युवा परिषद‍्ले मनायो दशौं स्थापना दिवस

सफल खबर संवाददाता

मंगलबार, २० फागुन २०८१, ०७ : ५२

काठमाडौं। राष्ट्रिय युवा परिषदको  दशौं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। वि.स.२०७२ फागुन १९ गते परिषद गठन भएको दिनलाई स्थापना दिवसको रुपमा मनाउने गरिएको छ। 

परिषदद्वारा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले युवाको पक्षमा देखिनेगरी परिणाममुखी काम गर्न आफु क्रियाशील रहेको वताए। मन्त्री चौधरीले नेपाली युवालाई मुलुकभित्रै आशा र भरोसा जगाउनुपर्ने वताए। उनले भने-' युवाको विकास र सशक्तीकरणका लागि राष्ट्रिय युवा नीति अद्यावधिक गर्दै युवा रोजगारी, उद्यमशीलता, क्षमता विकास र नेतृत्व विकासमा जोड दिइरहेका छौ ।'

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सिमित स्रोत र साधनका वावजुद युवा सशक्तिकरण र उद्यमशीलता विकासमा परिषद लागिरहेको वताए। 

बस्नेतले तिनै तहका सरकारले आवश्यक समन्वय गर्दै  युवा लक्षित् कार्यक्रम अघि वढाउनुपर्नेमा जोड दिए। दशौं स्थापना दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्ले युवा परिषद र खेलकुद परिषदले युवालाई केन्द्रबिन्दुमा राखेर सहकार्य गर्नुपर्नेमा जोड दिए।

शुरुवाती चरणमा परिषद अघि वढाउन गरिएका प्रयासको चर्चा गर्दै परिषदका  पुर्व कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले भने-' युवाका समस्या पहिचान भएका छन्, अब समाधानमा सवै जुट्नुपर्दछ।' ढुङ्गेलले युवाका नीति र संरचना वनेपनि अपेक्षाकृत परिणाम हासिल गर्न वांकी रहेको वताए।

कार्यक्रममा परिषदका पहिलो कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेललाई अभिनन्दन समेत गरिएको थियो। सोही अवसरमा  कार्यकाल पुरा गरेका सदस्य तथा युवा सञ्जालका अध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो। दिवसका अवसरमा मन्त्री चौधरी सहितका ब्यक्तित्वहरुले सानोठिमी स्थित परिषद  हाताभित्र वृक्षरोपण समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस