वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाबीच भेटवार्ता भएको छ । शनिबार कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीपीएसी)को क्रममा दुईबिच भेट भएको हो ।
यस भेटघाटमा राष्ट्रपति ट्रम्पले पोल्यान्ड र अमेरिकाबिचको घनिष्ठ सम्बन्धलाई पुनः उद्धृत गर्दै देशको रक्षा बजेट बढाउने राष्ट्रपति डुडाको निर्णयको प्रशंसा गरेका थिए ।
‘सीपीएसीको क्रममा राष्ट्रपति ट्रम्पले पोलिस राष्ट्रपति आन्द्रेज डुडासँग भेट गरे र दुई देशबिचको बलियो सम्बन्धलाई दोहोर्याए,’ माइक्रो ब्लगिङ वेबसाइट एक्समा ह्वाइट हाउसले भनेको छ ।
यसअघि शुक्रबार डुडाले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेका थिए । युक्रेनमा शान्ति ल्याउन अमेरिकाको भूमिका धेरै महत्त्वपूर्ण भएकोले उनले अमेरिकासँग सहकार्य कायम राख्नु पर्ने डुडाले बताएका थिए । अमेरिकालेसहयोग नगरेसम्म युद्ध रोक्ने र युक्रेनमा दिगो शान्ति ल्याउने अर्को कुनै उपाय नभएको पनि उनले भनेका थिए ।
शनिबार नै ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न अपिल गरेका थिए । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई युद्ध रोक्न वार्ता गर्न सल्लाह दिए । ‘युद्ध अन्त्य गर्न पुटिन र जेलेन्स्कीले मिलेर काम गर्नुपर्छ ।
हामीले युद्ध रोक्नु पर्छ र लाखौँको जीवन बचाउनु पर्छ । म युद्धविराम चाहन्छु र यो मामिलाको समाधान चाहन्छु । यो युद्धले अमेरिकालाई प्रत्यक्ष असर गर्दैन, तर यो युरोपको लागि ठुलो समस्या हो ।’ ट्रम्पले भनेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ फागुन २०८१, १५ : ४५
लेखकबाट थप