संसदीय समितिमा सांसद र सिमेन्ट उद्योगी आमनेसामने, धम्कीपूर्ण भाषाप्रति सांसदहरूको आपत्ति

सफल खबर संवाददाता

मंगलबार, ०५ चैत्र २०८१, १४ : २३
संसदीय समितिमा सांसद र सिमेन्ट उद्योगी आमनेसामने, धम्कीपूर्ण भाषाप्रति सांसदहरूको आपत्ति

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्यहरूले मंगलबार जारी बैठकमा सिमेन्ट उद्योगीले दिएको धम्की फिर्ता लिन माग गरेका छन् ।

समितिको मंगलबारको बैठकमा नेपाल सिमेन्ट उत्पादक संघका निवर्तमान ध्रुव थापाले ‘हामीलाई यहाँ पटक–पटक किन बोलाइन्छ ? हाम्रो काम उद्योग चलाउने हो, अब बोलाइयो भने हामी आउँदैनौं’ भनेका थिए ।

उद्योगी थापाले धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै समिति सदस्यहरूले आपत्ति जनाएका हुन् । संसदीय समितिमा यस्तो भाषा प्रयोग गर्न नपाइने उनीहरूको भनाइ छ ।

‘उद्योगीहरूले धम्की फिर्ता नलिने भए हामी समितिको बैठकमा बस्दैनौं,’ समिति सदस्य सूर्यमान तामाङ दोङले भने, ‘धम्की खानका लागि हामीले तपाईंलाई यहाँ बोलाएको होइन, विषय अलि गम्भीर भयो । तपाईंले विद्युत् प्राधिकरणको पैसा नतिरेको भन्ने आरोप छ। यो गुनासो छ भनेर तपाईंको कुरा सुन्न बोलाइएको हो ।’

सदस्य दोङले त्यही स्थितिमा हो भने समितिले पनि उद्योगीले यति ठग्यो भन्नुपर्ने अवस्था आउने बताए । ‘तर, हामी त्यसो भन्दैनौं । तपाईंहरूको धम्की आपत्तिजनक छ । आफ्ना कुरा लुकाउन लोडसेडिङ देखाउनु भएको छ । यो मान्य छैन,’ उनले भने ।

त्यसैगरी समिति सदस्य रमा कोइराला पौडेलले ‘यो बैठक सभापतिले बोलाउनु भएको हो कि व्यवसायीले बोलाएको हो ?’ भन्ने प्रश्न गरिन् ।

‘सिमेन्ट उत्पादकका कुरा मान्य छैन । धम्की मान्य छैन । अहिले लोडसेडिङ छ कि तपाईंले सस्तो दिँदा थियो कि अहिले धेरै छ ? बेमौसममा सिमेन्टको मूल्य बढाउँदा राष्ट्रको बजेटमै समस्या परेको छ,’ उनले भनिन्, ‘जहाँ प्रधानमन्त्रीलाई बोलाउँदा त आउनुपर्छ भने तपाईं आउँदिनँ भन्न पाउनु हुन्न । यहाँ हामीले सौहार्द्धपूर्ण तावरणमा बोलाएको हो । राज्यले निजी क्षेत्रलाई पुल्पुल्याएको रहेछ । नत्र, उहाँहरूले धम्काउन सक्नुहुन्थेन ।’

सदस्य पौडेलले सिमेन्टको भाउ बढ्नु राम्रो नभएकाले मिलान गर्नेबारे सोच्न उद्योगमन्त्रीसँग आग्रह गरिन् । ‘सिमेन्टले परेको प्रभावबारे उजुरीका चाङ छन् । अब खोल्छौं, अनि कसरी नआउनु हुँदोरहेछ हामी पनि हेर्छौं,’ उनले भनिन्, ‘कति घटाउन सकिन्छ मन्त्रीले विचार गर्नुपर्छ ।

त्यसैगरी अर्का सदस्य लक्ष्मी महतो कोइरीले सिमेन्ट उद्योगीमा अहंकार धेरै भएको प्रतिक्रिया जनाइन् । ‘सिमेन्ट उद्योगपतिजी म पनि इँटा भट्टा चलाएर आएको हो । तपाईंलाई पाठ सिक्ने मौका आयो,’ उनले भनिन्, ‘मन्त्रीको आडमा तपाईंहरू यस्तो हुनुभएको हो कि के हो ? तपाईंले पहिला आफ्नो भाषा सुधार्नुस् ।’

समितिका अर्का सदस्य अमृतादेवि अग्रहरिले भने उद्योग मन्त्रालयले दोषीको भूमिका खेलिरहेको आरोप लगाइन् । ‘मन्त्रालयले नभनी उद्योगीले त्यसै सिमेन्टको भाउ बढाउन सक्छन् ? उद्योगीले के गलत भनेको छन् भने डिजेल हालेर मेसिन चलाएर सिमेन्टको भाउ बढाउनुपर्‍यो भन्न पाइँदैन,’ उनले भनिन्, ‘आमजनतालाई ठग्न पाइँदैन, यो गलत हो । यसको जिम्मेवारी मन्त्रालयले लिनुपर्छ । तपाईंहरूलाई कारबाही गर्ने काम मन्त्रालयले गर्छ ।’

त्यस्तै सदस्य लालप्रसाद साँवा लिम्बूले ‘साउनयता सिमेन्ट कारखानामा कच्चापदार्थको मूल्य कति छ ? बैंकको ब्याज कति भयो ? डिजेल पेट्रोल के भयो ? कामदारलाई कति दिनुभयो ? सरकारले यो बीचमा कति कर बढायो ?’ भन्नेबारे सरकारले अध्ययन गर्नुपर्ने बताए । ‘नभए कसरी सिमेन्टको मूल्य बढ्यो ?,’ उनले प्रश्न गरे ।

अर्का सदस्य रेखा यादवले मूल्यवृद्धि हुँदा सरकार किन मौन बसेको भन्दै प्रश्न गरिन् । ‘यो मौनता कतै मिलोमतो त होइन ?,’ उनले भनिन्, ‘उपभोक्ता मार्न कसैले पनि पाउँदैन ।’

प्रतिक्रिया दिनुहोस