पर्वत । लामो समयदेखि आँखाको रोग बल्झाएर बसेका १५४ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ । आँखाको उपचारका लागि पोखरा, काठमाडौँ जान नसक्ने बिरामीको समस्यालाई मध्यनजर गर्दै प्रदेश अस्पताल पर्वतमा सञ्चालन गरिएको तीनदिने शिविरमा मोतीयाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको हो । गत माघ २९ देखि यही फागुन १ गतेसम्म गरी तीन दिनसम्म शिविर सञ्चालन गरिएको थियो ।
पर्वत सक्रिय लायन्सक्लबको आयोजना तथा रेज होप युकेको आर्थिक सहयोगमा तीनदिने शिविर सञ्चालन गरिएको हो । शिविर सञ्चालनका लागि हिमालय आँखा अस्पताल पोखरा, नेपाल नेत्र ज्योति संघ लगायतको प्राविधिक सहयोगसमेत रहेको थियो ।
यसअघि जिल्लाका आठ स्थानमा सञ्चालन गरिएको आँखा जाँच शिविरबाट पाँच हजारभन्दा बढीको आँखा परीक्षण गरिएको थियो । उनीहरूमध्येबाट १५४ जनाको मोतीयाबिन्दुको शल्यक्रिया गर्नुपर्ने पहिचान गरिएको थियो । पहिचान भएका सबैलाई सदरमुकाम कुश्मामा रहेको प्रदेश अस्पतालमा बोलाएर निःशुल्क शल्यक्रिया गरिएको लायन्स क्लबका पूर्वडिस्ट्रिक्ट चिफ एडमिनिस्टर वसन्तकुमार कर्माचार्यले जानकारी दिए ।
दुई वर्षदेखि बिसौँ वर्षसम्म आँखासम्बन्धी समस्या बल्झाएर बसेका ८६ वर्षको उमेरसम्मका वृद्धको शल्यक्रिया गरिएको उनले बताए । लामो समयदेखि आँखा नदेख्ने समस्या बोकेका वृद्ध वृद्धाले नयाँ संसार देख्न पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।
मोतीयाबिन्दुका बिरामीको शल्यक्रियाका लागि कतिपय वडाले निःशुल्क सवारी साधनको व्यवस्था गरेको थियो । जिल्लाका सातवटै स्थानीय तहमा यसअघि स्क्रिनिङ शिविर सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ फागुन २०८१, १४ : १६
लेखकबाट थप