आज रानी महल पुग्दै प्रेमिल जोडी

रासस

शुक्रबार, ०२ फागुन २०८१, १२ : ३२
आज रानी महल पुग्दै प्रेमिल जोडी

पाल्पा । आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर एक अर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ । विशेषगरी आजको दिन पाल्पाको ऐतिहासिक तथा पर्यटकीय स्थल रानी महलमा प्रेमिल जोडीहरूको भिडभाड लाग्ने गर्दछ । कालीगण्डकी नदी किनारमा रहेको रानी महललाई प्रेमको प्रतीकका रूपमा अर्थ्याइने गरेका कारण पनि त्यहाँ प्रेमिल जोडीहरू पुग्ने गरेको पाइन्छ ।

तत्कालीन जनरल खड्ग शमशेरले आफ्नी रानी ‘तेजकुमारी’ को सम्झनामा यहाँ महल बनाएका थिए । यहाँ हरेक वर्ष प्रेम दिवसका दिन युगल जोडी पुगेर एकापसमा प्रेम साटासाट गर्दछन् । 

स्थानीय बासिन्दाका अनुसार प्रेम दिवसका अवसरमा यहाँ  हजारौँको सङ्ख्यामा युवायुवती आउँछन् । पहिला-पहिला मानिस रानी महल घुमफिरका लागि आउने गरे पनि अहिले युवापुस्ताको बाक्लो उपस्थिति रहने गरेको स्थानीय दीपक पाण्डेले बताए । यहाँ पाल्पा, रूपन्देही, स्याङ्जा, नवलपरासी, कपिलवस्तु, गुल्मी क्षेत्रबाट मानिसहरू आउने गरेको पाण्डेको भनाइ छ । 

कालीगण्डकीको किनारमा बनाइएको रानी महल जिल्ला सदरमुकाम तानसेनदेखि १३ किलोमिटर उत्तरमा छ । विसं १९५० मा शिलान्यास गरी १९५४ सालमा निर्माण गरिएको हो । 

 

प्रतिक्रिया दिनुहोस