इलाम । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको आज अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताएका हुन् ।
उनले भने, “अब पनि औषधि छैन भन्नु गैर कानुनी हो”, उनले तोकिएका औषधि अनिवार्य राख्नुपर्ने बताएका छन् । सरकार तथा स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ । तोकिएका औषधि अनिवार्य राख्न उनले आग्रह गरे ।
उनले चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छुट अब सरकारी अस्पताललाई नभएको उनको भनाइ छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक काम अगाडि बढाएको उनको भनाइ छ ।
बिमाका केही व्यवस्थापनमा समस्या भए पनि यसलाई सुधार गर्न लागेको उनको भनाइ छ । जिल्ला अस्पतालको स्तरोन्नति गर्न स्वास्थ्य मन्त्रालयका काम अगाडि बढाउनेसमेत उनको भनाइ छ । इलाम अस्पतालका प्रमुख डा. प्रभु शाहले दरबन्दीअनुसार चिकित्सक नभएको गुनासो गरे ।
सो विषयमा स्वास्थ्यमन्त्री पौडेलले सुगममा चिकित्सक बस्न रुचाउने गरेको बताए । अब सरकारले जहाँ खटाएको छ सोही ठाउँमा जानुपर्ने अनिवार्य व्यवस्था गरिने पनि बताए । अहिले पनि तराईका अस्पतालमा दरबन्दीभन्दा दोब्बर डाक्टर रहने गरेको भन्दै उनले अब सरकारले खटाएकै ठाउँमा चिकित्सकलाई बस्ने गरी व्यवस्था मिलाउने बताए ।
अस्पताल तथा स्वास्थ्य चौकीहरूले समेत आफूले गर्न सक्ने मात्र काम गर्ने गरी मन्त्रालयमा माग गर्नुपर्ने बताए । पूर्वाधार र औजारका विषयमा समेत जिल्ला अस्पतालले माग गर्नुपर्ने उनको भनाइ छ । आवश्यकताअनुसार माग भए सम्बोधन गर्न सकिने उनको भनाइ छ । स्वास्थ्य चौकीमा एमआरआई र सिटी माग्दा हाल सम्बोधन गर्न नसकिने भन्दै उनले आवश्यकताअनुसार माग हुनुपर्ने उनको भनाइ छ ।
तीनै तहका सरकारले समन्वय गर्नुपर्ने उनको भनाइ छ । स्थानीय तह, प्रदेश र संघीय सरकारले फरक–फरक नीति बनाएर काम हुन नसक्ने भन्दै उनले एउटै नीति अवलम्बन गरिनुपर्ने उनको भनाइ छ । जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईले इलाम अस्पतालको क्षमता विकास गर्दै सय शय्याको बनाउनुपर्ने बताए । उनले भौतिक पूर्वाधार तथा औजार र चिकित्सकको सङ्ख्या बढाउनुपर्ने सुझाव राखे । सो विषयमा संघीय सरकार र प्रदेश सरकारले एकसाथ पहल गर्नुपर्ने बताए ।
aइलाम अस्पतालले स्वास्थ्यमन्त्री पौडेललाई लिखित ज्ञापन पत्र बुझाउँदै अस्पतालको भौतिक संरचनाका विषयमा जानकारीसहित थप गर्नुपर्ने विषयमा माग गरिएको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिए ।
आधारभूत अस्पतालबाट चाँडै सेवा सञ्चालन हुन्छ
पाँचथर– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्थानीय तहमा निर्माण भएका आधारभूत अस्पतालबाट चाँडै सेवा सञ्चालन हुने बताएका छन् ।
देशका ५७ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण भइसकेको जानकारी दिँदै मन्त्री पौडेलले मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन गर्न छुट्टै नीति बनाइरहेको बताए । पाँचथरको फालेलुङ गाउँपालिकामा निर्माण भएको पाँच शय्याको आधारभूत अस्पतालको शनिबार उद्घाटन गर्दै मन्त्री पौडेलले नयाँ नीतिबमोजिम आधारभूत अस्पताल सञ्चालन हुने बताए ।
सबै आधारभूत अस्पतालमा जनशक्ति र उपकरणको अभाव रहेको बताउँदै मन्त्री पौडेलले यसका लागि विशेष व्यवस्था गरेर जनशक्ति र उपकरणको प्रबन्ध सरकारले गर्ने बताए । यसका लागि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट माग गरिरहेको उनको भनाइ छ । “यहाँ जनशक्ति तीनै तहका सरकारबाट व्यवस्था गर्नुपर्छ”, मन्त्री पौडेलले भने, “संघीय सरकारले चिकित्सक पठाउँछ । बाँकी स्वास्थ्यकर्मी प्रदेश र स्थानीय सरकारले व्यवस्था गरेर अस्पताल सञ्चालन हुन्छ ।”
पूर्वाधार निर्माण भएपछि अस्पताल चल्नु अनिवार्य रहेको बताउँदै मन्त्री पौडेलले आधारभूत अस्पताललाई उपचारात्मक क्षेत्रका अतिरिक्त निरोधात्मक क्षेत्रमा पनि काम गर्ने अस्पतालका रूपमा विकास गरिने बताए । “रोग लाग्न नदिनका लागि चेतना अभिवृद्धिका काम यी अस्पतालले गर्नुपर्छ भन्ने सोच बनाइएको हो”, मन्त्री पौडेलले भने, “स्वास्थ्य चौकीहरूले प्राथमिक उपचार उपलब्ध गराउने, आधारभूत अस्पतालहरूले निरोधात्मक क्षेत्रमा काम गर्ने, जिल्ला, प्रदेश र संघीयका अस्पतालले विशिष्टीकृत सेवा उपलब्ध गराउने गरी सरकारले स्वास्थ्य संस्थाको वर्गीकरण गरेर अघि बढ्ने तयारी गरेको छ ।”
शनिबार नै मन्त्री पौडेलले फालेलुङ गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरे । नवनिर्मित भवनको उद्घाटन गर्दै उनले धेरै सरोकार जोडिएको स्थानीय तहले नागरिकका काम छिटो, छरितो र कम शुल्कमा गर्नुपर्ने बताए । सडक, विद्युत्जस्ता सेवा विस्तार भए पनि बसाइँ सर्ने क्रम रोक्न नसक्दा गाउँको चमक हराएको आफूले पाएको मन्त्री पौडेलको भनाइ छ । उनले बजारबाट सामग्री गाउँ ल्याउने तर गाउँबाट कुनै उत्पादन बजारतर्फ नजाने अवस्थाले बसाइँसराइ बढिरहेको बताए । “पाँच शय्याको अस्पताल सुरु हुँदा चिकित्सक पठाइदिनुहोस् भनेर संघको मन्त्रीलाई भन्नुपर्ने अवस्था आर्थिक पक्ष कमजोर भएकाले हो”, मन्त्री पौडेलले भने, “अब यही प्रणालीभित्र आत्मनिर्भरताको विकास गर्नुपर्छ । यसका लागि कृषिमा धेरै लगानी गर्नुपर्छ ।”
फालेलुङ गाउँपालिका वडा नं ३ नाम्लुवामा रु. ११ करोड ४३ लाखको लागतमा आधारभूत अस्पताल निर्माण भएको गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले जानकारी दिए । अस्पताल स्वास्थ्य मन्त्रालयको मापदण्डबमोजिम निर्माण भएको हो । यस्तै, रु. पाँच करोड २८ लाखको लागतमा गाउँपालिकाको चारतले प्रशासकीय भवन निर्माण भएको हो । बि.सं. २०७७ असोजमा निर्माण सुरु भई गत जेठमा निर्माण सम्पन्न भएको भवनबाट सेवा प्रवाह सुरु भइसकेको गाउँपालिका अध्यक्ष थाम्सुहाङले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ फागुन २०८१, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने स्वास्थ्यमन्त्री पौडेलको घोषणा
हिमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्यमन्त्रीको निर्णय
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
सीमित स्रोतभित्र अधिकतम लाभ लिने प्रयास गरौँ : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य राष्ट्रिय अनुकूलन योजना विकास गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश : स्वास्थ्यमन्त्री पौडेल
सरकारी अस्पतालको ड्युटी छोडेर निजीमा जाने चिकित्सकमाथि कारवाही गर्छौं : स्वास्थ्यमन्त्री पौडेल