हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै

सफल खबर संवाददाता

मंगलबार, २० फागुन २०८१, ०७ : ४७
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै

मकवानपुर । हेटौँडा अस्पतालले मुटु रोग सम्बन्धी सेवा विस्तारको तयारी गरेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौँडा अस्पतालमा आगामी साताबाटै सेवा विस्तारको तयारी गरेको हो ।

विगत लामो समयदेखि प्रयास गर्दा पनि अस्पतालमा उक्त सेवा सुरु गर्न कठिन भएको थियो । विषेशगरी अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा सेवा सञ्चालनमा बाध पुगेको थियो । अस्पतालमा सो सेवा सञ्चालनको उपकरण हुँदा पनि जनशक्ति नहुँदा सेवा सञ्चालनमा बाधा पुगेको थियो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष भीमसागर गुरागाईँका अनुसार सम्भव रहेसम्म आगामी आइतबारबाट सेवा सञ्चालनको तयारी गरिएको छ । यसैसाता सेवा थप गरी उपचार कार्य अघि बढाउने तयारी गरिए पनि व्यवस्थापनको काम पुरा नहुँदा समस्या भएको उनले बताए ।

टिचिङ अस्पतालमा अध्ययनरत मुटु रोग विशेषज्ञ डा. विकेश श्रेष्ठ अस्पतालमा हाजिर भए लगत्तै सेवा सञ्चालनको तयारी गरिएको उनले बताए । अस्पतालमा रहेको उपकरण र डा. पनि प्राप्त भएपछि सेवा विस्तारको तयारी गरेको उनको भनाई छ । अस्पतालमा उक्त सेवा थप भयसँगै मुटु सम्बन्धी स्वास्थ्य समस्या हुँदा भरतपुर तथा काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य भएको उनले बताए ।

अस्पतालमा मुटु रोग विशेषज्ञ प्राप्त भयसँगै उपचार र इको, ईसीजी, टीएमटी जस्ता परीक्षण गर्न बाहिर जानुपर्ने बाध्यता हटेको उनको भनाई छ । रजिष्ट्रर गुरागाईँका अनुसार हेटौँडा अस्पतालमा गत २०८० सारमा नै मुटु रोग सम्बन्धी उपचार तथा परीक्षणका लागि उपचारहरू प्राप्त भएको थियो । मुटु रोग विशेषज्ञ नहुँदा उक्त उपकरण थन्किएर रहेको थियो । विशेषज्ञ डा.को अभावमा मुटु रोगीका जाँचका लागि ल्याइएको उपकरण विगत एक वर्षदेखि थन्किएको थियो ।

मकवानपुर रोटरी क्लबले हेटौँडा उपमहानगरपालिकासंगको साझेदारीमा १ करोड रुपैयाँ मूल्य बराबरको मुटु परीक्षण उपकरण अस्पताललाई उपलब्ध गराएको थियो । सो उपकरण प्राप्त भयसँगै अस्पतालले मुटु रोग सम्बन्धी विशेषज्ञ डाक्टर नियुक्तिको पहल गरेको थियो । तर, डाक्टर नपाउँदा सेवा विस्तारको काम अघि बढ्न सकेको थिएन ।

बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नभएर उपकरण थन्काउन बाध्य भयसँगै प्रतिष्ठानले पटक पटक पहल गरेपछि सङ्घीय सरकारले टिचिङबाट अध्यापन गरेका डा. श्रेष्ठलाई पठाएको रजिष्ट्रार गुरागाईँले बताए । प्रतिष्ठान र अस्पतालले गत वैशाखमा पनि विशेषज्ञ डाक्टर नियुक्तिका लागि आवेदन माग गरेको थियो । माग अनुसार एक जना चिकित्सकको आवेदन परेपनि मापदण्ड अनुकूल नहुँदा नियुक्त गर्न कठिन भएको थियो ।

प्रतिक्रिया दिनुहोस