तरकारी खेतीबाट वार्षिक १५ लाख आम्दानी

सफल खबर संवाददाता

विहीबार, २२ फागुन २०८१, ०७ : ५४
तरकारी खेतीबाट वार्षिक १५ लाख आम्दानी

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले २०६४ सालदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । हाल ५० रोपनी जमिनमा खेती गरिरहेका उनले वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताए ।

२२ वर्षअघि कास्कीबाट बसाइँसराइ गर्दा ढकालले अरूको मेलापात गरेर जीविकोपार्जन गर्नुपर्ने अवस्था थियो । केही वर्ष गाउँमै मेलापात गरेपछि उनी कामका लागि भारत गए । त्यहाँ १० वर्षजति बिताएपछि फेरि आफ्नै गाउँ फर्किए । त्यसपछि कहिल्यै गाउँ छोड्न मन लागेन । अनि सुरु भयो, गाउँमै तरकारीखेती । निरन्तर प्रयास गरे के हुँदैन ? त्यसैको उदाहरण बनेका छन् ढकाल । सुरुमा दुई–तीन रोपनीमा खेती गरेका उनले हाल ५० रोपनीमा खेती विस्तार गरेका छन् ।

उनले बाह्रैमास तरकारीखेती गर्छन् । टनेलमा बाह्रैमास गोलभेँडा, मौसम अनुसारका तरकारी । केराउ, काउली, फर्सी, करेला, घिरौँला, खुर्सानी र बेमौसमी तरकारीले सधैँ फल्छन् उनको बारीमा ।

पछिल्लो समय तरकारीका साथै बिरुवासमेत उत्पादन गरेर बिक्री गर्ने गरेको ढकालले बताए । करिब चार रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारी र फलफूलका बिरुवा उत्पादन गर्ने गरेको उनको भनाइ छ ।

तरकारी खेती गरिरहेको सबै जग्गा भने उनको आफ्नै होइन । वार्षिक दुई लाख तिर्ने गरी ५० रोपनी जग्गा भाडामा लिएका छन् । ढकालले उत्पादनको राम्रो खपत हुन थालेपछि थप १० रोपनी जग्गामा व्यवसाय विस्तारको योजना बनाएका छन् ।

विगतमा अर्काको बनिबुतो गरेर खाने ढकालले यसै व्यवसायबाट परिवारको लालनपालन र छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिएका छन् ।

हाल उनकी एक छोरी विदेश र छोरा शिक्षक छन् । ३० लाख खर्चेर बस्न लायक घर बनाएका छन् । आफ्नै नाममा दुई रोपनी जग्गा जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस