खेलकुदमन्त्रीले स्काउटका प्रमुख आयुक्तबाट रन्जितलाई गरे बर्खास्त, घिमिरेलाई नियुक्ति

सफल खबर संवाददाता

बुधबार, ०७ फागुन २०८१, १६ : ११
खेलकुदमन्त्रीले स्काउटका प्रमुख आयुक्तबाट रन्जितलाई गरे बर्खास्त, घिमिरेलाई नियुक्ति

काठमाडौं । युवा तथा खेलकुदमन्त्री एवम् प्रमुख स्काउट तेजुलाल चौधरीले स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जितलाई पदबाट हटाएका छन् । रन्जितकाे स्थानमा देवराज घिमिरेलाई प्रमुख आयुक्त बनाइएकाे छ ।

रन्जितसँग मतभेद बढेपछि मन्त्री चाैधरीले विभिन्न आराेप लगाउँदै उनलाई  प्रमुख आयुक्तबाट हटाएकाे  स्काउट स्राेतले बतायाे। मन्त्री चौधरीले गत माघ २८ गते प्रमुख आयुक्त रन्जितलाई  पत्र लेखेर १० बुँदे स्पष्टीकरण सोधेका थिए ।

रन्जित प्रमुख स्काउटबाट मनोनयन भई नेपाल स्काउटको प्रमुख आयुक्त बनेका थिए । उनलाई नेपाल स्काउट ऐन २०५० (संसोधन सहित), नेपाल स्काउट नियमावली २०७७ (संसोधन सहित), नेपाल स्काउट कर्मचारी सेवा नियमावली २०५२ (संसोधन सहित) र प्रचलित कानुनको समेत उल्लंघन गर्दै  विभिन्न निर्णय गरेकाे सम्बन्धमा स्पष्टीकरण मागिएकाे थियाे ।

तीन दिनभित्र युवा तथा खेलकुद मन्त्री एवं प्रमुख स्काउटसमक्ष भौतिक रुपमा उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न मन्त्रीले निर्देशन दिएका थिए ।रन्जितले स्पष्टीकरणकाे जवाफ दिए पनि त्याे चित्तबुझ्दाे नभएकाे भन्दै बर्खास्त गरिएकाे स्राेतले बतायाे ।

यसका साथै मन्त्री चौधरीले राष्ट्रिय कार्यकारी समिति पुनर्गठन गरेका छन् । कार्यकारी समितिबाट  ७ जनालाई हटाएर नयाँ नियुक्ति गरेका हुन् । स्राेतका अनुसार इन्दु सुबेदी, कमल बहादुर देउजा, भुवन सुब्बा, सन्तोष कुमार थापा, स्मृति बराल, जहरसिंह थापा र सुस्मिता श्रेष्ठ आयुक्त एवं सदस्यमा नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस