भोजपुर । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ‘अकबरे खुर्सानीको प्रशोधन केन्द्र’ स्थापना गरिने भएको छ । किसानले उत्पादन गरेको अकबरे खुर्सानीले राम्रो मूल्य पाउने वातावरण निर्माणका लागि भोजपुरमा प्रशोधन केन्द्र स्थानपाको पहल थालिएको हो ।
किसानले उत्पादन गरेको अकबरे (डल्ले) खुर्सानीलाई गुणस्तरीय ढङ्गले भण्डारण तथा विभिन्न परिकार बनाएर आन्तरिक तथा बाह्य बजारमा पठाउने लक्ष्यले कृषि ज्ञान केन्द्रले यहाँ प्रशोधन केन्द्र स्थापनाका लागि पहल थालेको हो । बढी उत्पादन भएको याममा किसानले राम्रो मूल्य पाउन नसकेको गुनासो बढेपछि यहाँ नै खुर्सानीको प्रशोधन तथा भण्डारण गरेर बाह्य बजारमा पठाउने लक्ष्यले प्रशोधन केन्द्र स्थापना गर्न लागिएको हो । भोजपुरमा अकबरे खुर्सानी प्रशोधन केन्द्र स्थापनाका लागि कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा कार्यक्रम माग गरेर पठाएको कृषि ज्ञान केन्द्रका प्रमुख मुकेशकुमार यादवले जानकारी दिए । मन्त्रालयबाट कार्यक्रम स्वीकृत भएर आएपछि यहाँ केन्द्र स्थापनाका काम अघि बढ्ने प्रमुख यादवले बताए ।
“पछिल्लो समय भोजपुरका किसानको मुख्य आम्दानीको स्रोतका रूपमा अकबरे खुर्सानी रहेको छ”, उनले भने, “खुर्सानीको राम्रो उत्पादन भए पनि यहाँ प्रशोधन केन्द्र नहुँदा किसानलाई समस्या छ । किसानले उत्पादन गरेको खुर्सानीको सहज बजारीकरणसँगै उत्पादित वस्तुलाई गुणस्तरीय ढङ्गले बाह्य बजार पठाउन केन्द्र स्थापनाको तयारी गरेका हौँ ।”
जिल्लामा खुर्सानीखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको प्रमुख यादवको भनाइ छ । यहाँ छ सय हेक्टर क्षेत्रमा व्यावसायिक रूपमा खुर्सानीखेती भइरहेको तथ्याङ्क रहेको प्रमुख यादवले जानकारी दिए । आगमी दिनमा क्षेत्र अझ विस्तार हुने उनको भनाइ छ ।
ज्ञान केन्द्रले बढी मात्रामा अकबरे खुर्सानीखेती हुने पौवादुङमा, टेम्केमैयुङ, अरुण गाउँपालिका, भोजपुर र षडानन्द नगरपालिकाका अगुवा खुर्सानी किसान, कृषि शाखा प्रमुख तथा सरोकारवाला पक्षसँग खुर्सानीखेतीमा देखिएका समस्या, यसको सम्भवना र बजारीकरणलगायत विषयमा छलफल गरेको छ । सरोकारवाला पक्षले किसानको राम्रो आम्दानीको स्रोतका रूपमा अकबरे खुर्सानी रहेकाले यहाँ प्रशोधन केन्द्र आवश्यक रहेको बताएका छन् ।
प्रशोधन केन्द्र स्थापनाका लागि कार्यालयले कार्यक्रम माग गरेकाले थप समन्वय तथा सहकार्य गर्नका लागि छ सदस्य समिति पनि गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०८१, ०८ : ३३
लेखकबाट थप