भावुक हुँदै आईजीपीले भने– पहुँच होइन, पद्धतिको विकास गर्ने छु

सफल खबर संवाददाता

मंगलबार, ०५ चैत्र २०८१, ११ : ३५
भावुक हुँदै आईजीपीले भने– पहुँच होइन, पद्धतिको विकास गर्ने छु

काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरी संगठनमा पहुँच नभई पद्धतिको विकास गर्ने बताएका छन् । मंगलबार गृह मन्त्रालयमा गृह सचिवको हातबाट दर्ज्यानी चिन्ह लगाएपछि धन्यवाद ज्ञापन गर्ने क्रममा थापाले उच्च मनोबलका साथ निष्ठापूर्वक काम गर्ने बताएका हुन् ।

 

सम्बोधनका क्रममा थापा केही समय भावुक भएका थिए । आफ्नो परिवार र संगठनका सकल दर्जालाई सम्झँदै उनले भने, ‘मलाई यहाँसम्म पुर्‍याउन सबैभन्दा पहिला मेरो मातापितालाई सम्झन्छु, मलाई हौसला दिने मेरी जीवन संगिनी र परिवारलाई सम्झन्छु, मलाइ मार्ग दर्शन गर्ने संगठनका सकल दर्जालाई सम्झन्छु ।

संविधानको मर्म अनुरूप संघीय कानुनको कार्यान्वयन, विधिको शासन र मानव अधिकारको प्रत्याभूति दिलाउन आफूले उच्च मनोबलका साथ निष्ठापूर्वक काम गर्ने उनले बताए ।

नेपाल प्रहरीको क्षमता अभिवृद्धि र स्रोत साधनको वृद्धि गर्नेतर्फ आफू लागि पर्ने उनले बताए । नेपाल प्रहरीमा सुधार आवश्यक रहेको र त्यसका लागि साइत कुर्ने बेला नभएको उनको भनाइ छ । ‘प्रहरी कर्मचारीले दुःख भोग्न नपरोस् भनेर म दृढ रहने छु, मेरो लक्ष्यबाट म किञ्चित पछि हट्ने छैन,’ उनले भने, ‘अहिले हामी भएका प्रतिस्पर्धीमध्ये जेष्ठ र अरू आधारमा म यहाँ पुगेको हुँ, मैले कार्य क्षेत्रका दौरानमा साढे २९ वर्ष काम गरें । त्यसैले पनि पहुँचको होइन थिति बसाल्न म हरहमेसा लागि पर्नेछु ।’

थापाले आफ्ना सहकर्मीबाट साथ र सहयोग पाउने अपेक्षा गरे । उनले अपराध अनुसन्धान नियन्त्रणमा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग निरन्तर समन्वय गरेर काम गर्ने बताए । आफ्नो कार्यकालमा कुनै पनि गुनासो नआउनेगरी जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

 

प्रतिक्रिया दिनुहोस