

बुटवल। उद्योगी विनोद चौधरीले रुपन्देही देशकै प्रमुख औद्योगिक नगरी बनेकाले विकासका लागि लगानी गर्न आवश्यक रहेको बताएका छन् ।

कुनै बेला विराटनगर र वीरगञ्ज औद्योगिक नगरीको रूपमा चिनिए पनि अहिले त्यसलाई रुपन्देहीले उछिनेको उनले बताए । प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीले उद्योगी व्यवसायीहरूलाई आफ्नो प्रमुख ‘डेस्टिनेसन’ भैरहवा/लुम्बिनी क्षेत्रलाई बनाउन आग्रह गरे ।

‘रुपन्देही विकासमा धेरै माथि पुगेको रहेछ, यसमा म अनभिज्ञ जस्तै रहेछु,’ शनिबार भैरहवामा आयोजित घरजग्गा व्यवसायी संघ, रुपन्देहीको साधारणसभा तथा तेस्रो अधिवेशनमा बोल्दै सांसद चौधरीले भने, ‘कुनै बेला बुटवल-भैरहवा फरक जिल्ला जस्तै लाग्थ्यो, अहिले एउटै-एउटै शहर बनिसकेको रहेछ ।

यहाँका सिक्स लेन, फोर लेन रोडले रुपन्देहीलाई धेरै माथि पुर्‍याइसक्यो, सबै क्षेत्रबाट संकुचनमा पर्दापर्दै पनि जिल्लाले सबैलाई जित्यो ।’

चौधरीले आफूले पनि अबको लगानी रुपन्देहीमा केन्द्रित गर्ने योजना बनाएको जानकारी दिए । ‘रुपन्देही देशको आर्थिक हव बन्दै छ, त्यसको विकासमा अहिलेका अर्थमन्त्री विष्णु पौडेलको प्रमुख भूमिका छ,’ सांसद चौधरीले थपे ।

राजनीति र कूटनीतिको सिकार बन्दा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग चल्न नसकेको उनको दाबी छ । विमानस्थललाई फूल फेजमा सञ्चालनका लागि सरकारले गम्भीर रूपमा पहल थाल्नुपर्ने उद्योगी चौधरीको धारणा छ ।

नेपालमा घरजग्गा व्यवसायलाई व्यवस्थित र सम्मानित क्षेत्र बनाउन आवश्यक रहेको उनले बताए । ‘रियल स्टेटमा भारतले विश्वभर नाम कमाएको छ, बालुवा मात्र भएको देश दुबईले आफूलाई  रियल स्टेटको रूपमा विकास गर्‍यो । नेपालमा पनि घरजग्गालाई व्यवस्थित व्यवसाय बनाउन आवश्यक छ,’ उनले भने ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा एमाले नेता वासुदेव घिमिरेले लुम्बिनी सर्किटमा एकीकृत लगानी कम्पनी बनाउन आवश्यक रहेको बताए ।

शिथिल अर्थतन्त्रलाई उकास्न निजी क्षेत्रका समस्याहरूलाई राज्यले गम्भीर रूपमा लिनुपर्ने सांसद घिमिरेको भनाइ छ ।

कार्यक्रममा घरजग्गा व्यवसायी दीपक मलहोत्राले भूमिसम्बन्धी अध्यादेश रोकिनु घरजग्गा व्यवसायीका लागि दुर्भाग्य बनेको बताए ।

संघका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद घिमिरेले सरकारले निजी क्षेत्रलाई नीतिगत सहजता गराउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस