माथिल्लो राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा

सफल खबर संवाददाता

मंगलबार, २० फागुन २०८१, ०८ : ०४
माथिल्लो राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । 

तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युतगृह, सुरुङ, प्रसारणलाइन निर्माणलाई पूर्णता दिनुका साथै विद्युतगृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको हो । सन् २०२५ को जुलाईभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित धमाधम काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर नरोत्तम कार्कीले जानकारी दिए ।  

“हालसम्म सिभिलतर्फ ९५, हाइड्रोमेकानिकल ८० र इलेक्ट्रोमेकानिकलको ७० प्रतिशत प्रगति भएको छ”, उनले भने, “विद्युतगृहमा  ‘कन्ट्रोल रुम’ र पानी नदीमा मिसाउने ९टेलरेस० बाहेक भौतिक संरचनाको निर्माण सकिएको छ ।”

तुदीँ पावरका हाइड्रो मेकानिकल इन्जिनियर घनश्याम भट्टराईले विद्युतगृह टर्वाइन, जेनेरेटरका उपकरण जडानको काम तीव्रताका साथ भइरहेको बताए ।

रघुगंगा–७ चिमखोलामा बाँध र रघुगंगा–४ दग्नामको फेदीमा विद्युतगृह रहेको यस आयोजनाको सुरुङ चार हजार नौ सय मिटर लामो छ । 

“आउटलेटबाट विद्युतगृहसम्म ६८० मिटर लामो पेनस्टक पाइप जडानको काम करिब १००  मिटर मात्र बाँकी छ । विद्युतगृहबाट उत्पादन भएको विद्युत् प्रसारणलाइनमा जोड्ने स्विचार्ड निर्माण थालिएको छ”, उनले भने ।   

तुँदी पावरले राहुघाटमा निर्माण गरेको अर्को ३७।५ मेगावाट क्षमताको मंगले राहुघाट जलविद्युत् आयोजनाको एक महिनाभित्र परीक्षण सुरु गर्ने तयारी भइरहेको भट्टराईले जानकारी दिए । 

उनका अनुसार रघुगंगा–८ को बन्दीमा बाँध, रघुगंगा–७ को चिमखोलामा विद्युतगृह र पाँच हजार ३२८ मिटर लामो सुरुङको सबै काम सकिएको छ । 

मंगले राहुघाटको विद्युतगृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिनाउन मिल्नेगरी अपर राहुघाटको बाँध निर्माण गरिएको छ । दुईवटै आयोजनाको अनुमानित लागत १३ अर्ब रहेको तुदीँ पावरका इन्जिनियर भट्टराईले बताए ।  

अपर राहुघाट र मंगले राहुघाटबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगंगा–३ अम्बाङमा बन्न लगेको राहुघाट सबस्टेसनबाट चिमखोलासम्म दुई सय केभी क्षमताको १४ किलोमिटर दूरीको प्रसारणलाइन निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस