ओलीलाई ‘प्रचण्ड’को चेतावनी - तपाईँ आफैँ फेल भइसक्नुभयो, शिक्षकलाई अपमानित गर्ने अधिकार छैन

सफल खबर संवाददाता

शुक्रबार, २३ फागुन २०८१, १५ : ३६
ओलीलाई ‘प्रचण्ड’को चेतावनी - तपाईँ आफैँ फेल भइसक्नुभयो, शिक्षकलाई अपमानित गर्ने अधिकार छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिक्षकहरूलाई अपमान गर्ने अधिकार नभएको बताएका छन् ।

सर्लाहीको ब्रहम्पुरीमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै उनले कार्यसम्पादन मूल्याङ्कनमा फेल भएका प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार नभएको बताए ।

उनको भनाइ जस्ताको तस्तै

देशको प्रधानमन्त्रीको कुर्सीमा बसेको व्यक्तिले गैरजिम्मेवार तरिकाले शिक्षकहरूलाई होच्याउने र अपमानित गर्ने अभिव्यक्ति दिएपछि त्यस्तो नेतृत्वबाट शिक्षा विधेयक सजिलै संशोधन भएर पारित होला भन्ने विश्वास गर्ने आधार नभएपछि मैले नै शिक्षा विधेयक सदनमा दर्ता गर्न नेतृत्व गरेको थिएँ ।

मैले बोलेकै हो, शिक्षकहरूले एसईईमा ४८ प्रतिशतमात्रै पास गरेको हुनाले शिक्षकहरूलाई अपमानित हुने गरी बोल्ने प्रधानमन्त्री आफैँ कार्यसम्पादन मूल्याङ्कनमा २८ प्रतिशत, २१ प्रतिशत, ७ प्रतिशत भएकोलाई के भन्ने ? सबैभन्दा ठूलो फेल त राज्यको नेतृत्व गर्ने प्रधानमन्त्री नै भएको होइन, त्यसको नैतिक जिम्मेवारी लिनुपर्दैन भनेर बोलेकै हो । त्यो साँचो कुरा पनि हो ।

बजेटको उचित व्यवस्था नगर्ने, अरू तलब सुविधा र सम्मान गर्नुपर्नेथ्यो त्यो नगर्ने, अनि उल्टो शिक्षकहरूलाई नै अपमानित गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन । त्यस्तो प्रधानमन्त्रीलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार छैन । त्यसको तरङ्ग तपाईँहरूले देखिराख्नुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस