चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १०३ गोही राप्ती नदीमा छाडेको छ । साउनयता पटक पटक गरी ती गोही नदीमा छाडिएको हो । छाडिएकामध्ये एउटा भाले र अन्य पोथी गोही रहेका छन् ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यस वर्ष छाडिएका गोही सन् २०२० मा कोरलिएका बच्चा हुन । गत आर्थिक वर्षमा १०५ गोही नदीमा छाडिएका थिए । नदी किनारबाट गोहीका अण्डा संकलन गरेर प्रजनन केन्द्रमा राखेर कोरल्ने गरिन्छ । त्यहाँ हुर्किएका गोहीलाई नदीमा छोड्ने गरिन्छ । हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा दुई हजार ६० गोही छाडिएको छ । यद्यपि ती गोही बच्ने दररेट निकै न्यून छ । थापामगरका अनुसार गत वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा १५२ र नारायणी ११३ गोही भेटिएका थिए । हाल प्रजनन केन्द्रमा ६९७ गोही रहेका छन् ।
घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भूटान, म्यान्मालगायत देशमा समेत पाइने गरेका घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन् । चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । त्यतिखेर देशभरमा १०० भन्दा कम सङ्ख्यामा घडियाल गोही रहेको अनुमान गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०८१, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर भ्रमण वर्ष : राप्ती नदीमा छाडिए २० वटा घडियाल गोही