काभ्रे । बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले स्ट्रबेरी फल टिप्न र बजार पठाउन भ्याइनभ्याइ छ । पछिल्ला दुई वर्षदेखि रु ३० लाखको हाराहारीमा आम्दानी गरिरहेका विष्ट हाल जनागाल र नुवाकोटको ककनीमा स्ट्रबेरीको रेखदेख गर्नमा व्यस्त छन् ।
करिब चार वर्षअघि ‘कोरोना महामारीकाल’मा हरेक क्षेत्रका व्यक्तिले रोजीरोटी गुमाइरहेका बेला निकालेको ‘जुक्ति’ले मुक्ति विष्ट अहिले स्ट्रबेरीको स्थापित व्यवसायी बनेका हुन् । विष्ट त्यसबेलाको जुक्तिबाट व्यावसायिक स्ट्रबेरीखेतीमा रत्तिभर विचलित नभई व्यवसायको दायरा बढाउँदै रमाइरहेका छन् । “अहिले बजारीकरणको समस्या छैन, स्थानीय तथा उपत्यकाको बजारमा रु तीन सयदेखि सात सयसम्ममा स्ट्रबेरी बिक्री भइरहेको छ”, विष्टले भने ।
जसले आफ्नै देशमा पसिना बगाइरहेका छन्, धेरैजसोले कृषि व्यवसाय रोजेको पाइन्छन् । यस्तैमध्येका एक हुन् विष्ट । उनी आफ्नै दश रोपनी जग्गामा स्ट्रबेरी रोपेर जिल्लामा मात्र नभएर देशकै नमुना कृषकको पहिचान बनाउने अभियानमा छन् । तर, ४५ वर्षीय विष्टले स्ट्रबेरी रोप्ने सीप सिकेर व्यवसाय थालेका भने होइन, अरूले रोपेको देखेर र भनेको सुनेकै भरमा थलेका हुन् । दैनिक हजारौँ युवा रोजगारीका लागि विदेश पलायन भइरहँदा स्वदेशमै पनि केही गरौँ भन्ने लाग्नेहरूलाई विष्टको स्ट्रबरीखेती उदाहरणीय बन्नसक्ने देखिएको छ ।
अहिले विष्टले यही खेतीबाट नाम र दाम पनि कमाउँदै छन् । उनले आफ्नै माटोमा बगाएको पसिनाले प्रत्येक वर्ष मुनाफा बढाइरहेको छ । त्यस्तै व्यवसायको दायरा पनि फराकिलो भइरहेको छ । यस वर्ष पनि विष्टले लगाएको खेतीबाट उत्पादन सुरु भइसकेको छ । उनले स्ट्रेबरीखेतीका लागि करिब रु ३० लाख लगानी गरेका छन् ।
गत वर्ष सबै खर्च कटाएर रु ३० लाख बचत गरेका थिए । उनी यसवर्ष यतिकै हाराहारीमा आम्दानी लिने अपेक्षामा छन् । विष्टले हाल स्ट्रेबरी मात्र लगाएका छैनन्, मौसमअनुसारका अन्य तरकारी तथा कुखुरापालनसमेत पनि गरिरहेका छन् ।
हाल उनको व्यवसायमा दैनिक पाँच जनाले रोजगारी पनि पाएका छन् । व्यवसायका लागि विभिन्न सहकारी र बैंकबाट केही ऋण लिएको उनले बताए । “व्यवसायका लागि सरकारले दिने सहुलियत ऋणका लागि प्रयास गरिरहेको छु, तर पाएको छैन”, उनले गुनासो गरे ।
विष्ट आफ्नो व्यवसायलाई अब कसरी नयाँ रूप दिने भन्नेबारे सोच्दै छन् । उनले भने, “अब केही समयमै स्ट्रेबरीखेतीबाट वाइन र जुस कम्पनी खोलेर यसलाई उद्योगका रूपमा विकसित गर्ने लक्ष्य छ, यसका लागि विज्ञहरूसँग सल्लाह गरिरहेको छु ।” साथै, विष्टले गत वर्षदेखि नै स्ट्रबेरीका अतिरिक्त बिरूवासमेत उत्पादन गरेर बेच्ने गरिरहेको सुनाए । उनको अनुभवमा स्ट्रेबरी आफैँमा एक स्वादिलो र पोषिलो फल भएको र यसले मानव स्वास्थ्यमा धेरै नै फाइदा दिने भएकाले बजारमा माग र मूल्य उच्च भएको हो ।
विष्टले यस वर्ष ५० हजार केजी उत्पादन गर्ने लक्ष्य लिएका छन्, जसबाट गत वर्षभन्दा बढी आम्दानी हुनेछ । उनले स्ट्रबेरीखेतीका लागि बनेपामा र ककनीमा गरी एक लाख बिरुवा रोपेका छन् । उनले चितवन, नवलपरासी र बारामा स्ट्रबेरीखेतीका लागि अध्ययन भइरहेको बताए ।
दुई महिनामा हुर्केको स्ट्रबरीले उत्पादन दिन थाल्छ । उनले स्ट्रबेरीखेती थालेको थाहा पाउने बनेपा तथा आसपासका खेतमै गएर खेती हेर्ने र किनेर लैजाने गर्छन् ।
विष्टले उत्पादन गरेको स्ट्रबेरी जिल्लाको मुख्य बजार बनेपालगायत धुलिखेल, पाँचखाल र पनौती तथा काठमाडौँ, पोखरा तथा चितवनसम्म जाने गरेको छ । विष्ट भन्छन्, “देशका प्रमुख सहरमा मेरा उत्पादन पुर्याउने लक्ष्य लिएको छु, स्ट्रबेरी बिरुवा छिमेकी जिल्ला भक्तपुर, सिन्धुपाल्चोक र सिन्धुलीबाट माग हुन थालेको छ, त्यसमा पनि विशेष ध्यान दिइरहेको छु ।” प्रतिबिरूवा रु २५ देखि रु ३० सम्ममा बिक्री हुने गरेको विष्टले बताए ।
विष्टले अमर भू–मण्डलीय बहुउद्देश्यीय कृषि फार्म दर्ता गरी नयाँ नयाँ काम सुरु गरिएकाले लगानीमा पनि वृद्धि हुँदै गएको बताए । उत्पादनका लागि रासायनिक मलको अभावले कठिनाइ व्यहोर्नुपरेको विष्टले सुनाए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १७ फागुन २०८१, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती