कला बुझेको मान्छेलाई केन्द्रीय चलचित्र जाँच समितिमा नियुक्त गर्न सांसद शाहको आग्रह

सफल खबर संवाददाता

आइतबार, ०३ चैत्र २०८१, १२ : १७
कला बुझेको मान्छेलाई केन्द्रीय चलचित्र जाँच समितिमा नियुक्त गर्न सांसद शाहको आग्रह

काठमाडौं । प्रतिनिधिसभा बैठकमा पनि फिल्ममा हुने ‘सेन्सरसिप’को कुरा उठेको छ । आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले कला बुझेको मान्छेलाई केन्द्रीय चलचित्र जाँच समितिमा नियुक्त गर्न आग्रह गरे ।

रिलिजको मुखमा फिल्ममा अनावश्यक काँटछाँट गर्ने प्रवृत्ति बढेकोप्रति विरोध गर्दै सांसद शाहले प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा बोलेको दृश्यलाई समेटेर फिल्म बनाउँदा ‘राजागंज’लाई सेन्सर गरिएको कार्यको भत्र्सना गरे ।

चलचित्र समाजको ऐना रहेको बताउँदै सांसद शाहले फिल्ममार्फत समाजका कुरा व्यक्त गर्दा सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको भन्दै त्यसको विरोध गरे ।

चलचित्रकर्मीले अघि बढाउन खोजेको सेन्सरसिपको आन्दोलनमा आफूले ऐक्यबद्धता जनाउने पनि उनले बताए । राजनीतिक नियुक्ति पाएका सबै सेन्सर बोर्डका ‘ननसेन्सर’ सदस्यलाई हटाएर कला बुझेको मान्छे नियुक्त गर्न उनले ध्यानाकर्षण गराए ।

शाहले संसदमा के भने ?

सम्मानीय सभामुख महोदय, राजा भन्ने शब्द सुन्ने वित्तिकै सरकारलाई डर लाग्छ कि के हो, जेमा पनि सेन्सर लगाइदिन्छ । यस्तै सेन्सर लगाउने काम गरेको चलचित्र ‘राजागंज’लाई । संविधान सभाबाट बाहिरिने दलहरूलाई ‘रुखबाट झरेका केही आँप’को संज्ञा दिएका थिए नेकपा एमाले अध्यक्षले सार्वजनिकरुपमा । उक्त भाषणको दृश्य फिल्मभित्र समेटेकोमा आपत्ति जनाउँदै सेन्सर बोर्डले उक्त दृश्य संवाद काटेर मात्र ‘राजागञ्ज’लाई प्रदर्शन अनुमति दिएको छ । चलचित्र रिलिजको मुखमा अनावश्यक काँटछाँट गर्न लाउने प्रवृत्ति अहिले सेन्सर बोर्डमा देखिएको छ, जसको शिकार पछिल्लो समय ‘लाज शरणम्’, ‘राजागंज’ लगायतका चलचित्र रहेका छन् । चलचित्र समाजको ऐना हो, त्यही समाजका कुरा चलचित्रमार्फत व्यक्त गर्दा सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम गरिरहेको छ । सेन्सर बोर्डमा राजनीतिक नियुक्ति पाएका ती सबै सदस्यहरूलाई पदमुक्त गरी चलचित्र कला बुझेका मान्छे नियुक्ति गर्न म सरकारसँग माग गर्दछु र यसरी फिल्मको सेन्सर गरि अनावश्यक कैंची चलाउँदा सरकारको आयु पनि त्यही कैंचीले काटिएला होस गर्न पनि आग्रह गर्दछु र चलचित्रकर्मीहरूको सेन्सरसिपविरुद्धको आन्दोलनमा ऐक्यबद्धता पनि जनाउन चाहन्छु ।’

 

प्रतिक्रिया दिनुहोस